काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी)का विषयमा सभामुख अग्निप्रसाद सापकोटा नरम देखिएका छन् ।
एमसीसी परियोजना संसद्बाट अघि बढाउने विषयमा यसअघि असहमत रहँदै आइरहेका सभामुख सापकोटा सोमबार आफैंले डाकेको सर्वदलीय बैठकमा भने एमसीसीका विषयमा नरम रूपमा प्रस्तुत भएका हुन् ।
सभामुख सापकोटाले संसद्को गतिरोध अन्त्य गर्नेसहितका समसामयिक राजनीतिक विषयमा दलहरूसँग संवाद गर्न भन्दै सोमबार सर्वदलीय बैठक डाकेका थिए । सो क्रममा उनले आफू संसद्को अम्पाएर मात्रै भएको भन्दै एमसीसी अघि बढाउने नबढाउने दलहरूको विषय भएको धारणा दिएका हुन् ।
‘म अम्पायर न हुँ निर्णायक भूमिका त दलको हुन्छ, बैठकमा उहाँहरूले एमसीसी’bout आआफ्नो धारणा राख्नुभएको छ, म खुला छु, मैले सबैका कुरा गम्भीरतापूवर्क सुनेको छु, म सभामुखको हैसियतमा रहेकाले स्वतन्त्र, निष्पक्ष ढंगले निर्णय गर्नुपर्छ,’ बैठकपछि सञ्चारकर्मीहरूको जिज्ञासामा सभामुख सापकोटाले भने ।
संसद्मा लामो समयदेखि जारी गतिरोधको अन्त्य आफूले चाहेको भन्दै सभामुख सापकोटाले संसद् सञ्चालन हुनुपर्छ भन्ने विषयमा बैठकमा आफ्नो विशेष जोड रहेकोसमेत जानकारी दिए ।
यसैगरी, बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई समेत सहमतिमा ल्याएर संसद् खुलाउन सरकार र सत्तारूढ दलहरूले गम्भीर रूपमा पहल गर्नुपर्ने विषयमा सहमति भएको सभामुख सापकोटाले जानकारी दिए ।
आफूले प्रधानमन्त्री शेरबहादुर देउवासहित दलका सबै शीर्षस्थ नेताहरूलाई संसद्मा विचाराधीन नागरिकतासँग सम्बन्धित विधेयक, हवाई उडानसँग सम्बन्धित विधेयकलगायतका जनसरोकारका ४२ वटा विधेयक संसद्बाट जतिसक्दो छिटो पारित हुने वातावरण बनाउन पनि आग्रह गरेको जानकारी दिएका छन् ।
बैठकमा सहभागी राष्टिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले एमसीसी संसद्मा पेस गर्ने विषयमा जनमोर्चाबाहेक अन्य दलको असहमति नआएको जानकारी दिइन् ।
‘एमसीसी संसद्बाटै निक्र्योल गरौं भन्नेमा सत्तारूढ दलका सबै नेता सहमत हुनुभएको बैठकमा देखियो, हामी एमसीसीका विषयमा विपक्षमा नै छौं, अन्य दलको असहमति देखिएन, अब संसद्बाटै एमसीसीको निक्र्योल हुने अवस्था बन्यो,’ जनमोर्चाकी उपाध्यक्ष पौडेलले राजधानीसँग भनिन् ।
बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेलाई संसद् खोल्ने विषयमा जिम्मेवार बन्न आग्रह गर्ने निर्णय भएकोसमेत उनले जानकारी दिएकी हुन् ।
सभामुखले डाकेको सर्वदलीय बैठकमा नेकपा एमाले भने सहभागी भएन ।






