पेरिस। विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण शुक्रबारसम्म एक लाख ३९ हजार ६६८ जनामा भएको छ । यसबाट पाँच हजार १२२ जनाको मृत्यु भएको छ ।
कुल संक्रमितमध्ये ७० हजार ७३३ जनाको सफल उपचारपछि घर फर्किएका स्वास्थ्य अधिकारीले जनाएका छन् ।
चीनको हुवेई प्रान्तको वुहान सहरबाट सुरु भएको कोरोना भाइरस सक्रमणबाट चीनमा सबभन्दा बढी मृतक र संक्रमितको संख्या रहेको छ । यद्यपि चीनमा हाल यस भाइरसको संक्रमण कम भएको समाचारमा जनाइएको छ ।
गत डिसेम्बरको अन्त्यबाट सुरु भएको यस भाइरस संक्रमणबाट चीनमा तीन हजार १२७ मृत्यु भएको छ भने ८१ हजारमा संक्रमण भएको छ । रोग फैलिएका देशबाट विवरण सार्वजनिक हुने क्रम जारी छ । हालसमम १२० भन्दा बढी देशमा कोरोना भाइरसको संक्रमण फैलिएको बताइएको छ । अमेरिकामा यस को सङ्क्रमणबाट ४१ को मृत्यु भएको छ । फ्रान्समा ६१ को मृत्यु भएको छ । जापानमा १९ को मृत्यु भएको छ ।
पछिल्लो समय संक्रमण धेरै फैलिएको इटालीमा संक्रमितको संख्या १५ हजार ११३ पुगेको छ । इटालीमा हालसम्म एक हजार १६ जनाको मृत्यु भएको छ ।
इरानमा संक्रमितको संख्या १० हजार ७५ पुगेको छ । हालसम्म ४२९ जनाको मृत्यु भएको छ भने तीन हजार २७६ जना उपचार गराएर घर फर्किएका छन् ।
यसैगरी स्पेनमा संक्रमित हुनेको संख्या झन्डै तीन हजार पुगेको छ भने ८६ जनाको मृत्यु भएको छ । पोल्यान्ड र अल्जेरियामा पहिलो एक–एकजनाको मृत्यु भएको छ । पोल्याडमा ५७ वर्षीया शिक्षिकाको मृत्यु भएको जनाइएको छ । पोल्याडका स्वास्थ्य अधिकारीकाका अनुसार देशभरमा कुल संक्रमितको संख्या ४६ पुगेको छ । अल्जेरियामा भने दुई दर्जन बिरामी भएका छन् ।
पाकिस्तानमा कोरोना भाइसबाट संक्रमितको संख्या २१ पुगेको छ । कुल १९ बाट बढेर बिहीबार २१ पुगेको हो । त्यहाँ इरानबाट आएका करिब चार हजार जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
कोरोनाकै कारण भारतको जम्मु र काश्मीर क्षेत्रका विद्यालय बन्द गरिएको छ । यही मार्च ३१ सम्मका लागि विद्यालय बन्दको घोषणा गरिएको हो ।
भारतका अन्य केही प्रदेशमा पनि विद्यालय बन्द गरिएको छ । सिंगापुर र मलेसियामा बिहीबार थप व्यक्तिमा संक्रमण पुष्टि भएसँगै यहाँ कोरोना भाइरसको संक्रमणबाट बिरामी हुनेको संख्या क्रमशः १८७ र १५८ पुगेको दुवै देशका अधिकारीले बताएका छन् ।






