जनकपुरधाम । धनुषाका १८ वटै स्थानीय तहका नवनिर्वाचित मेयर तथा अध्यक्षहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सोमबारसम्म जिल्लाका सबै स्थानीय तहहरूको अन्तिम नतिजा सार्वजनिक भएपछि मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले नवनिर्वाचित मेयर र अध्यक्षहरूलाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।
जनकपुरधाम उपमहानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत प्याकुरेलले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०९ ले गरेको व्यवस्था अनुसार निर्वाचित १८ वटै पालिकाका प्रमुखलाई शपथ ग्रहण गराएका हुन् ।
धनुषामा एक उपमहानगरपालिका, ११ नगरपालिका र ६ गाउँपालिका रहेको छ । शपथ ग्रहण गरेका नवनिर्वाचित नगरप्रमुखहरूले आ–आफ्नो पालिकाका निर्वाचित अन्य जनप्रतिनिधिहरूलाई शपथ खुवाउने छन् ।
वडा कार्यालयमार्फत फोहोर व्यवस्थापन गर्ने
जनकपुरधाम उपमहानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख मनोज कुमार साह र उपप्रमुख किशोरी साहले शपथ ग्रहण गरेलगत्तै पदभरसमेत ग्रहण गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाले वडा कार्यालयमार्फत फोहोर व्यवस्थापन गर्ने भएको छ । नवनिर्वाचित नगरप्रमुख मनोजकुमार साहले पदभार ग्रहण गरेपश्चात् मंगलबार जनकपुरधामको फोहोर व्यवस्थापन वडा कार्यालयमार्फत गराउने पहिलो निर्णय गरेका हुन् ।
उपमहानगरभित्र हाल सरसफाइको कार्य नगरकार्यपालिकाको कार्यालयद्वारा भइरहेकोमा अबदेखी नगरका सबै वडामा आवश्यक जनशक्ति तथा सरसफाइका साधन उपलब्ध गराई विकेन्द्रित रुपमा सम्पन्न गर्ने र यसका लागि २५ वटै वडा कार्यालयलाई सरसफाइको जिम्मेवारी प्रदान गर्ने नगरप्रमुख साहले निर्णय गरेका छन् ।
फोहोर व्यवस्थापनका लागि उपमहानगरका सबै वडा कार्यालयलाई टयाक्टर र सरसफाई कर्मचारी उपलब्ध गराइने निर्णय नगरप्रमुख साहले गरेको प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न उपाध्याले बताए ।
त्यस्तै, उपमहानगरपालिकाको कामलाई प्रभावकारी बनाउन सम्बन्धित शाखाको काम सम्बन्धित कर्मचारीबाट गराउने निर्णयसमेत मेयर साहले गरेका छन् ।
जनकपुधाम उपमहानगरपालिका नगरकार्यपालिकाको कार्यालयका महाशाखा, शाखामा सम्बन्धित विषयविज्ञलाई व्यवस्थापन गर्नुका साथै जुन कार्यका लागि जसलाई नियुक्त गरिएको हो सोही कार्य गर्ने गरी उनलाई व्यवस्थापन गरिने प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले बताए ।
जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयले सम्पन्न गर्ने कार्य थप पारदर्शी, निष्पक्ष, उत्तरदायी र सुशासनयुक्त बनाउनका लागि आवश्यक व्यवस्थापन गर्ने निर्णयसमेत नगरप्रमुख साहले गरेका हुन् ।






