सामूहिक नेतृत्वमा राप्रपा

बुधबार काठमाडौँमा आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)को एकता घोषण सभामा सहभागि नेताहरु । तस्वीर : नवीन पौडेल/ रासस

काठमाडौं । पटक–पटक टुटफुटको शृंखला बेहोरेको राष्ट्रिय प्रजातन्त्र पार्टीबीच फेरि एकता भएको छ । कमल थापा नेतृत्वको राप्रपा तथा पशुपतिशमशेर राणा तथा डा. प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको राप्रपा (संयुक्त) का बीच एकीकरणपछिको राप्रपामा सामूहिक नेतृत्व रहने गरी बुधबार राजधानीको राष्ट्रिय सभा गृहमा एकता घोषणा भएको हो ।
पार्टी एकता घोषणा कार्यक्रममा उपस्थित कार्यकर्ताको निरन्तरको दबाबपछि नेताहरूले एकतापछि पार्टी कहिल्यै नफुटाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

एकता घोषणा कार्यक्रममा कार्यकर्ताको निरन्तरको दबाबपछि मन्तव्य राख्दै गर्दा अध्यक्ष कमल थापाले ‘गीता’ गोजीबाट निकालेर प्रतीज्ञा गरे, ‘गीता छोएर भन्छु, अब पार्टी फुटाउँदिनँ ।’ ‘विगतका तीता घटनाले पीडा भयो, आगामी दिनमा कुनै पनि आग्रह पूर्वाग्रह राख्नेछैन,’ अध्यक्ष थापाले भने, ‘विगतका आग्रह पूर्वाग्रहबाट माथि उठौं, सामूहिक नेतृत्वको भावनाअनुसार दृढतासाथ अघि बढौं ।’ कार्यकर्ताको निरन्तरको दबाबपछि राणा र लोहनीसमेत हात उठाएर पार्टी नफुटाउने प्रतिज्ञा गर्न बाध्य भए । त्यसपछि अध्यक्ष थापासहित बीचमा बसेर तीनै अध्यक्षले मुठी कसेर कहिल्यै पार्टी नफुटाउने प्रतिज्ञा गरे ।

थापापछि लगत्तै बोलेका अर्का अध्यक्ष लोहनीले पनि गीता छोए । ‘चिन्ता नगर्नुस्, यो पार्टीलाई एक बनाएर लैजान्छौं, यहाँ गीता पनि रहेछ, वचन नै ठूलो कुरा हो, हामी धर्म र कर्ममा विश्वास गरेर जान्छौं ।’

अन्त्यमा बोलेका अर्का अध्यक्ष राणाले पनि गीता छोएर पार्टी नफुटाउने प्रतिज्ञा गरे । उनले गीता छोएर भने, ‘राप्रपा एक भएर जान्छ ।’ एकीकरणपछिको राप्रपामा अब तीनै जना अध्यक्ष रहनेछन् । आधारपत्रअनुसार पार्टीमा के कति संख्याको केन्द्रीय समिति रहने भन्ने विषय अब तीन अध्यक्षले नै टुंग्याउनेछन् ।

सहमतिको आधारपत्रअनुसार हाल कायम रहेका तीनै दलका निर्वाचन चिह्न ६ महिनाका लागि स्थगन भएको छ । तर, झन्डा भने थापा नेतृत्वको दलको नै कायम भएको छ । यसैगरी, दुवै दलको विधानलाई सामञ्जस्य गरी एकीकृत विधान बनाउने सहमति भएको छ । हालका लागि भने राप्रपाको विधानलाई अन्तरिम विधान मानिएको छ । ६ महिनाभित्र विधान कमिटीले विधान प्रस्ताव गर्नेछ । सहमतिअनुसार डेढ वर्षभित्र एकीकृत पार्टीको महाधिवेशन हुनेछ ।

२०४७ सालमा गठन भएको राप्रपा यसबीचमा पटक–पटक फुट्दै र जुट्दै आएको छ । मुलुकमा गणतन्त्र स्थापना भएपछि समेत गणतान्त्रिक व्यवस्थालाई स्विकार्न आनाकानी गर्दै आएका दुवै दल पछिल्लो समय राजसंस्थालाई नै अंगीकार गर्न तयार भएका हुन् ।

राजसंस्थासहित हिन्दू राष्ट्र पुनस्र्थापनाको विषय अब राप्रपाको मूल सिद्धान्त रहनेछ । यही निकटतामा कुरा नमिलेका कारण २६ साउन २०७५ मा पार्टी एकताको तयारी भए पनि अन्तिम समयमा विफल भएको थियो । त्यसको केही समयपछि राणा र लोहनी नेतृत्वको राप्रपाबीच मात्रै एकता भएको थियो ।

टुटफुटको शृंखला
२०४६ सालको राजनीतिक परिवर्तनपछि २०४७ सालमा गठन भएको राप्रपा यसबीचमा पटक–पटक फुट्दै र जुट्दै आएको इतिहास छ । त्यस बखत कांग्रेस र कम्युनिस्टमा नलागेका पूर्वपञ्चले राप्रपा गठनको प्रयास गरेका थिए ।

सो बखत एकीकृत राप्रपा गठनका लागि सहमति बन्न नसकेपछि सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा दुई राप्रपा जन्मियो । दुवै राप्रपाबीच २०५१ को मध्यावधि निर्वाचनपछि एकता भयो । त्यसपछि २०६२ पुसमा कमल थापाले पार्टी फुटाएर राप्रपा नेपाल स्थापना गरे ।

राजा ज्ञानेन्द्रको शाही कदमपछि सो कदमको विपक्षमा रहेका सूर्यबहादुर थापाले राष्ट्रिय जनशक्ति पार्टी स्थापना गरे । सो पार्टी २०७० मा पुनः राप्रपासँग एकीकरण भयो । सोही बखत सम्पन्न संविधानसभामा निर्वाचनमा एकीकरणपछिको राप्रपा चौथो दल बन्यो ।

तर, देशको चौथो शक्ति बनेपछि पुनः राप्रपामा विभाजन आयो । थापा र राणा नेतृत्वमा फरक राप्रपा त्यसबीच अस्तित्वमा रहे भने सत्तासँगको सम्बन्धमा ती दुवै दल निकट रही रहे । समानुपातिकबाट २४ सिट जितेको राप्रपा नेपाल र तीन प्रत्यक्षससहित १० सिट जितेको राप्रपाबीच ५ मंसिर २०७३ मा फेरि पार्टी एकता गर्ने सहमति भयो । सो सहमतिसमेत धेरै समय टिक्न सकेन ।

त्यसपछि एकताको आठ महिना नबित्दै २२ साउन २०७४ मा पशुपतिशमशेर राणाले ४० प्रतिशत जुटाएर राप्रपा (प्रजातान्त्रिक) गठनका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराए । त्यसपछि २०७३ फागुनमा डा. प्रकाशचन्द्र लोहनीले पुनः राप्रपामा विभाजन ल्याए । उनको नेतृत्वमा एकीकृत राप्रपा (राष्ट्रवादी) गठन भयो । निर्वाचन चिह्नको विवादपछि लोहनीले नयाँ राप्रपा जन्माएका थिए ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा थापा समूहले गाई, राणा समूहले गोलाकारभित्र हलो र लोहनी समूहले वर्गाकारभित्र हलो चिन्ह लिएर निर्वाचनमा होमिए । निर्वाचनमा थापा र राणालाई कांग्रेसको साथ रह्यो तर जितेनन् । यस बीचमा पुनः फरक फरक रूपमा रहेका तीन दलबीच पटक–पटक एकताको प्रयास भयो, सफल रहेन ।

राजसंस्थासहित हिन्दू राष्ट्र पुनस्र्थापनाको विषयमा राप्रपा एकता भाँडियो । यही निकटतामा कुरा नमिलेका कारण उनीहरूबीच २६ साउन २०७५ मा पार्टी एकताको तयारी भए पनि अन्तिम समयमा विफल भएको थियो । त्यसको केही समयपछि राणा र लोहनी नेतृत्वको राप्रपाबीच मात्रै एकता भयोे ।

पछिल्लो समय एकतापछिको दलमा अध्यक्ष कति जना रहने भन्नेमा कुरा नमिल्दा एकीकरणको सम्भावना टरेको थियो । तर, तीनै जना अध्यक्ष रहने सहमतिपछि गत शनिबार पार्टी एकताको आधारपत्रमा अध्यक्षत्रयबीच सहमति जुटेको थियो ।
मुलुकमा गणतन्त्र स्थापना भएपछि समेत गणतान्त्रिक व्यवस्थालाई स्विकार्न आनाकानी गर्दै आएका दुवै दल पछिल्लो समय राजसंस्थालाई नै अंगीकार गर्न तयार भएपछि एकता भएको हो । राजसंस्थासहित हिन्दू राष्ट्र पुनस्र्थापनाको विषयलाई एकतापछिको राप्रपाले मूल सिद्धान्त मानेको छ ।

राजसंस्था नमान्ने भन्दै थापाद्वारा बहिष्कार
राप्रपा संयुक्तका नेता सुनिलबहादुर थापाले भने राप्रपा एकीकरण घोषणा सभा बहिष्कार गरेका छन् । एकीकृत पार्टी राजसंस्थाको पक्षमा उभिएको भन्दै राप्रपाका संस्थापक नेता सूर्यबहादुर थापाका छोरा सुनिलले एकता घोषणा बहिष्कार गरेका हुन् ।

उनले मुलुकमा गणतन्त्र आइसकेकाले राजसंस्थालाई राप्रपाले मूल सिद्धान्त मान्ने सहमति गरेकाले सो निर्णयविरुद्ध आफू रहेको भन्दै एकता घोषणा सभामा सहभागी नभएको आफू निकट नेताहरूलाई जानकारी गराएका छन् ।

‘मुलुकमा गणतन्त्र आइसकेको छ, अब फेरि राजासहितको प्रजातन्त्रका विषयमा सहमति हुन सक्दैन । त्यसकारण एकतामा जाने स्थिति रहेन,’ थापाको भनाइ उद्धृत गर्दै उनी निकट एक नेताले राजधानीसँग भने । थापाले आफू गणतन्त्र पक्षधर रहेको बताउने गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 335 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘ओहो ! अहिले पनि पोल्छ’

कुरी-कुरी

Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
गुल्मीमा काँग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो