ब्याटिङमा चुक्दा लज्जास्पद हार

काठमाडौं । बलिङमा उत्कृष्ट प्रदर्शन गरे पनि खराब ब्याटिङपछि नेपालले आईसीसी विश्वकप लिग–२ मा घरेलु टोली यूएईसँग लज्जास्पद हार बेहोरेको छ । मध्यम लक्ष्य पछ्याएको नेपाल शुक्रबार यूएईसँग ४८ रनले पराजित भएको हो ।

१ सय ६९ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल ३५ ओभर १ बलमा १ सय २० रनमा अल आउट भयो । नेपालका लागि रोहितकुमार पौडेलले ६० बलमा ४ चौकासहित सर्वाधिक ४६ रन बनाए पनि टोलीलाई जिताउन सकेन । अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । पाँचौं ओभरको पहिलो बलमा कुशल भुर्तेल ११ रनमा बोल्ड भए ।

सोही ओभरमा सेख एज लागेर मिड अनमा ७ रनमा क्याच आउट भए । नवौं ओभरमा दीपेन्द्रसिंह ऐरी ४ रनमा रन आउट भए । ज्ञानेन्द्र मल्ल २८ रनमा पेभेलियन फर्किए । ज्ञानेन्द्र र रोहितले चौथो विकेटका लागि ५५ रनको साझेदारी गर्दै नेपाललाई जितको आशा देखाए पनि त्यसपछि ब्याटर नतात्दा पराजित हुन पुग्यो । २४औं ओभरमा आरिफ शेख शून्यमा आउट हुँदा नेपाल ८५–५ थियो ।

सोमपाल कामी ६ र कमलसिंह ऐरी शून्यमा आउट भए । यूएईका बासिल हामिदले ५ ओभरमा १ मेडनसहित १५ रन खर्चेर ४ विकेट लिए । जुनैद सिद्दिकले ७ दशमलव १ ओभरमा १ मेडनसहित १८ रन खर्चेर ३ विकेट लिए । जहुर खान र रोहन मुस्तफाले १–१ विकेट लिए । त्यसअघि दुबई इन्टरनेसल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको यूएई ४६ ओभर ३ बलमा १ सय ६८ रनमा अल आउट भएको थियो । रोहन मुस्तफाले सर्वाधिक ४० रनको योगदान दिए । सीपी रिजवानले ४० रन बटुले । अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

एक समय ३५–४ को खराब सुरुवात गरेको यूएईलाई पाँचौं विकेटका लागि मुस्तफा र रिजवानले ७७ रनको महत्वपूर्ण साझेदारी गर्दै इनिंस उकासेका थिए । चौथो ओभरमा ओपनर चिराग सुरी ६ रनमा आउट भए । १९ वर्षीय विकेटकिपर वृत्य अरविन्द यस खेलमा भने चल्न सकेनन् । लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका उनलाई सोमपालले आसिफबाट ३ रनमा क्याच आउट गराउँदै नेपाललाई प्रमुख सफलता दिलाए । १०औं ओभरमा मोहम्मद वासिमलाई २१ रनमा आउट भए ।

आसिफ खान २ रनमा आउट भएपछि यूएई १० दशमलव ३ ओभरमा ३५–४ को अवस्थामा पुगेको थियो । बासिल हामिदले १४ रन जोडे । सोमपाल कामीले ९ ओभरमा ३९ रन खर्चेर ४ विकेट लिए । करण केसीले ७ दशमलव ३ ओभरमा १ मेडनसहित १६ रन खर्चेर ३ विकेट लिए । सन्दीपले १० ओभरमा १ मेडनसहित ३० रन खर्चेर १ विकेट लिए ।

दीपेन्द्रले १० ओभरमा ४२ रन खर्चेर १ विकेट लिए । सागर ढकालले ४ ओभरमा १३ रन खर्चेर १ विकेट लिए । नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई २ विकेटले हराएको थियो । सोमबार यूएईसँग नै खेल्नेछ । यूएई १६ खेलमा ९ मा जित र ५ मा हारसहित २० अंकका साथ दोस्रो स्थानमा छ । नेपाल १० खेलमा ५ मा जित र ५ मा हारसहित १० अंकका साथ छैटौं स्थानमा छ ।

तपाइको प्रतिक्रिया
(Visited 386 times, 1 visits today)

epaper

ताजा समाचार

जे–जे भए, ‘इन्जुरी टाइम’ मै भए