सर्वसम्मत नेतृत्व चयन गर्ने नाममा निर्वाचन कार्यतालिका फेरबदल

माओवादीको आठौं राष्ट्रिय महाधिवेशन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आठौं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने नाममा निर्वाचन कार्यतालिका फेरबदल गर्दै निर्वाचन रोक्ने प्रयास भएको छ ।

केन्द्रीय निर्वाचन आयोगले शनिबार निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै आइतबार मतदान हुने कार्यक्रम सार्वजनिक गरेको थियो । तर, उम्मेदवारी दर्ता गर्ने समयमा फेरि अर्को कार्यतालिका सार्वजनिक गर्दै आयोगले आइतबारबाट उम्मेदवारी दर्ता हुने जनाएको छ ।

निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठका अनुसार आइतबार दिउँसो २ बजेदेखि साढे २ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ । मतदान कार्यक्रम साँझ ६ः२५ देखि राति १०ः२५ सम्मको तोकिएको छ ।

यसअघि शनिबार साँझ ५ बजेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास विफल भएपछि शनिबार उम्मेदवारी दर्ता र आइतबार मतदान गर्ने कार्यक्रम सार्वजनिक भएको थियो । माओवादी केन्द्रका एक नेताका अनुसार सर्वसम्मतिका नाममा निर्वाचन कार्यतालिका फेरबदल गर्दै महाधिवेशन अकारण लम्ब्याउने काम मात्र भएको छ ।

केन्द्रीय सदस्य सर्वसम्मत रूपमा चयन गर्ने प्रयास विफल भएपछि निर्वाचनमार्फत चयन गर्न कार्यक्रम सार्वजनिक भएकोमा त्यसलाई फेरि फेरबदल गर्नु राम्रो नभएको ती नेताले बताए । केन्द्रीय समितिमा आउन खोज्ने नेताहरूको संख्या बढी भएकाले सर्वसम्मत हुन नसकेको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघि सर्वसम्मत नेतृत्व चयन गर्ने बताएका थिए । सर्वसम्मत नभएको अवस्थामा निर्वाचनमार्फत नेतृत्व चयन गर्ने उनले बताए पनि लम्ब्याउने काम गरेको आरोप प्रतिनिधिको छ ।

निर्वाचन आयोगका अध्यक्ष श्रेष्ठले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार शनिबार उम्मेदवारी दर्ता भएर आइतबार निर्वाचन सम्पन्न गर्नुपर्ने कार्यक्रम थियो । उम्मेदवारको अन्तिम नामावली राति ११ः१५ मा प्रकाशित गरेर आइतबार बिहान ११ः३० बजेबाट मतदान सुरु भई ४ बजेसम्म गर्ने कार्यतालिका रहेको थियो ।

निर्वाचन समितिले १ हजार ७ सय ४२ जना मतदाताको नामावली प्रकाशन गरिसकेको छ । साथै उम्मेदवारी दर्ता, फिर्ता, दाबी विरोधलगायतका कार्यतालिका निर्वाचन समितिले फेरबदल गरेको छ । माओवादी केन्द्रको पारित विधानअनुसार महाधिवेशनबाट २ सय ९९ सदस्यीय केन्द्रीय समितिको निर्वाचन हुनेछ । निर्वाचित केन्द्रीय समितिले पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो चयन गर्ने माओवादी केन्द्रका नेता मुकेश साहले बताए ।

पारित विधानअनुसार महाधिवेशनले ५० प्रतिशत खुला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीबाट नेतृत्वको चयन हुनेछ । यसअघि केन्द्रीय समितिले १० प्रतिशत मनोनीत गर्ने भनिएकोमा बढाएर १५ प्रतिशत पु¥याइएको छ ।

महाधिवेशनबाट केन्द्रीय समितिको मात्रै निर्वाचन हुन्छ । निर्वाचित केन्द्रीय समितिले पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्नेछ । पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुने नेता देव गुरुङले बताए ।

२ सय ९९ सदस्यीय केन्द्रीय समिति महाधिवेशनले निर्वाचित गरेपछि केन्द्रीय समितिबाट ९९ सदस्यीय पोलिटब्युरो र ३३ सदस्यीय स्थायी समितिको गठन हुनेछ । यस्तै, पदाधिकारी १५ सदस्यीय हुनेछ । पदाधिकारी केन्द्रीय समितिबाट चयन हुनेछ ।

अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव, तीन सचिव र १ कोषाध्यक्षसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति हुने गठन हुन्छ ।

५० प्रतिशतको पूर्ण समानुपातिकमा दलित, मुस्लिम, थारू, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपांगता, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर बनाइएको छ । केन्द्रीय कमिटीमा सबै क्लस्टर र खुलाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्षमुनिका युवाको प्रतिनिधित्व हुनेछ ।

यसअघि माओवादी केन्द्रको आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेका राजनीतिक प्रतिवेदन र नेता गुरुङले पेस गरेका विधान मस्यौदा प्रस्ताव परिमार्जनसहित पारित भइसकेको छ ।

सो दस्तावेजमा विभिन्न २५ समूह बनाएर छलफल भएको थियो । समूहगत छलफलपश्चात् आएका सुझाव समेटिएर परिमार्जनसहित पारित भएको हो ।

कुन क्लस्टरबाट कति ?

निर्वाचन आयोगका अध्यक्ष श्रेष्ठले शनिबार साँझ सार्वजनिक गरेको निर्वाचनसम्बन्धी सूचनामा खुला र समानुपातिकतर्फबाट निर्वाचित हुने सदस्यको संख्या सार्वजनिक गरेका गरेका छन् ।

जसमा खुलातर्फ १ सय ४५ जना निर्वाचित हुनेछन् । समानुपातिकतर्फ ४५ खस आर्य निर्वाचित हुनेछन् । यसमा पुरुष १२, युवा पुरुष तीन, महिला २४ र महिला युवा ६ जना रहनेछन् । त्यस्तै, समानुपतिककै दलिततर्फ २२ जना निर्वाचित हुनेमा पुरुष ६, युवा पुरुष १ महिला १२ र महिला युवा तीन जना निर्वाचित हुनेछन् ।

त्यसैगरी, मुस्लिमतर्फ सात जना, मधेसीतर्फ २३ जना, आदिवासी जनजातितर्फ ४३ जना, थारूतर्फ १० जना, अपांगतर्फ २ र पिछडिएको क्षेत्रबाट दुई जना निर्वाचित हुनेछन् । यो सबै गर्दा खुलातर्फ १ सय ४५ र समावेशीतर्फ १ सय ५४ हुन्छ । सबै गर्दा माओवादीको केन्द्रीय समितिको आकार २ सय ९९ सदस्यीय हुनेछ ।

माओवादीले विधान संशोधन गर्दै ५० प्रतिशत खुला र ५० प्रतिशत समावेशी समेटेर केन्द्रीय केन्द्रीय समिति बनाउने जनाएको छ । सबै पदमा सहमति नभए निर्वाचनका माध्यमबाट केन्द्रीय समितिको छनोट हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 266 times, 1 visits today)

epaper

ताजा समाचार

जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ पक्राउ