सिरहा । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेको संविधान आवश्यकता र आकांक्षाको आधारमा संशोधन र परिमार्जन गरिने भएकोले जायज मागहरूलाई थप घट गर्न सकिने बताएका छन् । बिहीबार सिरहाको सखुवानान्कारकट्टी गाउँपालिकाले आयोजना गरेको दोस्रो झन्डा महोत्सवको उद्घाटन गर्दै अध्यक्ष दाहालले सार्वभौमसत्तालाई खलल पुग्नेबाहेकका उत्पीडित समुदायहरूको जायज मागलाई संशोधन गरेर भए पनि पूरा गर्ने प्रतिबद्धता जनाएका हुन् ।
अध्यक्ष प्रचण्डले चुरे क्षेत्रलाई प्रभावकारी ढंगले जोगाउन नसकिए खण्डमा तराई मरुभूमीकरण बढ्ने खतरा देखिएकोले चुरे संरक्षण र प्रदेश २ मै देखिएको सिँचाइको समस्या समाधानको लागि सुनकोसी कमला डाइभर्सन, सुनकोसी मरिन डाइभर्सनबाट सिँचाइ सेवा पु¥याउन सरकारले बढाएको कामलाई छिटोभन्दा छिटो सम्पन्न गर्न आफूले सहयोग हुने बताए । पूर्वाधार विकासको लागि आफू लागिपरेको बताउँदै आफूले उद्घाटन गरेको तराई मधेसको लाइफलाइन रहेको हुलाकी सडक निर्माण हुने क्रम तीव्र रूपमा भइरहेकाले हुलाकी सडकले यस क्षेत्रमा जनतामा नयाँ आर्थिक गतिविधि बढ्नुको साथै नयाँ समृद्धि आई खुसीयाली बढ्ने उनको भनाइ छ ।
कार्यक्रममा पूर्वमन्त्री मातृकाप्रसाद यादवले मधेसी दलतर्फ इंगित गर्दै मधेसी नेताहरूले आफ्नो पदीय मर्यादालाई बिर्सदै पद र पैसामा रुमलिएको बताउँदै अधिकारको लागि सबै मधेसीहरू एक जुट हुनुपर्ने बताए । मधेसी मात्र नभएर पहाडी मूलका पनि उत्पीडनमा परेकाले सबै उत्पीडित मधेसी र पहाडीसमेत एक भए मात्र अधिकार पाउने उनको दाबी थियो । कार्यक्रम पूर्वमन्त्री, संघीय सांसद, प्रदेश सांसद, नगरपालिका नगर प्रमुख तथा गाउँपालिका अध्यक्ष लगायत नेकपाका वरिष्ठ नेताहरूको उपस्थिति रहेको थियो ।
पर्यटन वर्ष २०२० लाई लक्षित गरी कला संस्कृति हाम्रो स्वाभिमान, समृद्ध सखुवानान्कारकट्टी हाम्रो पहिचान नारा बोकी आयोजित झन्डा महोत्सव १० दिनसम्म चल्नेछ । १० दिनसम्म विभिन्न सांस्कृतिक, मनोरञ्जनात्मक, कलात्मकलगायतका कार्यक्रम हुनेछन् । महोत्सवमा विभिन्न सांस्कृतिक, कृषि, यान्त्रिक, खाद्यवस्तुलगायतका करिब १ सय स्टलहरूसमेत राखिएका छन् ।