काठमाडौं । महाभूकम्प २०७२ बाट क्षति पुगेको पुनर्निर्माणका लागि विश्व बैंकले पुनः करिब २३ अर्ब सहयोग गरेको छ । निजी आवास पुनर्निर्माणमा ऋण सहयोग गर्दै आएको विश्व बैंकले बिहीबार २२ अर्ब ८० करोड रुपैयाँ सहयोग विस्तार गरेको हो ।
नेपाल सरकारका प्रतिनिधि र विश्व बैंकका पदाधिकारीबीच सम्झौतापत्रमा बिहीबार नै हस्ताक्षर भएको छ । मन्त्रिपरिषद्को गत सोमबार बसेको बैठकले भूकम्पीय आवास पुनर्निर्माण आयोजनका लागि विश्व बैंकबाट प्राप्त हुने अमेरिकी डलर २०० मिलियन अर्थात् नेपाली २२ अर्ब ८० करोड बराबरको थप ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको थियो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बिहीबार मात्र मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेका थिए । उनले निर्णय सार्वजनिक गर्नुअघि नै सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकका कन्ट्री म्यानेजर फारिस एच हाडाड–जर्भोसले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार उक्त रकम भूकम्प प्रभावित ३२ वटै जिल्लाका ८६ हजार ६ सय ८० निजी आवास लाभग्राहीलाई प्रदान गरिने अनुदानमा प्रयोग हुनेछ ।
सम्झौतापत्रमा हस्ताक्षरपछि सहसचिव नेपालले भूकम्पपछिको पुनस्र्थापना र पुनर्निर्माण प्रयासमा विश्व बैंकको यो सहयोग र निरन्तर सहायताका लागि नेपाल सरकारका तर्फबाट आभार प्रकट गरेका थिए । उनले विश्व बैंकको सहयोगले यसै आर्थिक वर्षभित्र निजी आवास पुनर्निर्माणको लक्ष्य पूरा गर्ने नेपाल सरकारको प्रतिबद्धतामा ठूलो टेवा पु¥याउने आशा व्यक्त गरेका थिए ।
विश्व बैंकले सन् २०१५ अगस्ट १४ मा पहिलोपटक २ सय मिलियन अमेरिकी ऋण डलर सहयोग दिएको थियो । त्यस्तै, १५ डिसेम्बर २०१७ मा थप ३ सय मिलियन अमेरिकी डलर ऋण सहयोग विस्तार गरेको थियो । विश्व बैंकले सन् २०१५ मा ५५ हजार घर र सन् २०१७ मा ९६ हजार घर पुनर्निर्माणमाका लागि सहायता रकम बढाएको थियो । विश्व बैंकका कन्ट्री म्यानेजर जर्भोसले भूकम्पबाट प्रभावित आफ्नो नागरिकको जीवनस्तर सुधार्ने नेपाल सरकारको प्रयासमा निरन्तर साथ दिन नेपालका विकास साझेदार समुदायसँगै रहेको बताए । भूकम्पपछिको नेपालको पुनस्र्थापना तथा पुनर्निर्माणमा भूकम्पीय आवासीय पुनर्निर्माण परियोजनाका बाँकी कार्यहरू सम्पन्न हुने उनले विश्वास व्यक्त गरेका थिए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मातहतमा सञ्चालित भूकम्पीय आवासीय पुनर्निर्माण परियोजनामार्फत विश्व बैंकको ऋण सहयोग परिचालन भइरहेको छ । परियोजनाअन्तर्गत सबैभन्दा बढी प्रभावित १४ जिल्लाका ६ लाख ८३ हजार ३ सय ६७ लाभग्राहीमध्ये ९९ प्रतिशतले पहिलो, ८२ प्रतिशतले दोस्रो र ७१ प्रतिशतले तेस्रो किस्ता प्राप्त गरिसकेका छन् ।
सरकारले भूकम्पबाट भत्किएका निजी आवास पुनर्निर्माणमा विभिन्न तीन चरणमा ३ लाख रुपैयाँ अनुदान दिँदै आएको छ । परियोजनाको दोस्रो चरणको कामका लागि नेपालले यो ऋण सहायता प्राप्त गरेको हो ।