एमाले सचिव भट्टको निर्वाचन क्षेत्रमा बिरासत जोगाउन दबाब


टीकापुर(कैलाली) । कैलालीमा निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारी दिएका दलहरु चुनावी मैदानमा होमिएका छन् । उनीहरुले प्रचारप्रसारसँगै घ्दैलो अभियानलाई तिब्र बनाउँदै लगेका छन् ।

सुदूरपश्चिमको स्थायी राजधानी घोषणा भएको गोदावरी नगरपालिकामा नेकपा एमालेका सचिव एवम् सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टको घर पनि पर्दछ । त्यति मात्र होइन सचिव भट्टको निर्वाचन क्षेत्रमा गोदावरी, गौरीगंगा नगरपालिका र चुरे गाउँपालिका गरी तिन पालिका पर्दछ । ती तिन वटै पालिकामा मुख्यतया सत्तागठबन्धन र एमालेका उम्मेदवारबीच दुई पक्षिय प्रतिस्पर्धा हुने देखिएको छ ।

गोदावरी नगरपालिकामा सत्ता गठबन्धनका तर्फबाट नगरप्रमुखमा नेपाली काँग्रेसका बीरेन्द्र भट्ट र उपप्रमुखमा समाजवादीकी रत्ना कडायत उम्मेदवार छन् । एमालेका तर्फबाट एमाले सचिव भट्टका सहोदर भाई गोकर्ण भट्ट नगरप्रमुख र शारदादेवी रोकायालाई उपप्रमुखमा उम्मेदवार बनाइएको छ ।

यस्तै गौरीगंगा नगपालिकामा सत्ता गठबन्धनका तर्फबाट नगरप्रमुखमा माओवादी केन्द्रका देबीदत्त कडेल र उपप्रमुखमा काँग्रेसका भोजबहादुर वमलाई उम्मेदवार बनाइएको छ । एमालेले नगरप्रमुखमा पदम सिंगाल र उपप्रमुखमा शान्ती सिंहलाई उम्मेदवार बनाएको छ । माओवादीका कडँेल २०७४ सालको निर्वाचनमा एमालेका उम्मेदवार भीम देउवासँग झिनो मतले पराजित भएका थिए ।

चुरे गाउँपालिकामा सत्ता गठबन्धनका तर्फबाट अध्यक्षमा समाजवादीका लोकबहादुर सारुमगर र काँग्रेसकी धनादेवी थापा मगरलाई उम्मेदवार बनायएको छ । एमालेले अध्यक्षमा चक्र बोगटी र उपाध्यक्षमा दीपादेबी साउँदलाई उम्मेदवार बनाइएको छ ।

एमाले सचिव एवं सुदूरपश्चिम इन्चार्ज भट्टको निर्वाचन क्षेत्रमा रहेका ती तिन पालिका २०७४ को स्थानीय तहको निर्वाचनमा नगरप्रमुख/उपप्रमुखमा एमालेका उम्मेदवार विजयी भएका थिए । त्यस बेला भट्ट माओवादी केन्द्रमै थिए । २०७४ को स्थानीय तह जितेका पालिकामा एमालेलाई यसपालि बिरासत जोगाउन निकै दबाब छ । भट्टको निर्वाचन क्षेत्र कैलाली ४ हो । सोही निर्वाचन क्षेत्र सुदूरपश्चिम प्रदेशका भौतिक पुर्बाधार मन्त्री एवं समाजवादीका कैलाली इन्चार्ज दीर्घ सोडारीको पनि हो । सो निर्वाचन क्षेत्रमा एमाले पार्टी विभाजनको असर परेको छ ।

मन्त्री दीर्घ सोडारीले पार्टी विभाजन भएर समाजवादीमा लागेपछि ती पालिकामा समाजवादीको वटा टोलसम्मै संगठन बनाएका छन् । उनी गठबन्धनका उम्मेदवार जिताउन अहोरात्र आफ्नो निर्वाचन क्षेत्रमा खटिरहेका छन् ।

यता भट्ट माओवादीबाट एमालेमा लागेपछि उनीसँग पुर्बमाओवादी कार्यकर्तालाई खासै भित्र्याउन नसकेको, एमाले पार्टी विभाजनको असर र काँग्रेस एक ढिक्का भएको कारणले गठबन्धनको जित सुनिश्चि भएको गोदावरी नगरपालिकाका नगरप्रमुखका उम्मेदवार बीरेन्द्र भट्टको दाबी छ ।

उनले गोदावरी विगतदेखि नै काँग्रेसको गढ भएको र अहिले माओवादी केन्द्र समाजवादीको भोट थपिने भएकोले भारी मतको अन्तरले जित्ने दाबी गरे ।

एमालेका उम्मेदवार गोकर्ण भट्ट आफूले नगरप्रमुखमा जितेपछि सेवासुविधा नलिने भन्दै निर्वाचनमा होमिएका छन् । उनले पार्टीले गठबन्धन गरेपनि जनताले नगरेका कारण आफ्नो जित सुनिश्चि हुने बताए । गोदावरीमा एमालेको संगठन राम्रो छ , त्यसका साथै आफू लामो समयदेखि समाज सेवा क्रियाशिल भएको हुनाले आफू जित्ने उनको दाबी छ ।

०७४ सालको निर्वाचनलाई आधार मान्दा एमालेका हरिसिंह साउँदले ९ हजार ८७० मत ल्याएर विजयी भएका थिए भने उनका निकटम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका बीरेन्द्र भट्टले ८ हजार ४५७ मत ल्याएका थिए । माओवादीबाट लडेका गोकर्ण भट्टले ६ हजार ४८१ मत ल्याएर तेस्रो भएका थिए । काँग्रेसका वीरेन्द्र भट्ट र माओवादीबाट एमाले प्रवेश गर्दै गोकर्ण भट्ट फेरि उम्मेदवार बनेका छन् । एमालेबाट उपप्रमुखमा निर्वाचित रत्ना कडायत यतिबेला समाजवादीबाट उम्मेदवार बनेकी छिन् ।

यस्तै गौरीगंगा नगरपालिकामा पनि गठबन्धनका कारण एमालेलाई निर्वाचन जित्न निकै दबाब छ । २०७४ को निर्वाचनमा एमालेका भीम देउवाले ५ हजार ८८१ मत ल्याएर विजयी हुँदा माओवादी केन्द्रका उम्मेदवार कँडेलले ५ हजार ८३० मत ल्याएका थिए । नेपाली काँग्रेसका उम्मेदवार दिनेशराज जोशीले ५ हजार ३९२ मत ल्याएर तेस्रो भएका थिए ।

यस्तै चुरे गाउँपालिकामा २०७४ को निर्वाचनमा एमालेका धनबहादुर रोकामगरले अध्यक्षमा २ हजार ५६१ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी काँग्रेसका टीकाराम भण्डारीले २ हजार ३६६ मत ल्याएका थिए । माओवादी केन्द्रका किसन सिं साउँदले १ हजार ३५१ मत ल्याएर तेस्रो भएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 416 times, 1 visits today)

epaper

ताजा समाचार

बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्छन् : विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ