शाह राजाहरूको पुर्खाझैं जंगबहादुरका पुर्खा पनि भारत चित्तौदगढबाट नेपाल प्रवेश गरेको विवरण इतिहासमा पाइन्छ । भारतमा केही वर्षअगाडि प्रदर्शन भएको ‘पद्मावती’ फिल्म कतिले हेरे होलान् ! फिल्मको कथावस्तुमा ‘फिल्मीकरण’ हुन सक्छ । तर, इतिहासमा १३०३ मा अलाउद्दिन खिलजीले रानी पद्मावतीलाई पाउनका लागि आक्रमण गरेका थिए । तर, रानी पद्मावतीले मुस्लिम शासकको पत्नी हुनुभन्दा अग्नीदाह गरेर मर्नु उचित ठानिन् । दरबारका सम्पूर्ण महिलालाई पनि अग्नीदाह गर्न प्रेरित गरिन् । युद्ध समाप्तिपछि खिलजीले चित्तौडगढमा केबल खरानीमात्र भेटे ।
जंगबहादुर कुँवर (राणा) १४५औं पुण्यतिथि
इतिहासमा लेखिएको भेटिन्छ, खिलजीको यही आक्रमणका कारण नेपालको राजपरिवारका पुर्खा विभिन्न ठाउँ हुँदै नेपालको पहाडी राज्यमा पुगेको देखिन्छ । त्यसरी नै तेस्रो ठूलो आक्रमण अकवरले पनि गरेका थिए । यो युद्धपछि धेरैको मृत्यु भयो, केही भागेर लुकिछिपी धेरै ठाउँ पुगे । राणाका पूर्वज भने अकबरको आक्रमणपछि लुकिछिपी नेपाल प्रवेश गरेका थिए भन्ने अनुमान गर्न सकिन्छ ।
चित्तौडगढका तत्ता राणाका भतिजा फकतसिंहका छोरा रामसिंह केही साथीको साथ निकै लामो यात्रापछि नेपालको पहाडी भूभागमा प्रवेश गरेका थिए । पहाडी राजाको आतिथ्यमा बसेका रामसिंहको आनीबानीबाट प्रभावित भई राजाले आफ्नो छोरीको विवाह रामसिंहसँग गरिदिए । बगाले क्षत्री राजाकी छोरीसँग विवाह गरेपछि ६ छोराको जन्म भयो । राजाले रामसिंहका छोराहरू जवान भएपछि कुँवर खड्काको उपाधि दिए ।
६ मध्ये एक राउत कुँवरलाई सेनापति बनाए । यिनै राउत कुँवरका छोरा अहिराम कुँवरलाई कास्कीका राजाले कास्कीमा बोलाई ससम्मान भारदारको पद दिए । साथै, पोखरा ढुंगेसाँघुको सिंगै गाउँ बिर्तामा दिए । अहिराम कुँवर परिवारसहित कास्कीमा बस्न थाले । अहिरामका दुई छोरा रामकृष्ण, जयकृष्ण र एक छोरी थिए ।

जंगेको उदय
बुढो राजाले एकदिन कलश थापेर अहिरामसँग कलिली छोरी विवाहका लागि मागे । अहिरामले अस्विकार गरेपछि राजासँग विवाद भयो । त्यसपछि सम्पूर्ण बिर्ता तथा जागिर त्यागेर अहिराम कास्कीबाट पलायन भए । दुई छोरा र छोरीलाई साथ लिइ अहिराम लमजुङ हुँदै गोरखा पुगे ।
गोरखाका राजा पृथ्वीनारायण शाहले रामकृष्ण कुँवरलाई सेनापति नियुक्त गरे । राज्य विस्तारक्रममा पूर्वविजय समाप्त भएपछि रामकृष्ण कुँवर प्युठान पठाइएका थिए । त्यहीँ उनको मृत्यु भयो । उनका १८ वर्षका छोरा रणजित कुँवरलाई जुम्लाको हाकिम बनाइयो, पछि काजीमा पदोन्नति गराइए । रणजितका तीन छोरामध्ये बालनरसिंह कुँवरलाई रणबहादुर शाहका हत्यारा शेरबहादुरलाई काटेकाले पुरस्कारस्वरूप काजी बनाइए । यिनै बालनरसिंहका कान्छी पत्नीबाट जन्मेका जेठा छोरा वीरनरसिंह कुँवर नै जंगबहादुर हुन् । नेपालको इतिहासमा चर्चित बलभद्र कुँवर भने जंगबहादुरका जिजुबाजे रामकृष्णका भाई जयकृष्णका नाति तथा चन्द्रवीर कुँवरका छोरा हुन् । यसर्थ, बलभद्र जंगबहादुरका काका पर्छन् ।
धेरै पढ्न नपाएका वीर नरसिंह
७ असार १८७४ बुधबारका दिन सैनिक परिवारमा जन्मेका वीरनरसिंहले धेरै पढ्न भने पाएनन् । तर, मुर्ख र रिसाहा थिए, उनका मामा माथवरसिंह थापा उनलाई ‘जंगे’ भनेर बोलाउँथे । पछि, उनी यही नामले नै प्रख्यात भए । २१ वैशाख १८८५ मा केबल ११ वर्षको उमेरमा जंगबहादुरको विवाह भयो । विवाहको केही समयमै बाबुका साथमा धनकुटा हुँदै डडेलधुरा पुगे । यहीक्रममा घोडा चढेर विभिन्न करतुत गर्न सिपालु हुँदै गए ।

‘भण्डारखाल’ पर्वपछि मामा भिमसेन थापाले सत्ता पाएको सुनेका जंगबहादुर पनि सत्ताको स्वाद चाख्न चाहन्थे । तर, विसं १८९४ मा भिमसेन थापाको पतन भएपछि पाण्डेहरूले थापामात्र होइन, जंग परिवारलाई पनि लखेटे । यसरी हरतरहबाट दुखित भएका जंगबहादुर जुवाको लतमा फसे । तर, चारैतिरबाट दुःखले घेरिएकालाई केहीले पनि साथ दिँदैन । जंगेलाई पनि त्यस्तै भयो । उनले जुवामा धेरै हारे तर तिर्ने रकम थिएन । यस्तैमा काठमाडौं अट्कोनारायणनजिकै बस्ने साहु धर्मनारायणले ११ सय सापट दिएकाले ऋण तिरे । बिरक्तिएर बनारस पुगेका उनले त्यहाँ पनि जागिर पाएनन् । फेरि, काठमाडौं फर्के, यता श्रीमतीको सुत्केरी व्यथाले मृत्यु भएको खबर पाए । साली विवाहका लागि माग्न गएका उनलाई ससुराले बचन लगाएर फर्काए । दुखी भएका उनले नन्दकुमारीसँग विवाह गरे । दाइजोमा ल्याएको पैसाले धनसुन्दरको ऋण तिरे । नन्दकुमारीसँगको विवाहपछि उनको भाग्य चम्कियो ।
कोतपर्वका ‘मास्टर माइन्ड’
सत्ताको लडाइँमा चौतरिया, थापा, बस्न्यात र पाण्डेको खेल भइरहेको थियो । रानी राज्यलक्ष्मी यो तमासाका प्रमुख थिइन् । रानीका प्रिय गगनसिंह खवासको अचानक ३१ भदौ १९०३ मा हत्या भयो । यो हत्याका ‘वास्तविक हत्यारा पत्ता लगाउने’ भन्दै जंगबहादुरले भाइभारदार तथा अन्य राजदरबारनिकट सबैलाई कोतमा निम्त्याए । राजाको समेत ‘अप्रिय’ बन्दै गरेका गगनसिंहको हत्यामा धेरै भाइभारदार खुसी नै थिए । केबल रानी राज्यलक्ष्मीमात्र दुखी थिइन् । उनकै मिलेमतोमा जंगबहादुरले कोतभित्र हत्या शृंखला नै चलाए । रातभरमा प्रधानमन्त्री फत्तेजंग शाह, अभिमानसिंह रानामगर, खड्गविक्रम शाह, वीरबहादुर शाह, दलबहादुर शाह, गोप्रसाद शाह, दलभञ्जन पाण्डे, रणजोर पाण्डे, रणगम्भीर पाण्डे, नरसिंह थापा, बखतवीर भण्डारी, वीरकेशर पाण्डे, कीर्तिध्वज पाण्डे, भवानीसिंह खत्री, समरबहादुर शाह, गणप्रकाश शाह, रससिंह, शत्रुभञ्जन शाही, युद्धरञ्जन शाही, अर्जुन थापा, मोहनवीर शाही, वीरबहादुर शाही, बद्रीवान शाहीको छोरा, कुम्वेदान गैंडा मल्ल, दण्डकेशर, जोगराज, विष्णुभक्त, कालु खवास, इन्द्रवीर राउतसहित ४० भन्दा बढीको हत्या भएको भनिन्छ । यसरी सत्तामा पुगेका जंगबहादुर पूर्णरूपमा सर्वेसर्वा भए । राजकाजमा शक्तिशाली बनेका जंगबहादुर २ असोजमा राजा राजेन्द्र शाहबाट लालमोहर पाइ मुख्तियार बने भने १८ साउन १९१३ बाट भने कास्की र लमजुङका श्री ३ महाराज बनेका थिए ।

नेपालको प्रधानमन्त्री बनेका जंगबहादुरले ४ माघ १९०६ मा काठमाडौंबाट बेलायत यात्राका लागि निस्केका थिए । १२ सय सैनिकका साथ भाइभारदार, कर्मचारी, चित्रकार, भान्से, पण्डित सबैलाई भारतसम्म साथमा लगेका थिए, जंगबहादुरले । यो टोली २ फागुनमा ढाका र २४ फागुनमा कलकत्ता पुगेपछि केही दिन त्यहीँ घुम्नका लागि रोकिए । जगन्नाथ पुरीमा जंगबहादुरले ५ हजार रूपैयाँ मन्दिरलाई दान गरेका थिए । आजको रकममा परिवर्तन गर्ने हो भने यो करोडौं हुन आउँछ । २७ चैतमा बेलायतका लागि पानीजहाजमा यात्रा आरम्भ भयो ।
५ हजार पाउण्ड रकममा भाडामा लिएको ए ७ इ कम्पनीको Haddington Steamer मा जंगबहादुरको यात्रा आरम्भसँगै १२ सय सैनिक बिदाइक्रममा धेरै समयसम्म रुदै समुन्द्र हेर्दै बसेका थिए । उनीहरूको सोचाइमा समुन्द्री यात्रा डर लाग्दो हुन्छ, तसर्थ ‘महाराजा अब कहिल्यै फर्केर आउने छैनन्’ भन्ने चिन्ता थियो । मद्रास, सिलोन (श्रीलंका), एडेन (यमन), स्वेज (इजिप्ट), काइरो (इजिप्ट), एलेक्जेन्ड्रिया, जिब्राल्टर हुँदै १४ जेठ १९०७ मा बेलायतको दक्षिण क्यगतजबmउतयल ज्बचदयगच मा करिब साढे चार महिनापछि बल्ल पुग्न सफल भए ।
बेलायत पुग्ने पहिलो नेपाली थिएनन्, जंगे !
सबैको मान्यताअनुसार जंगबहादुर युरोप पुग्ने पहिलो नेपाली थिए । तर, जंगबहादुर लन्डन पुगेको दुई दिनमै सडकमा घुम्दै गर्दा अचानक कुचो लगाएर माग्दै गरेको नेपालीमाथि जंगबहादुरको नजर प-यो । ती नेपालीलाई बोलाएर उनले सबै कुरा सोधे । त्यसपछि ‘कहिले, कसरी बेलायत पुगेको ?’ सविस्तार वर्णन गरे ।
उनको नाम ‘मोतीलाल सिंह’ थियो । १९ वर्षको उमेरमा अंग्रेज–नेपाल युद्धमा घाइते भएका भक्तपुरका उनलाई अंग्रेज सेनाले कब्जामा लिएका थिए । उनको बहादुरीबाट खुसी भएका अंग्रेज सैनिक अधिकारीले उनलाई विसं १८७१ मा गठन भएको 1st Gurkha Rifle मा सैनिकका रूपमा भर्ति गराइदिए । अंग्रेजी बोल्न सिकेका उनको कलकत्तामा विवाह गरेर बालबच्चा पनि भयो । यसरी खुसीसाथ बसेको उसलाई एकदिन एक ब्रिटिस क्याप्टेनले बेलायत जाने सपना देखाए । उनी क्याप्टेनका साथ विसं १९०० तिर लन्डन पुगेका थिए । केही दिनमा भएको पैसा पनि चोरी भयो र लन्डनको सडकमा बेवारिस भए । मागेर खाने र सैन्ट पल चर्चमा बस्ने तथा कुचो लगाउने काम गर्न थाले ।

अचानक १६ जेठ १९०७ मा आफ्नो नजर परेपछि जंगबहादुरले उनलाई दुःखद परिस्थितिबाट मात्र मुक्त गरेनन् । आफ्नो यात्राभर ‘दोभाषे’का रूपमा साथ राखे । आफू जहाँजहाँ गए, सबै ठाउँमा सम्मानसाथ उनलाई लिएर गए । मोतीलाल सिंहले जंगबहादुरलाई बेलायतको महत्वपूर्ण ठाउँमात्र घुमाएनन् । त्यहाँको सविस्तार वर्णन पनि गरे ।
जंगबहादुरका साथ मोतीलाल पेरिस पनि पुगे तर जंगबहादुर नेपाल फर्कंदा उनी नेपाल फर्कन मानेनन् ।
प्रधानमन्त्री बनेका जंगे १५ जेठ १९०७ मा लन्डन र ७ भदौमा पेरिस पुगेका थिए । त्यहाँ उनले नेपोलियन बोनापार्टका भतिजा लुइस नेपोलियन बोनापार्टसँग भेट गरे । जंगबहादुर स्वदेश फर्कंदा युरोपको काइदा कानुनका साथ त्यहाँका ठूलाठूला महलका सिर्जना पनि हेरेर आए । यसर्थ, नेपालमा ठूलाठूला दरबार बनाउन लगाए ।
विसं १९१० मा जंगबहादुरले पहिलोपटक नेपालको जनगणना लिएका थिए । ऐतिहासिक दस्तावेज निकै नौलो थियो । तर पछि बुझ्दै जाँदा जंगेले भोट युद्धका लागि युवा संख्या लिने उद्देश्यले जनगणना लिइएको रहेछ । उनले विसं १९११ मा नेपालको पहिलो ऐन बनाए । कानुनी रूपले यी ऐनको त्यति महत्व नहोला तर उनको प्रयास सम्झनायोग्य छ ।
१९ साउन १९१३ देखि १६ असार १९१४ सम्म करिब १ वर्ष भाइहरूलाई अख्तियारी दिए । पछि, ‘पञ्जा’ छापसहित श्री ३ पाएपछि आफैं सत्तामा फर्किए । २६ चैत १९२५ मा अट्कोनारायणमा ठूलो आगलागी भयो । साहु धर्मनारायणको घर जलेर ध्वस्त भयो । १३ महिनासम्म आगलागी भइरह्यो । जंगेले साहु धर्मनारायणलाई लाखौं सहयोग गरे । घर बनाउन र पछि भोटको व्यापार गर्न पनि सघाए । जंगबहादुरले आफ्नै शासनकालमा विसं १९२६ सालबाट नेपालको नक्सा बनाउन सुरु गरेका थिए । जुन विसं १९३२ मा पूरा भएको थियो ।
सिकारमा निस्किएका जंगे आफैं सिकार ?
२५ फेब्रवरी १८७७ अर्थात् १६ फागुन १९३३ आइतबार द्वादशी शुक्ल पक्षको दिन जंगबहादुरको पत्थरघट्टामा बाग्मती किनारमा मृत्यु भयो । तीन महिनादेखि सिकारमा निस्किएका उनको मृत्यु इतिहासमा विभिन्न कोणले लेखिएको छ । कसैकसैको भनाइमा ‘उनको मृत्यु २१ वर्षे तामाङ केटोको खुकुरी प्रहारबाट भएको थियो’ पनि भनिन्छ । केटोले आफ्नो श्रीमतीलाई जंगबहादुरको साथ देखेपछि आवेशमा हानेको खुकुरीको चोटले नै चार दिनपछि उनको मृत्यु भएको थियो भन्ने गरिन्छ । तर, यो इतिहासको उल्लेख खासै गरेको भेटिँदैन । कारण, उनको वीरताको कथा राणाकालभर सुनाइरहँदा मृत्युपछाडिको वास्तविकता अरुकी श्रीमति वा छोरीसँग गरिने रसरंगको चर्चाले उनको चरित्रमा औला ठड्याउन सकिन्छ भनेर पनि वास्तविकता लुकाएको हुनसक्छ ! खैर, तराई पत्थरघट्टामा मृत्युपछि उनको शव चार दिनसम्म तेलमा डुबाएर राखिएको थियो । मृत्युको चौथो दिन दाहसंस्कार भयो । १६ फागुन १९३३ आइतबार पत्थरघट्टामा जंगबहादुरको निधन भएपछि १९ फागुन बुधबार अन्त्येष्टि गरिँदा उनका साथ तीना महारानी पुतली, मैयाँ र मिश्री सती गएका थिए ।






