यी साहसिक उद्धारक, जो पटक पटक मृत्युको मुखमा पुगेर पनि उद्धारमै रमाइरहेका छन्


पोखरा अर्थात् नेपालको प्रमुख पर्यटकीय नगरी । आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइको नगर । नगरकै आडमा रहेको फेवाताल र बेगनासताल । नेपालमा पहिलो पटक प्याराग्लाइडिङ प्रयोगमा आएको सहर । पर्यटकीय नगर पोखरालाई चिनाउने यी केही विषय हुन् ।
पोखरा पुगेपछि फेवातालमा डुगा सयर नगर्ने कमै होलान् । कतिपयले प्याराग्लाइडिङको मज्जा पनि राम्रैसँग लिन्छन् । कतिपय सेती खोंच, डेभिस फल्स (पातले छांगा) हेर्न पनि जान्छन् ।

चाहे डुंगा सयर होस्, चाहे प्याराग्लाइडिङ । सतप्रतिशत सुरक्षित हुँदैनन् । बेला बेलामा डुंगा र प्याराग्लाइडिङ दुर्घटनामा परेको हामीहरुले सुन्दै आएका छौं । दुर्घटनामा कम भन्दा कम क्षति होस् भनेर सशस्त्र प्रहरी बलले त्यहाँ तालिम प्राप्त उद्धार टोली तैनाथी अवस्थामा राख्दै आएको छ । सोही टोलीमा एक जना यस्ता व्यक्ति छन्, जसको साहसीपनको चर्चा जति गरे पनि कम हुन्छ । उनी हुन् हाल पोखरास्थित नम्बर २४ गणमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्लार दीर्घनारायण पौडेल ।

पुस २०६९ देखि आफ्नो पेशागत जिम्मेवारीलाई उद्धारतर्फ केन्द्रित गरेका पौडेल पोखरा वा पोखरा आसपास यसअघि जति पनि विपद्जन्य घटना भएका छन्, उनी नगएको ठाउँ कमै छन् । उनको कुशलता र साहसीपन देखेर माथिल्लो दर्जाका अधिकृतहरुको पहिलो रोजाइमा उनी पर्दै आएका छन् । उद्धारका क्रममा उनले कतिलाई नयाँ जीवनसमेत दिएका छन् । ज्यानको बाजी लगाएर फेवातालमा डुबेर कुहिन लागिसकेका शव निकालेका छन् । यस्तै काम उनले सेती खोँच र डेभिस फलमा पनि गरेका छन् ।

सशस्त्र प्रहरीमा सेवा आरम्भ गरेको तीन वर्षपछि उद्धार कार्य थालेका उनले हालसम्म एक सयभन्दा बढी घटनामा आफ्नो सक्रियता देखाइसकेका छन् । उनले हालसम्म २४५ भन्दा बढीलाई नयाँ जीवन दिएका छन् भने ५१ ओटा शव निकालेका छन् ।

स्याङजाको अर्जुनचौपारी गाउँपालिका–३ का स्थायी वासिन्दा पौडेलले पोखरा आसपास क्षेत्रमा हुने गरेका सवारी दुर्घटना, पहिरो, प्याराग्लाइडिङ, डुंगा दुर्घटना, सेती खोँच र सेती नदीमा भएका दुर्घटना, आगजनी र अन्य मानवीय दुर्घटनामा उद्धारतर्फ आफ्नो क्षमता देखाइसकेका छन् । उद्धारकै सिलसिलामा उनी छिमेकी जिल्ला तनुहँ, स्याङ्जा, बाग्लुङ र म्याग्दीलगायतका जिल्ला पनि पुगेका छन् । यद्यपि, उद्धारसम्बन्धी उनको जीवन नियाल्ने हो भने फेवातालमा भएका डुंगा दुर्घटना र प्याराग्लाइडिङ दुर्घटनामा उनले बढी समय खर्चेको देखिन्छ ।

फेवातालमा पौडी खेल्ने क्रममा र डुंगा सयर गर्ने क्रममा दुर्घटना हुने गर्दै आएको छ । फेवातालमा ‘बोटिङ’ गर्ने क्रममा कहिलेकाहीँ अकस्मात हावा हुन्डरी चलेर दुर्घटना हुने गर्छ । कहिलेकाहीँ प्याराग्लाइडिङ पनि फेवातालमा खस्ने गर्छ । उनीहरुको उद्धारमा सशस्त्र प्रहरीको उद्धार टोली उद्धार सामाग्रीसहित तैनाथ हुँदै आएको छ ।

साहसिक उद्धारक पौडेलको उद्धारसम्बन्धी जीवनको पाटोलाई केलाउने हो भने दुई भागमा बाँड्नुपर्ने हुन्छ । पहिलो, कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम केन्द्रमा लिएको तालिमपछि र दोस्रो, २०७६ साल असोजमा सप्तकोशी नदी र फेवातालमा लिएको गोताखोर तालिमपछिको उद्धारसम्बन्धी काम ।

गोताखोर तालिम लिएपछि उनमा थप साहस र आँट वृद्धि भएको छ । त्यसो त गोताखोर तालिम लिनुअघि पनि उनी फेवातालमा उद्धारमा सक्रिय हुन्थे नै, तालिम लिएपछि भने उनमा थप साहस वृद्धि भएको हो ।

विपद् व्यवस्थापन तालिम केन्द्रले २८ साउन २०६९ मा विपद्सम्बन्धी तालिम सञ्चालन गरेको थियो । सो तालिममा सुरुमा उनको नाम थिएन । उनले आफू पनि तालिममा सहभागी हुने इच्छा व्यक्त गरेपछि पछि उनको नाम थपियो । त्यहाँ उनले तीन महिनाको कठोर तालिम लिए । त्यसपछि तालिम गरेकामध्ये ३५ जनालाई पश्चिम क्षेत्र पोखरा खटाइयो । ती ३५ जना पोखरा गएपछि मात्रै पोखरामा उद्धारसम्बन्धी कामले गति लिएको हो । त्यसअघि पोखरा र आसपास क्षेत्रमा कुनै विपदजन्य घटना भए कुरिनटारबाट उद्धार टोली पुग्नुपर्ने बाध्यता थियो ।

पौडेलसहितले २०७६ साल असोजमा सप्तकोशी र फेवातालमा गोताखोर तालिम गरेका थिए । सो तालिमको समन्वय सशस्त्र प्रहरीको नम्बर १ बाहिनीले गरेको थियो । नेपालमै गोताखोर तालिम सञ्चालन गरिएको त्यो नै पहिलो हो । सशस्त्र प्रहरीका यसअघिका गोताखोरले बंगलादेशबाट तालिम लिएका थिए । बंगलादेशबाट तालिम लिएका सशस्त्रका गोताखोरले नै सो तालिम दिएका थिए । करिब ३५ दिनको गोताखोर तालिममध्ये ३० दिन उनीहरुले सप्तकोशीमा लिएका थिए । तर साप्तकोशीको पानीको गहिराई ३०÷३५ फिट मात्रै रहेकाले उनीहरुलाई फेवाताल ल्याएर तालिम दिइएको थियो । फेवातालको गहिराई ७०/७५ फिट छ ।

साहसिक उद्धारक पौडेल उद्धारको सिलसिलामा फेवातालको ७०÷७५ फिट गहिराईसम्मै पुगेका छन् । उनले फेवातालको गहिराईबाट धेरै नै मृतक व्यक्ति निकालेका छन् । त्यति गहिराइमा पुगेर मृतक व्यक्ति निकाल्ने क्रममा डर लाग्दैन भन्ने जिज्ञासामा उनी भन्छन्, ‘सुरु सुरुमा लाग्थ्यो । अब त लाग्दैन, बानी नै प¥यो ।’

मृतकको उद्धार गर्दा जति दुःख लाग्छ, जीवितको उद्धार गर्न पाउँदा धेरै नै खुसी लाग्ने उनी बताउँछन् । ‘दुर्घटना भनेको जानाजानी हुने होइन, तैपनि कोही व्यक्ति जतिखेर पनि दुर्घटनामा पर्न सक्छन्, त्यतिखेर उनीहरुलाई सहयोगको खाँचो हुन्छ । त्यही खाँचो पूरा गर्ने काम हामीहरुले गरिरहेका छौं,’ पौडेल भन्छन् ।

अरुलाई जीवनदान दिन हरबखत तम्सने सशस्त्र प्रहरी सहायक हबल्दार पौडेल उद्धारकै सिलसिलामा कतिपटक मरेर बाँचेका छन् । तैपनि उनले हरेश खाएका छैनन् । उनी भन्छन्, ‘एकपटकको जुनी हो, जीवनमा अझै धेरै गर्न बाँकी छ ।’

उद्धारका सिलसिलामा उनले भोगेका केही यस्ता घटना छन्, जुन उनी चाहेर पनि बिर्सन सक्दैनन् । यी घटनामध्ये कुनैमा उनले मृत्युलाई नजिकबाट भोगेका छन् भने कुनै घटना आफूले खेलेको भूमिका आफैलाई गर्व गर्ने खालको ।

२२ असार २०७८ मा भएको एउटा उद्धारसम्बन्धी घटनामा चाहिँ उनी मरेर पनि बाँचेका थिए । त्यस दिनको घटना सम्झदै उनी भन्छन्, ‘त्यस दिन पोखरा–१५ टुटुंगामा सोही ठाउँ बस्ने ६३ वर्षका नरबहादुर बस्नेत सेती नदीको खोँचमा खस्न पुगेछन् । सो घटनाको जानकारी आएपछि खोजीका लागि हामी उद्धार टोली गएका थियौं । असारको महिना भएकाले सेती नदी उर्लिएको थियो । म गोताखोर सेट लगाएर पानीभित्र गएँ । तर पुरानो खालको गोताखोर सेट विले (एटेन्डन) रोप इक्फेसन ब्याग हुक गरेको ठाउँबाट छुट्न पुग्यो । त्यसपछि म आफै सेतीको होंचमा पाँच मिनेट सम्पर्कविहीन हुन पुगेँ । त्यहाँ न कुनै सेफ्टी थियो, न त पानीभित्र कुनै भिजिविलिटी । तैपनि मेरो जीवन बलियो रहेछ र म बाँचे ।’

२७ मंसिर २०७८ मा पर्वतको मध्यमाडी हाइड्रोपावरको सुरुङभित्र पहिरो गएको थियो । सुरुङ अत्यन्तै अँध्यारो थियो । तर पनि उनले हिम्मत हारेनन् । सुरुङभित्र एक्लै पसेर उनले शव निकालेका थिए । उद्धारका सिलसिलामा आफूले गरेको यो कामलाई पनि उनी नजिकबाट सम्झन चाहन्छन् ।

यस्तै, अर्काे घटना छ फेवातालको । ३ असोज २०७४ को दिउँसो २ बजे हावाहुरीका कारण ७ ओटा प्याराग्लाइडिङ एकै साथ फेवातालमा खस्यो । प्याराग्लाइडिङमा ११ जना थिए । सो घटनालाई नजिकबाट देखेका उनले तत्कालै मोटरबोटको सहयोगमा सबैलाई उद्धार गरे ।
‘केही ढिलो भएको भए मानवीय क्षति हुन सक्थ्यो, तर हामीले मानवीय क्षति हुन दिएनौं, सबैको उद्धार ग¥यौं,’ उनी भन्छन् ।

त्यस्तै उद्धारसम्बन्धी अर्काे पनि घटना छ २ साउन २०७१ को । त्यस दिनको रातको समयमा रामघाटस्थित सेती नदी थुनिएर ताल बनेपछि सो स्थानमा रहेको सुकुम्बासी बस्ती डुवानमा प¥यो । त्यसपछि उनीसहितको उद्धार टोलीले मोटरबोटमार्फत १० जनालाई सकुशल उद्धार गर्न सफल भएको थियो । ‘राति २ बजेको घटना थियो त्यो, घटनाको जानकारी पाएपछि हामीहरु मोटरबोट लिएर सुकुम्बासी बस्तीसम्म पुग्यौं, मोटरबोट मैले नै ह्यान्डलिङ गरेको थिएँ । हामी त्यहाँ पुग्दा रुवाबासी चलिरहेको थियो । तैपनि हामीले १० जनालाई उद्धार ग¥यौं ।’

उनी विभिन्न समयमा पोखराको डेभिस फल्समा खसेका तीन जनालाई पनि आफूले डोरीको माध्यमबाट खोंचमा झरेर निकाल्न सकेको पनि बताउँछन् ।

तपाइको प्रतिक्रिया
(Visited 8,210 times, 13 visits today)

Ads Space Available

epaper

भर्खरै

१८ माघसम्म सेवा संकुचन गर्ने सर्वाेच्च फुलकोर्टको निर्णय

कुरी-कुरी