चिसोबाट बच्न आवश्यक सतर्कता जरुरी

राजधानी सहर काठमाडौंसहित नेपालभर चिसो बढ्न थालेपछि चिसोबाट बच्न जनसाधारणले सतर्कता अपनाउनु जरुरी हुन गएको छ । हिउँदका मंसिर, पुस र माघ महिना यसै पनि नेपालीका लागि निकै चिसा महिना हुन् । यी महिनामा हिमाली क्षेत्रमा हिउँ पर्ने र पहाडी क्षेत्रमा हिउँको प्रभाव पर्ने भएका हुनाले निकै डन्डी हुन्छ । यहीबेलामा तराई क्षेत्रमा शीतलहर आउँछ । सबैका लागि कष्टकर हुने यी चिसा महिना पछिल्लो समयमा जलवायुमा आएको परिवर्तनका कारण चिसो कहिलदेखि र कुन बेलासम्म रहन्छ भन्न सकिने अवस्था पनि छैन । मनसुन सकिएका बेलामा आएको बेमौसमी वर्षाका कारण देशमा धानबालीको ठूलो क्षति भएपछि नेपालमा जलवायु परिवर्तनको प्रत्यक्ष असर परिरहेको सर्वत्र अनुभूत हुन थालेको छ । चिसोले सबैलाई सताउने भए पनि यो बेलामा बालबालिका, वृद्धवृद्धा र सुत्केरी तथा दीर्घरोगीहरूलाई निकै सताउने गर्छ । उच्च रक्तचाप, मुटु तथा फोक्सोका रोगी, कोलस्टोरेल, मोटोपन भएका र श्वासप्रश्वासका समस्या भएका मानिसका लागि त यो मौसम निकै हानिकारक हुन्छ । चिसोले रगत बाक्लो बनाउँछ । शरीर जाडोमा धेरै खुम्चने भएकाले रक्तनली साँघुरो बनाउने र रक्त प्रवाहमा समस्या ल्याउने गर्छ ।

चिसोका कारण रक्तप्रवाहमा हुने समस्याले मुटुको रोग बढी निम्त्याउँछ । चिसोका बेलामा हाम्रो पेटको आमाशयले पनि त्यति राम्ररी काम गर्न सक्दैन । खाएको खाना अपच हुने, ग्यास्टिकको समस्या देखिने, बान्ता हुने, पातलो दिसा लाग्ने, टाउको रिंगाउने, नाकमा पातलो सिंगान बग्ने आदि हुन जान्छ । यही समयमा भाइरलका विभिन्न प्रजातिले पनि आक्रमण गर्ने र थला पार्ने गरिरहेका हुन्छन् । चिसोले मस्तिस्कमा पनि केही न केही असर परिरहेको हुन्छ । अरूबेला सामान्य रूपमा हुन सक्ने हृदयघात योबेलामा मस्तिस्क घातमा समेत परिणत हुन सक्ने समस्या टड्कारो भएर आउँछ । शरीर चिलाउने र छालामा देखिने दादुरा र ठेउलाजन्य रोग पनि यसैबेलामा देखापर्छ । शरीरको सरसफाइ यो बेलामा बढी गर्नुपर्नेहुन्छ तर पानीको प्रयोगले शरीर चिसो हुन गई फेरि भाइरलजन्य रोगले आक्रमण गर्ने पनि उत्तिकै सम्भावना रहन्छ । जाडोसँगै इन्फ्लुएन्जा, निमोनियाजस्ता रोग पनि निकै देखा पर्छन् । साना बालबालिकामा निमोनिया देखापर्दा वयस्क र वृद्धवृद्धामा ब्रोङकाइटिस तथा दम देखापर्ने गर्छ । हेर्दा यस्तो लाग्छ हिउँदमा चिसा दिन रोगका संयोजन हुने समय हो । तर पनि यस्ता रोगबाट बच्न हामीहरूले निकै सतर्कता अपनाउनुपर्ने हुन्छ ।

चिसोले निम्त्याउने एलर्जी, दम, पिनास र बाथ पनि यही समयमा बढी देखिने गर्छ । त्यसमाथि अहिले त कोरोना महामारीको समय छ । यसका विभिन्न उत्परिवर्तनले निम्त्याएका थरिथरीका भेरियन्टले विश्वमा मानिसलाई सताइरहेका छन् । पछिल्लोपटक उत्परिवर्तित कोरोना महामारीको ओमिक्रोन भेरियन्टले विश्वलाई गाँज्दै लगिरहेको छ । हालसम्मको अनुसन्धानले यस कोरोना महामारी र यसका विविध उत्परिवर्तित भेरियन्टले जाडोको समयमा बढी हमला गरिरहेको देखाएको छ । नेपाल पनि यो पछिल्लो भेरियन्टबाट अछुतो रहन सकेको छैन । बढी आक्रामक र संक्रामक रहेको यो महामारीको सम्भावित संक्रमणबाट बच्नका लागि पनि चिसोको आक्रमणबाट बच्न जरुरी छ । त्यसैले बढिरहेको चिसोबाट बच्नका समयमै आवश्यक सतर्कता अपनाऔं ।

तपाइको प्रतिक्रिया
(Visited 507 times, 1 visits today)

epaper

ताजा समाचार

दुर्गम संखुवासभाको सिलीचोङलाई एम्बुलेन्स हस्तान्तरण