जहाँ देवताले दानवलाई पासोमा पारेर बध गरेका थिए


बझाङ । सुदुर पश्चिमको प्रसिद्ध मेला बान्नीकी चैतलीमा श्रद्धालु तथा दर्शनार्थीहरुले बान्नीको कांकर र बान्नी मष्टाको दर्शन गरेका छन् । परापुर्वकालमा महिसासुर दानवले बान्नी मष्टा देवतासंग युद्ध गरी मष्टालाई पासोमा पारेको र मष्टालाई दानवको पासोबाट मुक्त गर्नका लागी सुर्मा देवी प्रकट भै महिसाशुरको बध गरेको खुसीयालीमा बान्नीकी चैतली मेला लाग्ने गरेको छ ।

होली पुणिर्माको दिनबाट सुरु हुने यो मेला चैत्र शुक्ल पुर्णिमा सम्म लाग्ने गर्दछ । मेला सुरु भएपछि प्रत्येक रात मन्दिरमा बाजा बजाउने र मष्टाका करियाहरु चोखो भएर ब्रत बस्ने गरेको बान्नी मष्टाका पुजारी नृपराज जोशिले बताए ।

सुर्मा देवीले भाला प्रहार गरी दानवको बध गरेको प्रतिकका रुपमा चैत्र औंसीका दिन काटेको कांकर (लिङ्गो) लाई चैत्र शुक्ल त्र्योदशीका दिन तोलेनी भन्ने खेतमा हिडाउने गरिन्छ । झण्डै ३५ मिटरलामो कांकरलाइ मानिसहरुले समाएर झण्डै ३ सय मिटर जति हिडाउने गर्छन् । यसरी हिँडाएर ल्याएको कांकरलाई बान्नी मष्टाको मन्दिरमा चढाएपछि राक्षसको टाउकोको भकुन्डो बनाएर सुर्माले खेलेको सम्झनामा तल्लो छविस र मल्लो छविसका बासिन्दाहरु विच भकुन्डो खेल्ने प्रचलन समेत रहेको छ ।

यसरी काकंर हिडाएको र भकुन्डो खेलेको हेर्नका लागी बझाङलगायत सुदुरपश्चिमका विभिन्न जिल्लाबाट हजारौं मानिसहरु छविसपाथीभेरा गााउपालिकाको बान्नी चौरमा पुग्ने गर्दछन् । राक्षसलाई मारी सकेपछि सुर्मा देवीले पेटको छाला निकालेर दमाहा बनाएको र हातका औलाको नगरा (गजा) बनाई विजय उत्सव मनाएको किवंदन्तीमा उल्लेख छ । तर विगतका बर्षहरु भन्दा यस बर्ष दर्शनार्थी धेरै कमी आएको यहाँका स्थानीय बासिन्दाले बताएका छन् ।

नयाँ बर्ष पनि परेको र आजको दिन प्राय धेरै जस्तो ठाँउहरुमा पुजा पाठ मेला समेत लाग्ने भएका कारण पनि दर्शनार्थीहरु कमी भएको हुन सक्ने छविसपाथिभेरा गााउपालिका अध्यक्ष अक्कल बहादुर धामीले बताए । ‘विगतका बर्षहरु जस्तो धेरै दर्शनार्थीहरु आएनन् ।’ उनले भने ।

विगतका बर्षहरुमा बाहिरी जिल्लाबाट समेत दर्शनार्थीहरु पुग्ने गर्थे तर अहिले बझाङ जिल्ला पनि सबै भत्तजनहरु समेत मेला नपुगेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 416 times, 1 visits today)

epaper

ताजा समाचार

बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश