सप्तरी । छोरो अपहरण भयो भनी झुठो उजुरी दिने बाबुलाई प्रहरीले शनिबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाढा बस्ने ३६ वर्षिय जासर मियाँ छन् ।
उनले शुक्रबार बिहान २ः३० बजे तिर मोटरसाइकलमा आएका २÷३ जना अपरिचित व्यक्तिले घरमा सुतिरहेका ११ वर्षीय छोरा ज्याउद्दिनको अपहरण गरेको भन्दै सुरक्षा वेश क्याम्प पत्थरगाढामा उजुरी दिएका थिए ।
एघार वर्षीय बालक अपहरण भएको खबर पाउना साथ जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय पातो र सुरक्षा वेश क्याम्प पत्थगरगाढाको संयुक्त प्रहरी टोलीले तत्कालै खोजतलास सुरु ग¥यो ।
शंकास्पद स्थानका साथै भारतीय सीमा सुरक्षा अधिकारीसँग पनि समन्वय गरी प्रहरी खोजतलासमा खटिए । खोजतलासकै क्रममा बालक ज्याउद्दिनलाई घरबाट ५ सय मिटरको दुरीमा रहेको दिदीको घरबाट प्रहरीले फेला पा¥यो । बालकले आफूलाई कसैले अपहरण नगरेको तथा दिदीलाई भेट्ने इच्छा भएकाले यहाँ आई बसेको बयान दिएका छन् ।
सो ’bout बुबा जासरलाई पनि थाहा भएको बालक ज्याउद्दिनको भनाई छ । गाउँका विभिन्न व्यक्तिसँग लेनदेनका विषयलाई लिएर तनावमा रहेका जासर मियाँले छोरो अपहरणको नाटक गरी ऋण र लेनदेनका तनावबाट उन्मुक्ति पाउने नियतले समेत बनावटी उजुरी दिएको अनुसन्धानको क्रममा खुलेको प्रहरीको भनाई छ ।
बालकलाई आमाको जिम्मा लगाइएको छ भने प्रहरी नियन्त्रणमा रहेका जासर मियाँलाई झुठो उजुरी दिएको आरोपमा कारवाही प्रक्रिया अघि बढाइएको प्रहरी निरिक्षक बाबुराम कार्कीले बताए ।






