भारतमा बजार खोज्न हिन्दीमा नेपाली चलचित्र

काठमाडौं । निर्माणको तयारीमा रहेको चलचित्र परस्त्री र अब हिन्दी र नेपाली दुबै भाषामा निर्माण हुने भएको छ । हिन्दी भाषाको बजार भारतमा मात्र नभएर अन्तराष्ट्रिय क्षेत्रमा समेत भएका कारण यसका निर्माताहरुले परस्त्रीलाई हिन्दी भाषामा समेत निर्माण गर्ने बताएका छन् ।

काठमाडौंमा एक समारोहबीच निर्माण घोषणाको क्रममा निर्माण पक्षले परस्त्रीलाई हिन्दी भाषामा पनि निर्माण गर्ने बताएका छन्,‘हामीले हाम्रो चलचित्रलाई अब अन्तराष्ट्रिय बजारमा पठाउन उनीहरुको भाषामा समेत हामीले हाम्रा चलचित्र निर्माण गर्नुपर्छ । त्यही लक्ष्यका साथ चलचित्र परस्त्री नेपाली र हिन्दी दुबै भाषामा निर्माण गर्न लागिएको हो ।’ यसका निर्देशन सल्लाहकार दीपेन्द्र के खनालले बताए ।

यो चलचित्रको निर्देशक सुरज पान्डेले गर्दैछन् । चलचित्र लभ लभ लभबाट नायकको रुपमा नेपाली चलचित्रमा आएका सुरज यो चलचित्रबाट निर्देशनमा उक्लँदैछन् । जसमा कोशिष क्षत्री सहितका कलाकारको अभिनय रहने छ ।

सिनेमा हलसँगै डिजिटल प्लेटफर्म मार्फत नेपाली चलचित्रलाई पनि अन्तराष्ट्रियकरण गर्न परस्त्री नेपाली र हिन्दी दुबै भाषामा निर्माण गर्न लागिएको यसको निर्माता शर्मिला पाण्डेको कथन छ । उनका अनुसार हिन्दीमा समेत निर्माण गरेपछि भारतमा पनि नेपाली चलचित्रको बजार विस्तार हुनेछ ।

यस्तै चलचित्र प्रेमगीत ३ अब नेपाली र हिन्दी दुबै भाषामा एक साथ रिलज हुने भएको छ । यो फिल्मलाई सुरुमा नेपालीमा निर्माण गरिएको थियो । यसको लुक्स भारतीय वितरकहरुलाई मन परेपछि यसलाई हिन्दी भाषामा पनि तयार गर्ने निस्कर्षमा यसका निर्माता निर्देशक सन्तोष सेन पुगे । करिब चार महिनाको मुम्बई बसाई पश्चात सन्तोषले आफ्नो फिल्म प्रेमगीत ३ लाई हिन्दी भाषामा पनि तयार गरेका छन् । यसलाई अब नेपालमा नेपाली र भाषामा हिन्दी भाषामा रिलिज गरिने भएको छ ।

नेपाली भाषामा मात्र चलचित्र निर्माण गर्दा लगानी उठाउन गाह्रो हुने स्थितलाई मध्यनजर राख्दै आजकाल नेपाली चलचित्र समेत अरु भाषामा पनि निर्माण गर्न थालिएको छ । चलचित्र प्रेमगीत ३ ले हिन्दीमा पनि राम्रो व्यापार गरेको खन्डमा आफुहरुको् कमाई राम्रो हुने विश्वास यसका निर्माता एवम् निर्देशक सन्तोष सेनको छ । अभिनेता प्रदीप खड्का सहित शिब श्रेष्ठ, सुनिल थापालगायतको मुख्य भूमिका रहेको चलचित्र प्रेमगीत ३ ले भारतमा नेपाली फिल्मको बजार बनाउन सहयोग गर्ने विश्वास सन्तोषको छ ।

हिन्दी मात्र हैन, नेपाली निर्माता निर्देशकहरुले नेपाली र तेलुगु भाषामा पनि फिल्म निर्माण गर्दैछन् । यस्तै नेपाली निर्माता निर्देशक विष्णु अधिकारीको निर्देशनमा तयार फिल्म हिटम्यान नेपाली र तेलुगु दुबै भाषामा आउने भएको छ ।

यो फिल्ममा माधव अधिकारी, आँचल शर्मा, प्रशान्त ताम्राकारसहितको मुख्य भूमिका रहने छ । नेपाली र दक्षिण भारतीय फिल्मी बजार जोड्न पनि यो फिल्म नेपाल र तेलुगु दुबै भाषामा निर्माण गर्न लागेको विष्णुले बताएका छन् । तेलुगुमा आफ्नो फरक परिचय बनाईसकेका कारण पनि अधिकारीलाई फिल्म हिटम्यान नेपाली र तेलुगु दुबै भाषामा बनाउने गाह्रो नभएको हो । यो फिल्म आगामी अप्रिलसम्म रिलिज गर्ने निर्माण पक्षको कथन छ ।

तपाइको प्रतिक्रिया
(Visited 369 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक