भुवन र रवीन्द्रको गुनासो

काठमाडौं । बिगत लामो समयण्देखि नेकपा एमालेमा क्रियाशील रहेका अभिनेता भुवन केसी र अभिनेता तथा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले आफूहरूको मूल्यांकन त्यो पार्टीबाट नभएकै कारण नेपाली कांग्रेसमा प्रवेश गर्नुपरेको बताएका छन् ।

स्थानीय निर्वाचिनलाई लक्षित गरेर नेपाली कांग्रेसको चुनावी गीत ‘जय नेपाल सबैको मुखमा…, को म्युजिक भिडियो विमोचन समारोहमा उनीहरूले यस्तो दुखेसो पोखेका हुन् । कार्यक्रममा भुवन केसीले भने, ‘नेपाली चलचित्र क्षेत्रमा कलाकारिताका माध्यमबाट ४० वर्षभन्दा लामो समय योगदान दियौं । त्यो योगदानको मूल्यांकन नेपाली कांग्रेसले गर्ने भएपछि हामी यो पार्टीमा प्रवेश गरेका हौं ।’ यसअघि एमालेबाट सांसदको टिकट पाएको २४ घन्टामा टिकट खोसिएका र त्यसपछि कुनै पनि महत्वपूर्ण जिम्मेवारी नपाएका भुवन तीन दिनअघि मात्र एमाले छाडेर कांग्रेसमा प्रवेश गरेका हुन् ।

यस्तै, आधा दशकअघि एमालेमा प्रवेश गरेका रवीन्द्र खड्काले यसपटक पनौती नगरपालिकाको मेयरको उम्मेदवार एमालेबाट बन्नका लागि निकै दौडधूप गरे । तर, उनले टिकट पाएनन् । सो पार्टीमा आफूहरूको उच्च सम्मान तथा योगदानको कदर नभएपछि नेपाली कांग्रेसमा प्रवेश गर्नुपरेको उनले बताएका छन् । नेपाली चलचित्रको हक हितका लागि आफूहरूको एजेन्डा कांग्रेस सभापति शेरबहादुर देउवाले आत्मसात गरेको पनि खड्काले बताएका छन् ।

कृष्ण विकले गाएको नेपाली कांग्रेसको चुनावी गीतको भिडियो निकै राम्रो बनेको र यो गीतले पार्टीको चुनावी अभियानले साथ दिनेमा आफूहरू विश्वस्त रहेको पनि भुवन र रवीन्द्रले सो कार्यक्रमा बताए । ‘जय नेपाल सबैको मुखमा…’ गीतको भिडियो बिहिबार बेलुका काठमाडौंको दरबारमार्गस्थित क्युज सिनेमामा रिलिज गरिएको हो ।

कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण केसी, वरिष्ठ अभिनेता नीर शाह, भुवन केसी, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्कासहित यो गीतका कलाकारले भिडियो सार्वजनिक गरेका हुन् । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसको प्रवक्ता प्रकाशशरण केसीले आफूहरू लोकतन्त्रमा विश्वास राख्ने व्यक्तिहरू भएको बताए । संसारभरि २ सयभन्दा बढी देशका करिब ९० प्रतिशत मुलुकले अँगालेको लोकतान्त्रिक पद्धतिलाई अँगालेर नेपाली कांग्रेस अघि बढेको उनले बताए । आफ्नो पार्टी गीत, संगीत, चलचित्र, मौलिक संस्कृति, भाषा, साहित्यको पक्षधर भएको बताउँदै यो पार्टीमा कलाकार तथा स्रष्टालाई विशेष स्थान दिने पनि उनले कार्यक्रममा जिकिर गरे । कृष्ण विकको यो गीत निकै राम्रो बनेको र गीतलाई यसपटकको चुनावमा धेरैभन्दा धेरै प्रयोग गर्न आफूले पहल गर्ने पनि केसीले कार्यक्रममा बताए ।

अग्रज चरित्र अभिनेता तथा चलचित्र नीर शाहले आफूहरू लोकतन्त्रको पक्षमा रहेको कारण नेपाली कांग्रेससँग जोडिएको बताए । नेपाली कांग्रेससहित गठबन्धनको चुनाव प्रचारप्रसारमा यो गीतले सघाउन मदत पु-याउने भनाइ राख्दै शाहले गीत संगीतमा निकै ठूलो ताकत हुने बताए । यसको भिडियो पनि त्यत्तिकै राम्रो बनेको बताउँदै शाहले अबको चुनावमा गठबन्धनले सफलता हासिल गर्ने विश्वास व्यक्त गरे ।

बिहीबार सार्वजनिक गरिएको गीत ‘जय नेपाल सबैको मुखमा…’ का गायक कृष्ण विकले अहिलेको अवस्थालाई मध्यनजर राखेर नेपाली कांग्रेस तथा गठबन्धनको विजयका लागि यो गीत बजारमा ल्याएको बताए । यो गीतमा कृष्णलाई महिला स्वरमा गायिका प्रीति आलेले साथ दिएकी छन् । एकनारायण भण्डारीले रचना गरेको यो गीतमा संगीत पनि भण्डारीकै रहेको छ । बिजी आग्रीको निर्देशनमा तयार भएको गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् । सञ्जय लामाको छायांकन रहेको यो गीतको भिडियोमा नेपाली कांग्रेसमा संलग्न विभिन्न कलाकारको अभिनय छ ।

तपाइको प्रतिक्रिया
(Visited 262 times, 1 visits today)

epaper

ताजा समाचार

बालकृष्ण खाँण उभिए गगनको पक्षमा