स्याउ पाके ल्याई आउली कुम्ला
घुम्न आउनु मेरा जुम्ला
यो कर्णाली क्षेत्रमा लोकप्रीय हुड्केली गीतको अंश हो । एक वर्ष अघि जुम्लाका गायक तीर्थ परियारले ‘स्याउ पाके ल्याई आउली कुम्ला’ बोलको गीत बजारमा ल्याए । पञ्चेबाजा बजाउदै गाईने हुड्क्यौली गीत लोपउन्मुख अवस्थामा पुगेको बेला गायिका रेखा जोसि र तीर्थ परियारको स्वरमा बजारमा आएको थियो । गीतमा जुम्लाको प्राकृतिक, साँस्कृतिक र भौगोलिक विशेषतालाई वर्णन गरिएको छ ।
स्याउ,नस्पती,आखेर आरु फल्दछन्,जुम्लामा
हेरी आउली,घुमी आउली,ल्याई आउली कुम्लामा
हुड्को नेपाली लोकबाजा हो । यो मध्यपश्चिममा न्वारन, व्रतबन्ध, विवाह, जस्ता उत्सवमा खुसियाली मनाउदै हुड्केली गीत गाउने र नाच्ने परम्परा छ । पहिलो हुड्केली गीतमा आफै शब्द संगीत भरेका तिर्थ परियार अहिले दोस्रो एल्बम को तयारीमा रहेको बताउन्छन् । मध्यपश्चिममा लोकप्रीय नाँच बाह्य सँस्कृतीको हस्तक्षेप बढ्दा छाँयामा पर्न थालेको छ । हुड्केली गीत मार्फत पौराणिक कथाहरु, सामाजिक विषय बस्तु, माया, प्रेम आदीलाई केन्द्रमा राखेर सुनाउने गरिन्छ । गायन क्षेत्रबाट जुम्ला चिनाउन हिंडेका तीर्थ परियार आफूलाई संघर्षको अर्को नाम भन्न रुचाउन्छन् ।
‘पहिलो गीत रेकर्ड गर्न आर्थिक संकटको सामाना गर्न भारी समेत बोकेको छु, हराउदै गएको हुड्केली गीत संरक्षण गर्नका निम्ति आफूलाई संगीतमै सर्मपण गरेको छु ।’ उनले राजधानी सँग भने । अहिले काठमाण्डौ रहेका तिर्थ परियारले दोस्रो गीत सार्वजनिक गर्न लागिएको बताए । एक हातले डमरु आकारको हुड्कोलाई समातेर अर्को हातले बजाउदै गाईने हुड्केली गीत अहिले सामाजिक संजाल टिकटकमा निकै रुचाईएको समेत गायक परियारले बताए ।
‘पहिले कलाकार बन्छु भनेर सुनाउदा कसैले पत्याउदैनथे,अहिले टिकटक,युट्युव लगायतका प्लेटफर्म ले गुमनाममा रहेका प्रतिभाले मौलाउने अवसर पाएका छन् ।’ उनले भने । कर्णालीमा सँस्कृतीको मौलिक पक्ष मानिने हुड्केली गीत संरक्षण गर्नु नै आफ्नो मुख्य योजना रहेको उनि बताउँछन् ।






