डेलिभरीबिनाको राजनीति अर्थहीन

अहिले राजनीति गर्ने नेतागण सत्ता आरोहण गर्ने यात्राको तँछाडमछाडको प्रतिस्पर्धामा छन् । विशेषगरी कम्युनिस्ट घटकमा निषेधको राजनीति व्याप्त छ । राजनीतिक गफमा जीवन बिताएका अग्रज पुस्ताको कार्यशैली हेर्दा आमजनता वाक्कदिक्क भइसकेको अवस्था छ । विकास, सुशासन र समृद्घ यिनीहरूको प्राथमिकतामा पर्दैन अनि कार्यशैलीमा पनि देखिँदैन । जनताको हितमा सरकारी संयन्त्रले काम गर्न नसकेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तथ्यांकले बताएका छन् । अर्बौं रुपैयाँ जनताको करको पैसा निर्वाचनमा खर्च हुने गरेको छ । हरेक निर्वाचनबाट बन्ने सरकारले डेलिभरी दिन सकेको छैन । यस्तो अर्थहीन राजनीतिले देश बर्बाद भइरहेको छ । जनतामा निराशा छाएको छ । यति हुँदाहुँदै पनि जनताले तीन दशकदेखि यिनै असफल नेतालाई लामबद्घ भएर भोट पनि दिई नै रहेका छन् ।

अहिले देश राजनीतिको बुझेका, देश दुनियाँ घुमेका, देखेका, बुझेका सचेतवर्गले यो राजनीतिक नेतृत्वबाट देश बन्न नै नसक्ने ठोकुवा गरेको सुनिन्छ । अखवारमा समाचार पढ्न पाइन्छ । निर्वाचनको बेला विज्ञबाट घोषणापत्र तयार पार्न लगाउने, जनतालाई शब्दजालमा पार्ने र बारम्बार सत्तामा पुगेर गनगन गर्नेबाहेक हालसम्मको नेतृत्वले प्रभावकारी काम गरेको देखिँदैन । नेताको कार्यशैलीका कारण नेपाली समाजमा जहिले पनि सरकारको आलोचना गर्ने संस्कृति नै बसी सक्यो । सामाजिक सञ्जाल, इलेक्टोनिक्स मिडिया, लेख, रचना, बहस, अन्तरक्रिया सम्पादकीयलगायतका क्षेत्रले खबरदारी गरी नै रहेको अवस्था छ । तथापि नेतृत्वको सोचमा परिवर्तन भएको छैन । यसो हुनुका पछाडि या त यिनी कमजोर, भिजनलेस नेतृत्व हुन् या त भूपी शेरचनले कवितामा भनेजस्तो घुम्ने मेचमाथिका अन्धो मान्छेहरू हुन् सधंै लडखडाइरहने । होइन, भने सरकारले गरेका कामले जनताको जीवनशैली किन सहज हुन सकेन ? देश किन सुशासन र विधिको शासनमा चल्न सकेन ? राज्यले सरकारी सेवाहरू चुस्त, दुरूस्त, पारदर्शी र सर्बिस डेलीभरीमा सक्षम गराउन किन सकेन ?

नेपालका नेताको योग्यता भनेको जेलमा बसेको, उमेरको वरीयता मिलेको, भए पुग्छ । यसैगरी यिनीहरूका क्षमता आफन्तजन पोस्ने, अयोग्यलाई राजनीतिक नियुक्ति गर्ने, योग्यलाई पाखा लगाउने, सरकारी सम्पत्तिको दुरुपयोग गर्ने, अध्ययन, अनुसन्धान नगर्ने, आलोचना नसहने, नागरिकका कुरा नसुन्ने, जनताका दुःख नदेख्ने, नबुभ्mने, विदेशीको चाकडी गर्ने, चाटुककारको वरिपरि रमाउने, झोलेहरू तयार गर्ने, आपसी गालीगलौजमा समय खर्च गर्ने, विज्ञ विशेषज्ञको वास्ता नगर्ने विपक्षीको उछितो काड्ने, शिक्षामा राजनीति गर्ने, स्वास्थ्यमा व्यापार गर्ने जस्ता गुण भए सधैं वरिष्ठ नेता भइनेरहेछ ।

राजनीतिक गफमा जीवन बिताएका अग्रज पुस्ताको कार्यशैली हेर्दा आमजनता वाक्कदिक्क भइसकेको अवस्था छ

हाम्रो देशमा राजनीतिक दुष्कर्मकै कारण नेपालीले दुःख पाइरहेका छन् । दोस्रो जनआन्दोलन २०६२÷६३ पछाडिको समयलाई मात्र मूल्यांकन गर्ने हो भने राजनीतिक दलको असक्षमता र अदूदर्शीताले पराकाष्ठ नाघेको देखिन्छ । यो अवधिमा पहिलो र दोस्रो संविधान सभाको निर्वाचनमा खर्बौं खर्च गरियो । संविधान सभामा संलग्न ६०१ को खर्चको हिसाब किताब नै छैन । नेपालको संविधान २०७२ को निर्माण पछाडि भएका निर्वाचनमा खर्बाैं खर्च भएको छ । तर, निर्वाचित जनप्रतिनिधि आलोचित बन्दै गएका छन् । केन्द्रदेखि स्थानीय तहसम्म खै त सर्बिस डेलिभरी ? विकास ? सुशासन ? जनताको चुलोचौकोमा लोकतन्त्रको अनुभूति ? एक, दुई, तीन केही छ ? छैन । अनि यी राजनीतिक दल र यिनका नेतृत्वकर्तालाई लोकलाज हुनुपर्ने होइन ? राजनीतिका लागि ? लोकतन्त्र केका लागि ? देश विकास र जनजीवनमा सहजताका लागि होइन ? देशले आर्थिक भार थाम्न नै नसक्नेगरी प्रान्तीय सरकार बनाएका छन् । यो अनावश्यक सरचनासँग जोडिएको खर्च मात्र कृषि उत्पादनमा लगाएको भए देश खाद्यान्नमा आत्मनिर्भर हुने थियो । भ्रष्टाचार र कमिसनमा कुम्ल्याउने रकमले औद्योगीकरण गर्ने हो भने रोजगारी सिर्जना हुने थियो । देशको आर्थिकस्तर अगाडि बढ्ने थियो । यिनीहरूमा गरिब देशका धनी मान्छे बन्नुभन्दा देशलाई धनी बनाएर आपूm पनि धनी हुने भिजन किन आउन सकेन ? धत्तेरी ! नेपालका नेता !

विकासको आधारशीला सुशासन र भ्रष्टाचारको अन्त्य गर्ने कुरामा नेताको चासो नै छैन । बरू यिनीहरूले देशमा कुशासन र व्यापक भ्रष्टाचार छ, भन्दै हिडेको देखिन्छ । अमुक नेताले यति भ्रष्टाचार ग¥यो भन्ने भाषण सुनाउँदै हिंड्छन् यिनीहरू । आफंै अगुवा, आफंै ठगुवा भएका छन् । यिनीहरूले अबको चुनावमा सत्तामा जान पाइन्छ भने जसले जससँग पनि चुनावी गठबन्धन गरेर सत्तामा पुग्ने रणनीतिमा छन् । न त यिनीहरूमा राजनीतिक सिद्धान्त, निष्ठा एवं गन्तव्य छ । न त राजनीतिक संस्कार नै । देशको आर्थिक दोहनमा अभ्यस्त यिनीहरूले विदेशी बैंकमा अर्बाैं रुपियाँको जम्मा गरेका समाचार गरिब जनताले पढ्नुपरेको छ । सुन्नुपरेको छ । यिनीले मेघा प्रोजेक्टहरूमा कमिसन, बालुवाटारलगायतका सरकारी जग्गामा गिद्घे नजर, वाइड वडी, न्यारोवडी, सुनकाण्डमा संलग्नता, अपराधीलाई पद वितरण, औषधी खरिदमा भ्रष्टाचार आदि इत्यादि समाचार बारम्बार आउने गरेका छन् । राजनीतिलाई दुहुनो गाई बनाएका यिनीहरू अब फेरि गरीबी, अशिक्षा र बेरोजगारीले सताएका जनतालाई हजुर भोट दिनुस् भन्दै हिड्नेछन् । साथमा रहेका हस कुमारलाई जनताका माग डायरीमा लेखाउने नाटक गर्ने छन् । देश बनाउने आप्mनो दल र आपूm नै भएको दाबी गर्नेछन् । जनताले बुभ्mलान् त यिनीहरूको नौटंकी ? नबुझेकाले बुभ्mने कहिले ? बुझेकाले सहने कसरी ?

प्रशासनलाई अनुशासित एवं सेवामुखी बनाउन असफल नेतासँग सरकारी सेवा र विकासको डेलिभरी दिने रंगढंग छैन

गरिब जनताले तिरेको करमा भोज, भतेर, विदेश उपचार, गाडी, हेलिप्याड आदि इत्यादीको सुविधा यिनीहरूलाई नै उपलब्ध छ । पदमा बहाल नभएको समयमा पनि राज्यको सुविधामा डकार्ने यिनीहरूले मलेसियाका मोहम्मद महाथीर, चीनका सि जिङ पिङ, अफ्रिकाका नेल्सन मण्डेला, सिंगापुरका लिक्वान यु, भारतका महात्मा गान्धीलगायतका नेता’bout पढेर उनीहरूका अलिकति भए पनि असल गुणलाई सिको गर्न सकेको भए देशले विकासको गति लिइसकेको हुने थियो । तर, यिनीहरूले विहारका भूतपूर्व राज्यमन्त्री लालु यादवको सिको गरे ।

अहिले हाम्रा देशमा सर्वहारा राजनीतिक दलका नेता अकत सम्पत्तिका मालिक भएको सामाजिक आलोचना छ । यी सर्वहाराका काठमाडांैमा सुविधा सम्पन्न घर, चिल्ला गाडी र वरिपरि सेवक हाजिर छन् । हाम्रो देशमा राजनीति गर्न न त शिक्षाको डिग्री चाहिन्छ न त कुनै विशिष्ट योग्यता नै । भन सुन, चिनजान, चाकडी, समूहगत अवसर, चर्को भाषण वा अन्तरदलीय तीव्र आलोचनाको पात्र आदि इत्यादिलाई आधार बनाएर केही महिने मन्त्री पद पड्काउने पात्रहरू धेरै छन् । यिनीहरूले आपूmलाई बेग्लै धातुका मान्छे भन्ठान्छन् । जनताका आवाज सुन्दैनन् । यिनीहरूको ध्यान कसरी राजनीतिक फाइदा लिन सकिन्छ भन्नेमा केन्द्रित छ । निर्वाचननजिक आएपछि मतदाताको मन जित्न छेपारे प्रवृत्ति देखाउँछन् । निर्वाचनमा गरिब, अपठित वा विपन्न अवस्थाबाट जीवन बिताउन बाध्य भएका किसान, मजदुर वा सर्वसाधरणलाई नमस्ते गर्दै भोटको याचना गर्दछन् । आपूm अत्यन्त योग्य भएको दाबी गर्दछन् । केही हवस् बोल्न र हात मोल्न खप्पिस झण्डालाई वरिपरि राखेर आपूmलाई जनताले सम्मान गरेको दाबी पनि गरेको सुनिन्छ । यस अर्थमा हेर्दा यिनीहरूले लाटा देशका गाडा तन्नेरीको भूमिकामा पट्टयार लाग्दो राजनीति गरिरहेका छन् ।

तीन दसकदेखि करिब एक दर्जन नेताको स्वार्थको भमुरीमा सिंगो मुलुक बन्धक भइरहेको छ । न त यिनीहरूमा शिक्षाको क्षेत्रमा सुधार गर्ने वैज्ञानिक अवधारणा छ । न त स्वास्थ्य सेवाको । न त यिनीहरूको सत्ता कृषि क्षेत्रसँग जोडिएको छ । प्रशासनलाई अनुशासित एवं सेवामुखी बनाउन असफल यिनीसँग सरकारी सेवा र विकासको डेलिभरी दिने रंग र ढंग नै छैन । यस सन्दर्भमा मतदाताले आगामी निर्वाचनमा इमानदार, सक्षम र डेलिभरी दिनसक्ने जनप्रतिनिधि छनोट गर्न नचुकांै । असल नागरिकको भूमिका निर्वाह गरौं ।

तपाइको प्रतिक्रिया
(Visited 401 times, 1 visits today)

epaper

ताजा समाचार

देउवा समूहको राष्ट्रिय भेला आज समापन हुँदै