श्रीलंका टापु र टाँडीमा क्वारेन्टाइन
मोरङ, २९ फागुन । कोरोना भाइरस(कोभिड–१९ )को संक्रमण फैलन नदिन प्रदेश सरकारले सजगता अपनाएको छ । छिमेकी मुलुक चीनबाट शुरु भई विश्वका १ सय ९ मुलुकमा फैलिएको कोरोनाको सम्भावित संक्रमणलाई रोक्न प्रदेश सरकारले चासो देखाएको हो ।
प्रदेश सरकारले संक्रमण भित्रन नदिन र भित्रीहाले उपचारको प्रबन्ध गर्न गरेको तयारीका ’boutमा जानकारी दिएको छ।
योजनाबद्ध तयारी थालेको प्रदेश– १ सरकारले कोरोनाको रोकथाम, उपचार र प्रतिरक्षाका लागि एकीकृत कार्ययोजना तयार पारेको छ । बिहीबार सम्पन्न प्रदेश मन्त्रीपरिषद बैठकले कार्ययोजना पारित गर्दै तत्कालै लागू गरिने जनाएको छ । मुख्यमन्त्री शेरधन राईका अनुसार एकीकृत कार्ययोजनामा सही सूचना सम्प्रेषण देखि संक्रमितहरुको गोपनीयतासम्मका योजना छन् । प्रदेश सरकारकै अगुवाईमा २३ बुँदे योजना तत्काल कार्यान्वयन गरिने मुख्यमन्त्री राईले बताए ।
कार्ययोजनामा सरसफाईकोे सचेतना फैलाउनेदेखि अन्तर्राष्ट्रिय र प्रदेश नाकाहरुमा स्क्रिनिङ डेस्क स्थापना गर्ने, भद्रपुर, विराटनगर र लुक्ला विमानस्थलमा डेस्क स्थापना गर्ने, र आवश्यक जनशक्ति तथा उपकरणको प्रबन्ध गर्ने उल्लेख गरिएको छ ।
प्रदेश सरकारको कार्ययोजनामा हरेक नाकामा ९ र विमानस्थलमा ६ जनाको दरले स्वास्थ्यकर्मी परिचालन गरिने छ । औषधि, औजारहरुको स्टक र ढुवानीको प्रबन्ध गर्ने, कोशी, मेची, बीएण्डसी र धरानस्थित वीपी प्रतिष्ठानमा घटीमा ३० वटा आइसोलेसन बेड तयार पारिने सरकारको कार्ययोजनामा उल्लेख छ ।
स्वास्थ्यकर्मीको सुरक्षा, प्रोत्साहन भत्ताको व्यवस्था गर्ने, अत्यावश्यक वस्तुको अभाव र कालोबजारी रोक्ने, सुरक्षा निकाय पनि परिचालन गर्ने, योजनामा उल्लेख गरिएको छ । यस्तै प्रदेश सरकारले पहिलो चरणमा सुनसरीको श्रीलंका टापु र मोरङ टाँडीको सैनिक इलाकामा क्वारेन्टाइन स्थापना गर्ने भएको छ । आवश्यकता अनुशार अन्य क्षेत्रमा पनि क्वारेन्टाइन स्थापना हुनेछ ।






