काठमाडौं । स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दललाई आफ्नै बागी उम्मेदवार भारी हुने देखिएको छ । भरतपुर महानगरपालिकामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल पुत्री रेणु दाहालले गठबन्धनबाट मेयरमा दिएको उम्मेदवारीमा कांग्रेसले आफ्नो तर्फबाट बागी उम्मेदवार उठाएको छ ।
बागीका कारण जित्न सकस
भरतपुरको मेयरमा कांग्रेसले आफ्नो उम्मेदवार हुनुपर्ने अडान राख्दै आएको थियो । पूर्वसांसद एवं नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गरेका हुन् । बागी दिएका पौडेलले उम्मेदवार फिर्ता नलिए योपटक माओवादी केन्द्रबाट मेयर बनेकी रेणु दाहाललाई निर्वाचन जित्न सकस पर्न सक्छ । कांग्रेसको भोट बागी उम्मेदवारको पक्षमा जाँदा जित्न कठिन हुन सक्छ ।
पोखरा महानगरपालिकामा गठबन्धनको तर्फबाट एकीकृत समाजवादीबाट मेयरमा दिएको उम्मेदवारीविरुद्ध कांग्रेसले बागी उम्मेदवारी दिएको छ । पोखरा महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तीन जनाले बागी उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । विमलबहादुर कार्की र ऋषि सापकोटा, नन्दुप्रसाद तिवारीले मेयरमा उम्मेदवारी दिएका छन् ।
सत्तारूढ दलहरूबीच महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार भागबन्डाका क्रममा पोखराको मेयर पद नेकपा एकीकृत समाजवादीलाई परेको थियो । तर, कांग्रेसका नेता कार्यकर्ता असन्तुष्ट रहँदै आएका छन् ।
महोत्तरीमा कांग्रेस–माओवादीकै बागी
महोत्तरीको बर्दिवास नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको बागी उम्मेदवारी परेको छ । कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेको भने पनि बर्दिवासमा दुवै दलका एकभन्दा बढी नेताले मेयरमा उम्मेदवार दिएका छन् ।
मेयरमा माओवादी केन्द्रबाट राजु खड्काले उम्मेदवारी दर्ता गराएका छन् । माओवादी केन्द्रकै नेता रुद्र सुस्लिङ मगरले बागी उम्मेदवारी दर्ता गराएका छन् ।
मकवानपुरको मनहरी गाउँपालिकामा कांग्रेसको बागी
मकवानपुरको मनहरी गाउँपालिकामा कांग्रेस महाधिवेशन प्रतिनिधि शंकर न्यौपानेले अध्यक्षमा उम्मेदवारी दिएका छन् । उनले नेपाली कांग्रेस (बीपी) पार्टीका तर्फबाट उम्मेदवारी दिएका हुन् । उनीसँगै सोही दलबाट कांग्रेस नेत्री जानुकी लामाले उपाध्यक्षमा उम्मेदवारी दिएकी छन् । न्यौपानेले आफ्नो वडा मनहरी–४ मा कांग्रेसबाट कुनै पनि पदमा उम्मेदवारी नै नदिने अवस्था सिर्जना गरेका थिए ।
त्यस्तै, मकवानपुरको बाग्मती गाउँपालिका अध्यक्षमा कांग्रेस नेता शंकर पराजुलीले अध्यक्ष र शेरबहादुर लामा भोलनले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । दुवैले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन् ।
पूर्वी नवलपरासीमा कांग्रेसकै बागी
पूर्वी नवलपरासीका जिल्ला समन्वय समितिका प्रमुख चेसराम आले बुलिंटार गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसको बागी उम्मेदवार बनेका छन् । त्यहाँ पार्टीले यसअघिकै निर्वाचित गाउँपालिका प्रमुख शशिकिरण बस्ताकोटीलाई नै योपटक पनि अध्यक्षको उम्मेदवार बनाएको छ ।
भक्तपुरमा बागी उम्मेदवार
भक्तपुरमा सत्ता गठबन्धनको तालमेल र सहमति तोडिएको छ । कांग्रेससँग सहमति नभएपछि नेकपा (माओवादी केन्द्र)ले पालिकाहरूमा गठबन्धनबाहिर रहेर छुट्टै उम्मेदवारी दर्ता गराएको माओवादी केन्द्रका केन्द्रीय सदस्य डीपी ढकालले जानकारी दिए ।
गठबन्धन तोडिएपछि नेपाली कांग्रेसबाट चाँगुनारायणको प्रमुखमा जीवन खत्री, उपप्रमुखमा सुभद्रा काफ्ले, भक्तपुर नगरपालिका प्रमुखमा कांग्रेसबाट रामप्रसाद कासुला, उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)बाट ओमचरण श्रेष्ठ, सूर्यविनायक नगरपालिका प्रमुखमा कांग्रेसबाट निशान ढुंगेल, उपप्रमुखमा एकीकृत समाजवादीबाट श्यामसुन्दर बस्नेत र मध्यपुर थिमि नगरपालिका प्रमुखमा कांग्रेसबाट सुरेन्द्र श्रेष्ठ र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)बाट विजय श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।
नेकपा (माओवादी केन्द्र)बाट भक्तपुर नगरपालिका प्रमुखमा तुलसीभक्त सुवाल, उपप्रमुखमा इन्द्रमाया सुवाल, सूर्यविनायक नगरपालिकाको प्रमुखमा कल्पदीप राई र उपप्रमुखमा पवित्रा चौलागाईं र चाँगुनारायण नगरपालिकाको प्रमुखमा नरेश खड्का र उपप्रमुखमा चण्डिका पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् ।
दाङमा पनि बागी
नेपाली कांग्रेसबाट राप्ती गाउँपालिकाको अध्यक्ष पदका आकांक्षी बुद्धिप्रकाश चौधरीले अध्यक्ष पदमा बागी उम्मेदवारी दिएका छन् । कांग्रेसले जगदम्बाकुमारी चौधरीलाई टिकट दिएपछि असन्तुष्ट चौधरीले बागी उम्मेदवारी दिएका हुन् ।
उदयपुरमा बागीले गठबन्धन धरापमा
उदयपुरका आठै स्थानीय तहमा राजनीतिक दलबाट उम्मेदवार बन्न नपाएकाहरूले स्वतन्त्रबाट बागी उम्मेदवारी दर्ता गराएका छन् । आठै पालिकामा रहेको निर्वाचन कार्यालयका अनुसार स्वतन्त्रबाट उम्मेदवारी दिनेहरू १४ जना रहेका छन् । बेलका नगरपालिकामा एमालेबाट मेयरका लागि कृष्ण काफ्लेले बागी उम्मेदवारी दर्ता गराएका छन् । एमालेबाट बेलकामा मेयरका लागि दुर्गा थापा स्वस्तिकले उम्मेदवारी दर्ता गरेका छन् ।
कटारी नगरपालिकामा तीन जनाले बागी उम्मेदवारी दिएका छन् । जसमा सत्तागठबन्धनमा आबद्ध माओवादी केन्द्र प्रदेश १ का सदस्य केपी बरालले मेयरमा स्वतन्त्रबाट बागी उम्मेदवारी दर्ता गरेको माओवादी केन्द्र कटारीले जनाएको छ । कटारीमा माओवादीको उदयपुर अध्यक्ष विनोद कटुवाल दिवसले उपमेयरमा उम्मेदवारी दर्ता गरेका छन् । कटुवालविरुद्ध कांग्रेसका कृष्ण थापाले उपमेयरमा बागी उम्मेदवारी दिएका छन् ।
यता, त्रियुगा नगरपालिकामा एमालेका मेयरका उम्मेदवार भावत राउतविरुद्ध नारायणकुमार खड्काले बागी उम्मेदवार दर्ता गराएका छन् । उपमेयरमा गीता खड्का कार्कीले उम्मेदवारी दर्ता गरेपछि माओवादी केन्द्रकी त्रियुगा नेत्री सावित्रा थापाले उपमेयरमै बागी उम्मेदवारी दिएकी छन् । चौदण्डीगढी नगरपालिकामा कांग्रेसका मेयरका उम्मेदवार खगेन्द्र राईविरुद्ध कांग्रेसकै प्रशान्त राईले बागी उम्मेदवारी दर्ता गरेका छन् ।
रौतामाई गाउँपालिकामा गठबन्धनबाट माओवादी केन्द्रका नेता वीरेन्द्रकुमार मगरले अध्यक्षमा उम्मेदवारी दिएका छन् । उपाध्यक्ष नेपाली कांग्रेसको भागबाट भूपेन्द्र थापाले दर्ता गरेका छन् । थापाविरुद्ध उपाध्यक्षमा कांग्रेसबाट कौशल राईले बागी उम्मेदवारी दिएका छन् ।
ताप्ली गाउँपालिकामा पाँचदलीय गठबन्धनको तर्फबाट अध्यक्षमा माओवादी केन्द्रका नेता ढुंगराज विकले उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनविरुद्ध कांग्रेसकै महादेव रास्कोटीले अध्यक्षमा बागी उम्मेदवारी दर्ता गरेका छन् ।
ओखलढुंगामा बागी
त्यस्तै, ओखलढुंगाको सिद्धिचरण नगरपालिका, लिखु, मानेभन्ज्याङ र खिजिदेम्बा गाउँपालिकामा बागी उम्मेदवारी परेको छ । सिद्धिचरण नगरपालिकामा एमाले नेता सीताराम गुरुङले मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् भने लिखु र खिजिदेम्बा गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेस नेता क्रमशः राजन सुवेदी र महेश कोर्मोचाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । मानेभन्ज्याङ गाउँपालिकामा नेपाली कांग्रेसका जाग्रित भट्टराईले उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
स्थानीय तहमा एमालेको शरणमा
सत्ता गठबन्धनबीच केन्द्रमा तालमेल भए पनि नुवाकोटको किस्पाङ गाउँपालिकामा भने कांग्रेसविरुद्ध एमाले र माओवादी एकजुट भएर उम्मेदवारी दिएका छन् । गाउँपालिकाको प्रमुखमा एमालेबाट वीरबल तामाङले उम्मेदवारी दिएका छन् भने माओवादी केन्द्रको तर्फबाट उपप्रमुखमा अर्जुन न्यौपानेले उम्मेदवारी दिएका छन् ।
यो पालिकामा दुई पार्टीले इमानदार भएर उम्मेदवारी दिएका छन् । उम्मेदवार दिएका दुवै जना समाजमा राम्रो छवि भएका नेता हुन् । यो गाउँपालिकामा दुई दल मिल्दा नेपाली कांग्रेसलाई जित्न कठिन हुन सक्ने देखिएको छ । सो गाउँपालिकाको वडाध्यक्ष र सदस्यमा समेत दुई पार्टीले सहमतिमा उम्मेदवार उठाएका छन् ।
यस्तै, हुम्लाको चंखेली गाउँपालिकामा एकीकृत समाजवादी गठबन्धनभित्र सन्तुष्ट हुन नसकेपछि एमालेकै शरणमा पुगेको छ । केन्द्रमा पानी बाराबारको स्थितिमा रहेको दुई पार्टीबीच गाउँपालिकामा भने मिलन भएको छ । चंखेलीको अध्यक्षमा एमालेबाट विमलाकुमारी शाही र उपाध्यक्षमा समाजवादीबाट प्रेमकला शाहीले उम्मेदवारी दिएका छन् ।
प्युठानको झिमरुक गाउँपालिकामा सत्ता गठबन्धनभित्रै कुरा नमिलेपछि माओवादी केन्द्र पनि नेकपा एमालेसँग तालमेल गर्न पुग्यो । गाउँपालिका अध्यक्षलाई लिएर माओवादी र राष्ट्रिय जनमोर्चा सहमत नभएपछि एमाले–माओवादी गठबन्धन हुन पुग्यो ।
त्यस्तै, रोल्पाको माडी गाउँपालिकाको अध्यक्षमा एमालेका विजय घर्तीमगर र उपाध्यक्षमा कांग्रेसका कृष्ण विकको उम्मेदवारी दर्ता गरेका छन् । पालिकामा मात्रै होइन, कांग्रेस र एमालेले वडामा समेत तालमेल गरेका छन् ।
सल्यानको कुमाख गाउँपालिकामा नेपाली कांग्रेस र एमालेबीच गठबन्धन भएको छ । अध्यक्षमा नेपाली कांग्रेसका मानबहादुर बुढाथोकी र उपाध्यक्षमा एमालेका लालबहादुर राउतले मनोनयन दर्ता गरे ।