लघुवित्तको जालमा ग्रामीण महिला

गुल्मी । गुल्मीदरबार गाउँपालिका–४ वीरवासकी अनिता पेमीले ६ वर्षअघि सूर्योदय लघुवित्त वित्तीय संस्थाबाट भैंसीपालनका लागि भन्दै ३ लाख रुपैयाँ ऋण लिइन् । ऋण लिएबापत उनले नियमित किस्ता पनि तिरिरहेकी थिइन् । तर, कोरोना कहरका कारण लकडाउन भएपछि उनी आर्थिक समस्यामा परिन् । फलतः उनले नियमित किस्ता बुझाउन सकिनन् । पछिल्लो पाँच महिनामा उनले २७ हजार रुपैयाँ बुझाएकी थिइन् । तर, आफ्नो हिसाब–किताब भने थाहा पाइनन् ।

पेमीले उन्नत्ति लघुवित्तबाट पनि डेढ वर्षअघि ३ लाख रुपैयाँ ऋण लिएकी थिइन् । १८ महिनामा साँवा र ब्याजसहित तिरेर सक्नुपर्ने भए पनि विगत पाँच महिनादेखि उनले किस्ता बुझाएकी छैनन् । भैंसीपालनका लागि लिएको ऋणको किस्ता तिर्न छोडेपछि अहिले कुनै हिसाब उनीसँग छैन ।

कर्मचारीद्वारा ऋणीलाई ज्यान मार्नेसम्मको धम्की

त्यस्तै, उनले चार वर्ष वर्षअघि तीन वर्षको समय राखेर स्पर्श लघुवित्तबाट डेढ लाख रुपैयाँ ऋण लिएकी थिइन् । ऋण लिएबापत उनले किस्तास्वरूप मासिक ५ हजार ५ सय बुझाउँथिन् । तर, लकडाउन भएदेखि उनले त्यसको पनि किस्ता बुझाउन सकेकी छैनन् । स्पर्शमा अझै १ लाख ३० हजार रुपैयाँ बुझाउन बाँकी रहेको पेमी बताउँछिन् ।

पेमीले झन्डै एक दर्जन संस्थाबाट ऋण लिएकी छन् । उनले देउराली लघुवित्तबाट ८० हजार, नेपाल एग्रोबाट १ लाख, जनसेवीबाट डेढ लाख, बलेटक्सारको नाडेकबाट ८० हजार र ग्लोबल लघुवित्तबाट ८० हजार रुपैयाँ ऋण लिएकी छन् । जसमध्ये नेपाल एग्रोमा ५५ हजार बुझाउन बाँकी छ भने नाडेकमा २८ हजार रुपैयाँ मात्रै बुझाएकी छन् । अन्यमा ऋण तिर्न नै बाँकी छ ।

यसरी हेर्दा पनि उनले विभिन्न आठ लघुवित्त संस्थाबाट १२ लाख ४० हजार रुपैयाँ ऋण लिएकी छन् । हिसाबकिताब नमिलेपछि ११ वर्षअघि आबद्ध भएको स्वावलम्बन लघुवित्त वित्तीय संस्थाबाट भने उनी अलग भएकी छन् । सबै संस्थाबाट भैंसी एवं बाख्रा पालनका लागि ऋण लिएकी उनीसँग हाल घरमा एउटा पनि भैंसी छैन । चारवटा बाख्रा भने छन् ।

पेमी मात्र होइन, अहिले जिल्लाका गाउँका धेरै महिला लघुवित्तको जालमा फसेका छन् । लघुवित्तले हचुवाका भरमा ऋण दिने तर महिलाहरूलाई उद्यमी नबनाउँदा समस्या बल्झिँदो छ । एउटा संस्थाको किस्ता बुझाउन अर्को संस्थाबाट ऋण लिँदा र लघुवित्तले बिनाअध्ययन ऋण वितरण गर्दा समस्या थपिएको छ ।

अहिले एक जना महिलाको १ लाखदेखि १५ लाख रुपैयाँसम्म ऋण छ । ऋण तिर्न नसक्दा संस्थाका कर्मचारीले गाउँमा आतंक मच्चाउन थालेका छन् । ‘सूर्योदय, ग्लोबल र उन्नत्तिका कर्मचारीले बढी नै थर्काए, रातिराति घरमा आएर धम्की दिन्छन्,’ पेमीले भनिन्, ‘लघुवित्तको ऋणले रातमा निद्रा र दिनमा भोक छैन ।’

छत्रकोट गाउँपालिका–५ खज्र्याङ मैनडाँडाकी सीता गोतामेले पनि लघुवित्तका कर्मचारी घरमै आएर धम्की दिने गरेको बताइन् । ‘लकडाउनले समयमै ऋण तिर्न नसके पनि तिर्ने कुरा गरेकी थिएँ,’ उनले भनिन्, ‘कर्मचारी घरमै आएर थर्काउँदा संस्थाप्रति वितृष्णा भएको छ ।’ संस्थाले कानुनी उपचार खोज्न सक्ने तर धम्याउन नपाउने उनको भनाइ छ ।

कर्मचारीद्वारा ज्यान मार्ने धम्की
गुल्मीदरबार गाउँपालिका–३ की वसन्ती खासुले पनि लघुवित्तका कर्मचारीले घरमै आएर गाली गरेको गुनासो गरिन् । ‘ऋण तिर्न नसके झुन्डिएर मर, नभए गाडीमा हालेर मार्छौं भन्नेजस्ता ज्यान मार्ने धम्की दिन्छन्,’ उनले भनिन्, ‘कर्मचारीको धम्कीपूर्ण व्यवहारले गर्दा मानसिक तनाव थपिएको छ ।’ उनले विभिन्न संस्थाबाट ६ लाख रुपैयाँ ऋण लिएकी छन् ।

सहारा खोज्दै ऋणी प्रहरीचौकीसम्म
कर्मचारीले बढी नै धम्काउन थालेपछि ऋणी न्याय माग्दै प्रहरी चौकी जान थालेका छन् । कर्मचारीहरूले घरमै पुगेर ऋणीमाथि हातपात गर्ने अवस्था सिर्जना भएपछि उनीहरू न्याय माग्दै प्रहरीचौकी पुगेका हुन् । ‘लघुवित्तका कर्मचारी रातको समयमा घरमै आएर ऋण तिर्न नसक्ने भए भिरबाट हाम फालेर मर भन्न थाले,’ गुल्मीदरबार गाउँपालिका –१ की लीला रेश्मीले रुँदै भनिन्, ‘त्यसपछि लगत्तै प्रहरीचौकीमा ज्यान जोगाउन पुग्यौं ।’

रेश्मीले आफ्नो घरमा पुरुष कोही नभएकाले झन् त्रास भएको बताइन् । उनले स्पर्श लघुवित्तबाट छिमेकीका लागि १ लाख २० हजार रुपैयाँ ऋण झिकिदिएकी थिइन् । उनले हालसम्म उन्नत्ति सूर्योदय, चारतारे, ग्लोबललगायतका लघुवित्तबाट ऋण लिएकी छन् ।

लघुवित्तविरुद्ध संघर्ष समिति
गाउँमा लघुवित्तका कर्मचारीले गरेको व्यवहारविरुद्ध ऋणीहरूले संघर्ष समिति नै गठन गरेर विरोध गरेका छन् । उनीहरूले कार्यालयअगाडि नाराजुलुस गर्नेदेखि प्रशासनको समेत ध्यानाकर्षण गराएका छन् । संघर्ष समितिका संयोजक मणिराम ज्ञवालीले लघुवित्तीय संस्थाहरूले ऋण दिए पनि उद्यमी बनाउन नसिकाउँदा समस्या आएको बताए । उनले ऋणीहरूको सबै ऋण मिनाहा गर्नेगरी संघर्षका कार्यक्रम अगाडि बढाएको उल्लेख गरे ।

ऋण छुट हुन सक्दैन: प्रमुख कार्यकारी अधिकृत
उन्नत्ति लघुवित्तका प्रमुख कार्यकारी अधिकृत प्रेमबहादुर पाठकले ऋणीको ऋण छुट गर्ने कुनै सम्भावना नरहेको प्रतिक्रिया दिए । ‘ऋण नै छुट गर्ने राज्यले छुट्टै नीति ल्याए एउटा कुरा हो,’ उनले भने, ‘हाम्रो तर्फबाट त्यस्तो कुनै योजना छैन ।’

कर्मचारी पुगेर धम्काउनु गलत भएको उनको भनाइ छ । उनले ऋणीको केही समस्या भए छलफलबाट समाधान गर्न सकिने तर संघर्ष समितिबाट ऋण छुट हुन नसक्ने बताए ।

गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्ड्य विक्रम पौडेलले घटना’bout प्रशासनले गम्भीर तरिकाले अध्ययन गरिरहेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 615 times, 1 visits today)

epaper

ताजा समाचार

काठमाडौंका ४८ र भरतपुरका ५ ठेक्का तोड्ने तयारी