संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रको सम्मेलन
काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारले दिगो विकास र विधिको शासनलाई खतरामा पारिरहेको औँल्याउँदै भ्रष्टाचार सबै देशको शत्रु रहेको तर विकासोन्मुख देशका लागि यो अझ बढी घातक भएको बताएका छन् ।
इजिप्टको शाम एल सेइख शहरमा गत मंसिर २७ गतेदेखि पुष २ गते सम्म सम्पन्न भएको भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको नवौँ सम्मेलनमा नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गरेका राईले कार्यक्रमलाई सम्वोधन गर्दै भ्रष्टाचारले समाजको स्थायित्व र सुरक्षामा निम्त्याउने चुनौती र खतराप्रति नेपाल चिन्तित रहेको स्पष्ट पारे । प्रमुुख आयुक्त राईले भ्रष्टाचारले असमानता र अन्यायलाई स्थान दिई विकासोन्मुख राष्ट्रले प्राप्त गर्ने वैदेशिक सहायता र लगानीलाई निरुत्साहित गर्दै गरिबी न्यूनीकरण र विकासमा समेत ठूलो असर पु-याएको विचार व्यक्त गरे ।
कार्यक्रममा बोल्दै प्रमुख आयुक्त राईले भ्रष्टाचार अब स्थानीय समस्या मात्र नभई एक अन्तर्राष्ट्रिय समस्या रहेको र यसले समाज र अर्थतन्त्रमा प्रतिकूल असर पारेको हुँदा यसको रोकथाम एवं नियन्त्रणका लागि अन्तर्राष्ट्रिय प्रतिवद्धता, समन्वय र सहयोग आवश्यकता रहेको औल्याए ।
भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि कानुनी रूपमा बाध्यकारी भ्रष्टाचार विरोधी औजार रहेको स्पष्ट पार्दै उनले यो विकासका लागि एक अद्वितीय उपकरण रहेको समेत उल्लेख गरे । राइले यसै तथ्यलाई मनन गरी नेपालले २३ फेब्रुअरी २०११ मा महासन्धिलाई अनुमोदन गरेको तथा महासन्धिको पक्ष राष्ट्र भएपश्चात नेपालमा भ्रष्टाचार नियन्त्रणको विषयलाई संवैधानिक, संसदीय, न्यायिक, संस्थागत र प्रशासनिक प्रणालीबाट सम्बोधनको प्रयास भइरहेको स्पष्ट पारे ।
प्रमुख आयुक्त राईले नेपालको संविधानले सुशासनको रक्षा गर्ने राजनीतिक र शासन प्रणालीसम्बन्धी नीतिहरू अवलम्बन गर्न र सार्वजनिक सेवा तथा सुविधामा जनताको समान, सहज पहुँच सुनिश्चित गर्न राज्यलाई निर्देशन दिएको बताए । उनले राजनीतिक, प्रशासनिक, न्यायिक र सामाजिक लगायत सबै क्षेत्रमा हुने भ्रष्टाचार र अनियमितता नियन्त्रणका लागि प्रभावकारी उपाय अवलम्बन गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको समेत स्पष्ट पारे ।
नेपालले सन् २०१२ मा अनक्याकको को कार्यान्वयनका लागि राष्ट्रिय रणनीति र कार्ययोजना अपनाएको बताउँदै राइले संवैधानिक निर्देशनहरू र अनक्याक कार्यान्वयन रणनीति एवं कार्य योजनाको आधारमा महासन्धिसँग सामञ्जस्य कायम हुने गरी करिब दुई दर्जनभन्दा बढी ऐन कानुनहरू निर्माण तथा परिमार्जन गरिएको स्पष्ट पारे । राइले निजी क्षेत्रमा हुने स्वार्थको द्वन्द्व तथा भ्रष्टाचारजन्य गतिविधिलाई नियन्त्रण गर्ने सम्बन्धी दुई महत्वपूर्ण विधेयकहरू नेपालको संघीय संसदमा विचाराधीन रहेको बताउँदै नेपालले सम्पत्ति शुद्धीकरणविरुद्धको अनुसन्धान रणनीति तथा कार्ययोजना (२०१९–२०२४) कार्यान्वयन गर्दै आएको विषय समेत कार्यक्रममा जानकारी गराए ।
इजिष्टमा सम्पन्न भएको भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको नवौँ सम्मेलनमा नेपालको प्रतिनिधिमण्डलमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव तोयम राया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव धनराज ज्ञवाली तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव कोशल चन्द्र सुवेदी समेतको सहभागिता रहेको थियो ।