नाकामा कोरोना जाँच्ने प्रविधि ‘लेजर थर्मामिटर’

वीरगन्ज । विश्वमा कोरोना भाइरस कोभिड १९ को आतंक फैलिरहेको समयमा नेपालको प्रमुख स्थलमार्गको रुपमा रहेको वीरगन्ज नाकामा भने स्तरीय चेकजाँचको व्यवस्था हुन सकेको छैन । वीरगन्ज महानगरपालिकाले व्यवस्थापनको जिम्मा हेर्ने गरी हेल्थ डेक्स राखिए पनि स्तरीय चेकजाँचको व्यवस्था हुन नसकेको हो ।

वीरगन्ज भन्सारको दक्षिणमा स्थापना भएको हेल्थ डेक्समा कोरोना भाइरस जाँच गर्ने लेजर थर्मामिटर, बीपी सेट र टर्च लाईट मात्र रहेको हेल्थ डेक्सका इन्चार्ज अहेव जहिर आलमले बताए । उनी लगायतका स्वास्थ्य कर्मचारी खुल्ला हात र आफैले किनेर लगाएको माक्समा भेटिए ।

विभिन्न ८ मुलुकका नागरिक नेपाल प्रवेशमा कडाई गरिएको समयमा स्थलमार्ग मध्येको व्यस्त नाका वीरगन्जमा भने ती देशका नागरिक वाहेक छिमेकी मुलुक भारतबाट आउने मानिसको लागि भने कुनै परिक्षण गर्ने व्यवस्था हुन सकेको छैन । भारतमा पनि कोरोना संक्रमणको पुष्टी भएको समयमा नाकामा भने नेपाल प्रवेश गर्ने भारतीय सवारी र ती सवारीमा आवागमन गर्ने मानिसलाई चेकजाँच गर्न अझै थालिएको छैन ।

यस्तो व्यस्त नाकामा सबैलाई चेकजाँच गर्न सम्भव नभएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताए । गृह मन्त्रालयले नाकामा निगरानी बढाउन दिएको पत्र हातमा बोकी उनी वीरगन्जको शंकराचार्य गेट नजिक रहेको हेल्थ डेक्स स्थापना भएको ठाउँमा भेटिंदा यस्तो बताए ।

नेपाल सरकारले आवागमनमा कडाई गरेका चीन, फ्रान्स, जापान, इरान, इटली, दक्षिण कोरिया, जर्मनी र स्पेनका नागरिक मध्ये फ्रान्सबाट आएका एक महिला र एक पुरुषलाई भने बिहिकार स्थल मार्गको बाटो प्रयोग गरी नेपाल प्रवेश गर्न रोकिएको छ । फ्रान्सका दुई नागरिकलाई भने फिर्ता पठाइएको पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद कार्कीले राजधानी सँग बताए ।

खुल्ला सीमा क्षेत्रमा खटेका सुरक्षाकर्मीले शंकाजनक देखेका मानिसलाई हेल्प डेक्समा पठाउने र त्यहाँको प्रारम्भिक चेकजाँचबाट पनि ती मानिसमा शंकाजनक अवस्था देखिए स्थानीय नीजि तथा नारायणी अस्पतालको आइसोलेसन वार्डमा पठाउने व्यवस्था भएको उनको भनाइ छ ।

खुल्ला सीमा रहेको पर्सामा हेल्प डेक्स नै राखेर नाका छेउमा चेकजाँच गर्ने व्यवस्था भने वीरगन्ज नाकामा मात्र गरिएको छ । जिल्लाका बाँकी छोटी भन्सार नाका वा अन्य ठाउँमा भने हेल्थ डेक्स नै खडा नगरे पनि शंकाजनक मानिसको आवागमन देखिए तुरुन्त सम्बन्धित ठाउँमा पठाउने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी कार्कीले बताए ।

स्थलमार्गका रुपमा रहेको मुख्य वीरगन्ज नाकामा हेल्पडेक्स राखी निगरानी बढाइएको वीरगन्ज महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकारी अरुण कुमार महतोले बताए । शुक्रबारबाट ६ जना कर्मचारीलाई २४ सै घण्टा नाकामा खटाउने तयारी भइरहेको छ उनले भने ।

हेल्थ डेक्स अनुगमनमा पुगेका स्वास्थ्य कार्यालय पर्साका प्रमुख कामेश्वर चौरसियाले स्वास्थ्यकर्मीलाई पनि आवश्यक पर्ने सामग्री उपलब्ध गराउने देखि अलि कडा निगरानी गर्नु आफूहरुको तर्फबाट पनि सहकार्य बढाइएको बताए । महानगरले व्यवस्थापनको पाटो अझै चुश्त पार्नु पर्ने देखिन्छ । बाँकी माथिको सर्कुलर र सहयोगलाई आफ्नो कार्यालयले पनि कडाइका साथ पालना गर्ने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 208 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीमा २ हजार ३२१ महिलाको पाठेघर परीक्षण