संविधानतः हाम्रो मुलुक धर्मनिरपेक्ष राज्य हो । यसैले कानुनी रूपमा यहाँ कुनै खास धर्मलाई मात्र विशेष मान्यता तथा संरक्षण नदिई सबै धर्मलाई समान ठानिन्छ । धर्मप्रतिको आस्था र विश्वास हाम्रो आशा, भरोसा र सन्तुष्टिको माध्यम बन्ने गरेकोले धर्मप्रतिको विश्वास अहिलेसम्म हामीबाट हटिसकेको छैन । पछिल्लो समयमा धार्मिक आस्थारहित व्यक्ति पनि समाजमा देखापर्दै आएका छन् । तर, धर्मप्रति विश्वास नगर्ने त्यस्तै व्यक्ति नै कुनै शुभकार्य गर्नुपर्दा, टाढाको यात्रामा निस्कँदा तथा महत्वपूर्ण पदीय जिम्मेदारी ग्रहण गर्दा सबैभन्दा पहिला साइत हेर्न पुग्छन् । साइत हेर्ने कुरा धर्मप्रतिकै आदर्श आस्था र विश्वास हो । साइतलाई मान्यता नदिने व्यक्ति हाम्रो समाजमा विरलै होलान् । धर्मले काम कर्तव्यप्रति एकाग्रता जगाउने मात्र होइन सामाजिक सद्भाव र मर्यादालाई मूर्तरूप प्रदान गराउँछ । नामको आधारमा धर्मको स्वरूप अनेक भए पनि अवलम्बनको संस्कार र पद्धति भने सबै धर्मको समान हुन्छ । धर्मले व्यक्तिको मानसिकतामा रहेको विकार हटाई स्वच्छ र कञ्चन बनाउने कार्य गर्छ । आत्मालाई पवित्र बनाई सद्कर्म गर्ने प्रेरणा जनाउँछ । धर्मको मुख्य विशेषता भनेकै यही हो ।
सम्मान र विश्वासको धरोहर मानिँदै आएको यही धर्म अहिले दुरुपयोग हुन थालेको छ । ज्ञान आर्जनको माध्यमबाट धर्म अर्थोपार्जनको माध्यम बन्दै छ । धर्म सेवाबाट प्रतिष्ठाको विषय बन्दै छ । धर्म अपराधलाई ढाकछोप गर्ने माध्यम हुँदै छ । धर्मको आवरणभित्रै अकल्पनीय संवेदनशील अपराध हुँदै आएका छन् । समुदायबीचकै भावनात्मक एकतालाई धर्मले समेट्नुको सट्टा विखण्डित गराउँदै छ । वास्तवमा यी सबै विकृति धर्म आफैंले निम्त्याएको होइन । धर्म अवलम्बन र पालन गर्ने नाममा हामीहरूले नै यस्ता विकृति निम्ताउँदै आएका हौं । योसुन्दा सबैको निम्ति सह्य नभए पनि हाम्रै व्यवहारमा देखिएको यथार्थता हो ।
हाम्रो समुदायका अग्रज पुर्खा धर्म उत्पतिकर्ता हुन् । जसले लामो समयसम्मको त्याग र तपस्याबाट उत्कृष्ट सामाजिक रीतिरिवाज र परम्परालाई विकसित गराउँदै ल्याए । यिनै तपस्वी पुर्खाको अर्ती उपदेशमूलक मन्त्र हाम्रा परम्परा बन्दै आए । ज्ञानवद्र्धक मन्त्रको उत्पन्नकर्ता हाम्रा पुर्खा आदर्श चरित्रवान हुन्थे । उनीहरूको उदार एवं उपकारी मानसिकता र उत्कृष्ट चरित्र समुदायकै प्रेरणा स्रोत मानिन्थ्यो । उनीहरू बस्ने वा तपस्या गर्ने स्थल पवित्र मन्दिर नै ठानिन्थ्यो । उनीहरू आदर्श आचरण र व्यवहारका धनी हुन्थ्यो । उनीहरूले पहिरने गेरु वस्त्र, खरानी धारण गरेको शरीर, आचरण र व्यवहार पवित्रताको प्रतीक मानिन्थ्यो । सबैलाई समान ठान्ने, कोही कसैलाई दुःख कष्ट नदिने, कसैको आत्मामा चोट नपु¥याउने र सबैको हित र कल्याण गर्ने हाम्रा तपस्वी पुर्खाको विशेषता नै हुन्थ्यो । उनै पुर्खाको भेषधारी दुष्चरित्रवान् व्यक्तिहरूले अहिले धर्मको नाममा अपराधिक कार्य गर्दै आएका छन् ।
पछिल्लो समयमा पुस्तकको स्वरूपमा निस्किएका उपदेशमुलुक मन्त्रको वाचन एवं श्रवण नै बिक्री हुन थालेको छ । किनकि त्यसलाई पुस्तकको आकारमा इच्छुक अनुयायी वा पाठकसम्म पु¥याउने क्रममा संकलनकर्ताको लाग्ने आर्थिक व्ययभार पुस्तक बिक्री गरी असुलउपर गर्ने कार्यलाई अन्यथा ठान्नु हुँदैन । तर, त्यही पुस्तकको ज्ञानवद्र्धक मन्त्र वाचनकर्ताले मन्त्रको मौखिक शब्दस्वरूपलाई अहिले बिक्री गरिरहेका छन् । यसको दृष्टान्तका लागि सञ्चालन हुँदै आएका यज्ञ, अनुष्ठान, महायज्ञ, पुराणलाई लिन सकिन्छ । सामाजिक कार्य गर्न भनी महायज्ञ लगाएर अर्थ संकलन गर्ने कार्यले पेसागत स्वरूप लिँदै छ । हरेक दिन कुनै न कुनै स्थानमा यस्ता यज्ञ महायज्ञ लगाएर रकम संकलन भएको समाचार प्रकाशित भइरहन्छन् । यज्ञ अनुष्ठान लगाएर संकलन गरिएको रकमको सदुपयोग भयो भएन ? भन्ने कुरा दाताको चासोको विषय पनि हुँदैन । तर, यज्ञ अनुष्ठानबाटै संकलित रकम नै कतिपय स्थानमा दुरुपयोग भइरहेको छ । यो धर्मको नाममा फैलिएको विकृति मात्र होइन अपराधिक प्रवृत्ति नै हो ।
कुनै सामाजिक कार्य गर्ने नाममा रकम संकलन गर्न आह्वान गर्दा सामान्यतया अधिकांशले चासो दिँदैनन् । यसको कारण सामाजिक योगदान र सेवा नपु¥याउने भन्ने होइन, उठेको रकम सदुपयोग हुँदैन भन्ने सन्त्रास नै हो । यस अवस्थामा सामाजिक मानसिकता पु¥याउनमा हाम्रो सामाजकै कतिपय अगुवा जिम्मेवार छन् । उनीहरूकै व्यवहार र कार्यशैलीले यस्तो अवस्था आएको हो । तर, रकम असुल गर्ने उद्देश्यले यज्ञ अनुष्ठान लगाइए दाताको प्रतिस्पर्धा नै हुने गरेको छ । यसको कारण पनि धार्मिक कार्यबाट संकलित रकम दुरुपयोग हुँदैन भन्ने मान्यता नै हो । धर्मप्रति स्वस्फूर्त रूपमा जागरुक रहने हाम्रो परम्परा अहिलेसम्म जीवन्त छ । समाज सेवामा समर्पित रहने अगुवाहरूको स्वार्थपूर्ण मानसिकताले पछिल्लो समयमा धर्मलाई पैसामा विनिमय गरिरहेको छ । यो धर्मको आवरणभित्रको अपराधिक कार्य हो । यज्ञ, महायज्ञका वाचक, रीतविक र स्वामीहरूको आचरण र व्यवहार पनि नाटकीय बन्दै आएको छ । तपस्वी पुर्खाकै भेषमा अहिलेका स्वामी महाराज अपराधिक कार्यतर्फ उन्मुख हुँदै आएका छन् ।
स्वामी महाराज, सन्त महाराज, ब्रम्हाचारी, तपस्वी आदि अनेक नामबाट चिनिने व्यक्तिहरूबाटै मानव बेचबिखत र ओसारपसार, ठगी, बलात्कार र हत्याजस्ता संवेदनशील अपराध हुँदै आएका छन् । जुन आश्चर्यजनक र अपत्यारिलो यथार्थ हो । वास्तवमा धर्मले मानिसलाई सदाचारा सिकाउँछ । मस्तिष्कलाई स्वच्छ र पवित्र बनाउँछ । दूषित मानसिकतालाई हटाइदिन्छ । आफ्नो मात्र होइन समष्टिगत मानव समुदायदेखि प्राणीजगत्सम्म नै अपनत्व एवं आत्मीयताको अभिवृद्धि गराउँछ । सबैलाई आदर सम्मान दर्साउने र निस्वार्थ सेवा भावनामा जागरुक गराउने भएकाले धर्म सबैको लागि उतिकै महŒवको विषय बन्दै आएको हो । गृहस्थी जीवन बिताउने क्रममा हामीले निश्चित सीमाभित्र रहनुपर्नेहुन्छ । सामाजिक संस्कार र हाम्रो रीतिरिवाज पालन गर्ने गराउने क्रममा हाम्रो आचरण र व्यवहार पनि सधैं समान हुन सक्दैन । व्यक्ति व्यक्तिबीच हुने अशोभनीय व्यवहार, आफ्नो र पराइ ठान्ने प्रवृत्ति र पारस्परिक सामाजिक प्रतिस्पर्धाले परस्परमा सन्त्रास र चिन्ता उत्पन्न गराउने व्यक्तिकै मानसिकतामा चोट पु-याउने, सबैलाई समान रूपले हेर्न नसकिने भएकैले हाम्रा पूर्वज ऋषि महर्षिहरूले गृहस्थ जीवन त्यागेर तपस्वी बन्न पुगेका थिए । तपस्वीकै भेषधारी साधु सन्त महन्तको संख्या अहिले पनि उल्लेख्य छ । तर, अहिलेका तपस्वी महात्माको मानसिकता अग्रज पुर्खाको जस्तो निश्कलंक र निर्मल छैन ।
स्वामी महाराजले आफ्नै भक्तलाई बलात्कार गरे भन्ने कुरा हामीले सुनेका छौं । तपस्वीले अनुयायीलाई नै बेपत्ता बनाए । कतिपय स्वामी महाराज आफ्नो कुकर्मबाट जोगिन भागी बेपत्ता भएका छन् । रोग निको बनाउने नाममा कतिपयले यौन शोषण गर्दै आएका छन् । कति धर्मको नामबाटै तस्करी र भ्रष्टाचारमा संलग्न रहँदै आएका छन् । प्राचीन ऋषि महर्षिहरूको गेरुबस्त्र स्वच्छ र पवित्रताको प्रतीक मानिन्थ्यो भने अहिलेका नकावधारी तवस्वीहरूको गेरु बस्त्र अपराध ढाकछोप गर्ने पर्दा बन्दै आएको छ । हुन त अहिलेका स्वामी महाराज सबैलाई समान दृष्टिकोणले हेरिए त्यो अन्याय हुन सक्छ । किनकि अल्पसंख्यक सन्तमहाराज अहिले पनि सबैको आस्था र विश्वासको धरोहर बन्दै आएका छन् भने अधिकांश त अपराधिक मानसिकताका छन् । अपराधिक मानसिकताका स्वामी महाराजहरू श्रद्धालु भक्त महिलाहरूकै वास्तविक स्वामी बन्न लालाहित देखिन्छन् भन्ने कुरा उनीहरूले गरेका क्रियाकलापबाटै पुष्टि हुँदै आएको छ । यस्ता कुकृत्यवान स्वामीलाई अझ पनि हामी आदरकै दृष्टिले हेर्छौं, उनीहरूलाई श्रद्धा गर्छाैं । यो हाम्रो धर्मप्रतिको अन्धभक्ति हो । यसबाट हाम्रो मानसिकता परिवर्तन गर्नु अत्यावश्यक छ ।
पहिलेका ऋषि महर्षि र अहिलेका नकाबधारी स्वामी महाराजबीच के भिन्नता छ ? र स्वच्छ एवं पवित्रताको प्रतीक ठानिँदै आएका प्राचीन महात्माकै चेला अपराधिक मानसिकतार्फ कसरी उन्मुख हुँदै आए भन्ने’boutमा पनि विस्तृत चर्चा गर्नु सान्दर्भिक हुन्छ । तपस्वी ऋषि महर्षिहरू पहिले गृहाश्रमदेखि टाढै रहन्थे । अर्ती उपदेशमूलक मन्त्र र ज्ञान अभिवृद्धिकै निम्ति एकाग्र चिन्तनले तपस्यामा लिन हुन्थे । लोभलालचमा पर्दैनथे, सम्पूर्ण चिजवस्तु र जीवात्मालाई मात्र होइन सिंगो प्रकृतिलाई नै उनीहरू आफ्नो ठान्थे । अरू कसैलाई बाधा अवरोध नपुगोस् भनेर एकान्त स्थलमा कुटी बनाएर तपस्या गर्थे । कन्दमुल वा प्राकृतिक वनस्पति नै उनीहरूको आहरा हुन्थ्यो । वनस्पतिजन्य चिजवस्तुको सेवनले हृष्टपुष्ट, निरोगी र दीर्घजीवी बन्थे । लोभलालच के हो उनीहरूलाई थाहा हुँदैन्थ्यो । प्राणी मात्रको दया र उपकार उनीहरूको कर्तव्य हुन्थ्यो । उनीहरूको लोभलालच र कपटरहित मानसिकता भक्त वा अनुयायी सबैका निम्ति प्रेरणाको स्रोत बन्थ्यो । भक्तहरूलाई श्रद्धा र सम्मान गर्ने परिपाटी उनीहरूमा थियो । इन्द्रियलाई नियन्त्रित गरेरै ध्यानमा मस्त रहन्थे । श्वासप्रश्वासका लागि नभई नहुने वायु, जीवनको हरेक पल आवश्यक पर्ने जल, आश्रयका लागि अत्यावश्यक मानिने भूमि, तापका लागि नभई नहुने अग्नि र सूर्यसमेतलाई ऋषि महर्षिहरू प्राकृतिक देवताका रूपमा पूजा गर्थे । प्राकृतिक देवताको पूजा र सदभक्तिले तपस्वीको आत्मा अझ निर्मल र पवित्र बन्दै ज्ञान प्राप्तिका निम्ति अभिप्रेरित हुँदै जान्थ्यो । यसरी कठोर तपस्याबाट आर्जित ज्ञान उनीहरूले श्रद्धालु भक्तहरूको मानसपटलमा राखिदिन्थे । यसबाट प्रभावित भक्तहरूका निम्ति गुरु महात्मा आस्था र विश्वासको केन्द्रबिन्दु बन्थे ।
तर, अहिलेका नकावधारी महात्मा गृहाश्रमदेखि टाढा जान रुचाउँदैनन् । अर्ती उपदेशमूलक मन्त्र र ज्ञान आर्जनका लागि कठोर तपस्यामा लिन हुन उनीहरूले जानेका छैनन् । उनीहरूको लोभलालची मानसिकताले सीमा नाघेकोले अर्काको सरसामान र धनसम्पत्तिप्रति नै उनीहरू गिद्देदृष्टि लगाउने मात्र होइन चोर्न पछि पर्दैनन् । प्राणीजगत् र प्राकृतिलाई मात्र होइन आफूलाई जन्मदिने बाबुआमा र परिवारका निकटतम अन्य सदस्यलाई नै उनीहरू पराइ ठान्न थाले । त्याग तपस्याको निम्ति एकान्तवास र कुटी के हो अहिलेका नकावधारी स्वामीलाई थाहा छैन । अहिलेका स्वामी महाराजहरू गृहस्थदेखि टाढा होइन सधैं साथै रहन रुचाउँछन् । कन्दमुल र प्राकृतिक वनस्पति होइन अहिलेका नकावधारी स्वामी महाराज मासु मांस र मदिरापान एवं कुलतमै रमाउने गर्छन् । आधुनिक परिकार सेवन गर्दा दीर्घरोगी बनी अल्पायुमै मृत्युवरण गर्न पुग्छन् । अहिलेका महाराजहरूमा लोभलालच, आफ्नो पराइको भावनाले सीमा नाघेको छ । अर्काको चित्त दुखाएर वा अर्कोलाई दुःख कष्ट दिलाएरै पनि अहिलेका महात्मा आफ्नो इच्छा पूरा गर्न पछि पर्दैनन् । अहिलेका महात्मामा दया र उपकारको भावना लोपोन्मुख अवस्थामा पुगेको छ । उनीहरूको लालची र कपटपूर्ण व्यवहार अहिले घृणामा परिणत भइसकेको छ । भक्तहरूलाई श्रद्धा र सम्मान होइन अहिलेका ब्रह्मचारी महाराजहरू भोगविलासिताको वस्तुका रूपमा लिने गर्छन् । अहिलेका नकावधारी ब्रह्मचारी महाराजहरू इन्द्रिय नियन्त्रित गर्न नसकेकै कारण घृणित बन्दै गएका छन् ।
यसैगरी अहिलेका नकावधारी, ब्रह्मचारी स्वामी महाराजहरू ज्ञान आर्जनका लागि होइन अपराधजन्य कुकर्म ढाकछोप गर्न गेरु बस्त्र लगाउँछन् तर उनीहरूको मानसिकताबाट अपराधिक प्रवृत्तिकै अन्त्य भएको हुँदैन । आधुनिक महाराजबाटै परम्परागत धर्मिक मान्यता उपहास हुँदै आएका छन्, अनुयायीहरूलाई धार्मिक ज्ञान प्रदान गराउने क्षमता उनीहरूमा छैन । अहिलेका स्वामीहरू भोगविलास, सुखसयल र सखी सम्पन्न जीवन यापनकै निम्ति ब्रह्मचारी बन्न पुगेका छन् । कठोर तपस्या गरेर ज्ञान आर्जन गर्नुको सट्टा गृहस्थ जीवनकै प्रेरणाबाट प्राप्त ज्ञान र सदाचारलाई नै पालन गर्न नसकी अपराधिक कार्यतर्फ उन्मुख हुँदै आएका छन् ।
प्राचीन कालका सम्मानित ऋषिमहर्षि र अहिलेका नकाबधारी स्वामी महाराजहरूमा पाइने उपरोक्त भिन्नताले नै उनीहरूलाई दुई ध्रुवमा विभाजित गराएको हो । धर्मप्रति आस्थावान् व्यक्तिले स्वामी महाराजको सामिप्यमा जानुअगावै उनी कुन वर्गका महात्मा हुन भन्ने कुरा बुझ्न सक्नुपर्छ । उनी कस्तो आचरणका व्यक्ति हुन भन्ने कुरा विगतको उनकै पृष्ठभूमि अध्ययन गरी यकिन गर्नुपर्छ । विभिन्न कोणबाट मूल्यांकन गर्दा आदर्श, चरित्रवान् एवं ज्ञानकै स्रोत मानिने साँचिकै महात्मा ठहरिए मात्र उनीसँग नजिकिनु अनुयायीका निम्ति लाभप्रद हुन्छ । अनुयायी मात्र होइन समाजको सम्बद्ध सबै पक्षले समेत यसतर्फ सजग बन्ने हो भने नकावधारी स्वामीको अपराधिक कार्यबाट कसैले पनि पीडित बन्नुपर्ने अवस्था आउँदैन ।






