असाध्यै क्रान्तिकारी र समाजवादको हिमायती ठान्ने एमाले कार्यकर्ताले अचेल अलि ढिलो बुझ्न थालेको आभाष हुन थालेको छ । सामाजिक सञ्जालमा बृहत ‘साइबर सेनाको ग्याङ्’ बनाएर पार्टीको व्यापक प्रचार गरेको दावी गर्नेहरुले काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले जित्दै गरेको पत्तो समेत पाएनन् । यतिसम्म कि मतगणनाको पाँचौं दिन पनि एमाले कार्यकर्ता भन्दै थिए ‘कोर एरिया पुगेपछि केशव स्थापितको नसोचेको मत आउछ ।’ कोर एरियामा पुगेपछि मत त नसोचेकै आयो तर, एमाले कार्यकर्ताले सोचे भन्दा विपरित ।
स्थानीय चुनाव सम्पन्न भइसकेकाले अब हुने संघीय चुनावमा कसको स्थिति के हुने भन्नेमा सामान्य चिया पसलदेखि बिहे, पास्नीमा हुने जमघटमा समेत छलफलको विषय बनिसकेको छ । तलदेखि माथिसम्मकै एमाले कार्यकर्ताले भन्न छुटाएका छैनन् ‘अब हुने चुनावमा एमाले पहिला पार्टी हुन्छ ।’
खासमा अब हुने चुनाव ति कार्यकर्ताले अनुमान गरे जस्तो हुने सम्भावना छैन । एमालेसँग दुइवटा मात्रै विकल्प छ । बङ्लङ्ग पछारिने वा कसैको बैशाखी टेकेर उभिने । स्थानीय चुनाव अघि पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीदेखी वडाको शाखा सदस्यसम्मले भनिरहेका थिए ‘हाम्रो पार्टीको ५० प्रतिशत भोट सर्लक्कै आउँछ ।’ तर, नतिजा त्यस्तो देखिएन । ढिलोमा फागुन र छिटोमा मंसिर अन्तिममा संघीय र प्रदेशसभाको निर्वाचन हुने निश्चित छ । यदि कसैको वैशाखी टेकेन भने संघीय र प्रदेशसभा चुनावमा एमालेसँग बङ्लङ्ग पछारिनुको विकल्प देखिँदैन ।
स्थानीय तह निर्वाचनमा पाँचदलीय भर्सेज एमाले (एमालेले भन्दै आएको) चुनावमा एमाले अध्यक्ष केपी शर्मालगायतका शीर्ष नेतृत्वले एमाले कुनै हालतमा पहिलो पार्टी हुने दावी गरेका थिए । महानगरहरुमा चमत्कार गर्ने ठेकुवा गरेका महासचिव शंकर पोखरेलले त चुनावको पर्सिपल्ट सत्तापक्षले धाँधली गरेको भनेर विज्ञप्ती नै निकाले, जबकी महासचिवको विज्ञप्ति आइरहँदा ७ सय ५३ स्थानीय निकाय मध्ये ७ सय ५२ ठाउँमा एमाले प्रतिनिधिसहित गतगणना जारी थियो । यही घटनाबाट पुष्टि हुन्छ एमाले नेतृत्व अझै आफ्नै धङधङीलाई सबथोक ठान्छ । आफू बाहेक अरुका कुरा सुन्दैन ।
अहिले त लगभग सवै स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले पदबहाली गरिसके । नेपाली कांग्रेस पहिलो र एमाले दोस्रो दल भएको तथ्यले पुष्टि गर्छ । तर, एमालेका केही नेताहरु अझै पनि लोकप्रिय मत एमालेकै धेरै आएको दावी गर्दैछन् । महानगरहरुमा मेयर हारेकोमा भन्दा पनि धेरै ठाउँमा वडाअध्यक्षहरुले जितेको भन्दै गालामा अबिर दलेर सेल्फी हान्दैछन् ।
चुनाव अगाडि आयोजित धेरै कार्यक्रममा एमाले अध्यक्ष ओलीले आफूलाई क्विन्टलको ढक दावी गर्दै आएका थिए । आउँदो चुनावमा क्विन्टलमा कति ग्राम थप्ने हुन् सुन्न बाँकी नै छ ।
यसकारण गठबन्धन हुन्छ
नेपाली कांग्रेसका केही नेताहरुले सार्वजनिक खपतका लागि गठबन्धन गर्न हुन्न एक्लै चुनावमा जानुपर्छ भने पनि कांग्रेसका शीर्ष नेतृत्वलाई राम्रोसँग थाहा छ एक्लै चुनावमा जानु भनेको कांग्रेस पनि पछारिनु हो । ०४६ पछि पटक पटक सत्ताको स्वाद चाख्दै आएको कांग्रेसले कम्युनिष्ट विभाजित भएको अवसरमा दुई दशकपछि स्थानीय तहमा जरा गाड्ने अवसर पाएकाले सकेसम्म सिंहदरवारको डेरा लम्ब्याउन चाहन्छ । सिंहदरवार वा बालुवाटारमा लामो समय डेरा बस्नका लागि चुनाव जित्नु अन्तिम विकल्प हो भन्नेमा कांग्रेस सचेत छ र यसपाली चुनाव जित्नका लागि गठबन्धन हुनुपर्छ भन्नेमा पनि जानकार छ ।
एमालेका केही नेताहरु अझै पनि लोकप्रिय मत एमालेकै धेरै आएको दावी गर्दैछन् । महानगरहरुमा मेयर हारेकोमा भन्दा पनि धेरै ठाउँमा वडाअध्यक्षहरुले जितेको भन्दै गालामा अबिर दलेर सेल्फी हान्दैछन्
तेस्रो शक्तिका रुपमा स्थापित माओवादी नेतृत्व पनि सत्ताको चास्नीमा डुब्न थालेको डेढ दशक भयो । पहिलो संविधानसभा निर्वाचनमा सबै भन्दा ठूलो दलका रुपमा स्थापित माओवादीले ‘ठूला दलको भार’ थाम्न सकेन । कम्युनिष्टहरुको चरित्र नै हो । बैद्य, विप्लव, बाबुराम छुट्टै साना गुडमा रमाउन थाले ।
प्रचण्ड नेतृत्वको माओवादीको गुण बैद्य, बाबुराम र विप्लवको भन्दा अलि ठूलो थियो कहिले एमाले त कहिले कांग्रेसको बैशाखी बनेर सत्ताको चास्नीमा डुबुल्की मार्न थाले र यो क्रमलाई अझै जारी राख्ने छन् । हुन त चार दिन अघि संसद भवनमा बोल्दै प्रचण्डले दुई पटक माओवादीले नै केपी ओलीलाई प्रधानमन्त्री बनाएको भन्दै एक्लै प्रधानमन्त्री बनेर देखाउन चुनौति दिए । प्रचण्डलाई पनि आफ्नै क्षेत्रमा एक्लै चुनाव जित्न असाध्यै गा-हो छ । त्यसकारण अवको विकल्प भनेको गठबन्धन नै हो ।
भनिन्छ राजनीतिमा स्थायी शत्रु कसैको हुन्न । आगामी निर्वाचनमा माओवादी एमाले साँठगाँठ भयो भने पनि आश्चर्य नमाने हुन्छ । तर, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको एमाले अध्यक्ष ओली नै नाम सुन्न नसक्ने र प्रचण्डले पनि तत्कालै माधव नेपाललाई छाडेर हिँड्न नसक्ने कारणले संघीय निर्वाचनमा अहिलेकै गठबन्धनले निरन्तरता पाउने सम्भावना धेरै छ । अथवा केपी ओली, उपेन्द्र यादव, राजेन्द्र महतो, राजेन्द्र लिङ्देनलगायतसंग पनि सहकार्य हुनसक्छ ।
ओली रिझाउँदाको असर
एमालेका धेरै नेताहरुको वाध्यता छ, पार्टीमा आफ्नो भूमिका बलियो बनाउने हो भने अध्यक्ष ओलीलाई प्रफुल्लित बनाउनु पर्छ । उपाध्यक्ष, विष्णु पौडेल, उपमहासचिव प्रदिप ज्ञवाली, विष्णु रिमाललगायतले ओली रिझ्याई सुरु गरिसकेका छन् । उनीहरुको आयश छ ‘एमालेले कसैसँग तालमेल गर्न हुन्न एक्लै भिड्नु पर्छ । लोकप्रिय मत आउछ ।’ ओलीले स्थानीय चुनाव अघि बोलेकै भाषा बोल्नुको कारण एमाले बलियो भएको प्रमाण होइन मात्रै ओली रिझाउनका लागि हो । यदि साँच्चै यी नेताहरुले भने जस्तै एमाले एक्लै चुनावमा गयो भने अहिलेका धेरै केन्द्रीय स्तरका नेताहरुले ‘मलाई मत दिनु भएकोमा धन्यवाद निर्वाचनमा पराजित भए पनि मलाई मत दिने जनताको भावनाको कदर गर्नेछु’ आशयका विज्ञप्ति ड्राफ्ट गरेर राखे हुन्छ । परिणामा आएको भोलिपल्ट सामाजिक सञ्जालमा राख्न काम लाग्छ ।
पाँच महिनामा भोट बढ्ने आधार छैन
नेपालमा कांग्रेस र एमाले मात्रै त्यस्ता पार्टी हुन् जसले निर्वाचनमा जीत हाँसिल गर्नका लागि खासै राम्रो काम गर्न पर्दैन विपक्षी पार्टीले खराब काम गरिदिए पुग्छ । यदि मंसिरमा चुनाव भयो भने अब पाँच महिना बाँकी छ । एमाले नेताहरुलाई लागेको होला अहिले सरकारमा भएको कांग्रेसले यो पाँच महिनामा ब्यापक गडबडी गर्छ अनि हाम्रो भोट बढ्छ ।
खाने तेलको मूल्य अहिले लिटरको चारसय पुग्न लाग्यो । पेट्रोलियम पदार्थमा एक पुरिया पार्लेजी बिस्कुट जोड्यो भने लिटरमा दुईसय पुग्छ । प्रहरी र सिडियोको सरुवा बढुवाले आम जनमानसमा खास असर गर्दैन । मूल्यबृद्धि चरम भइसकेकाले अहिलेको सरकारसंग उपद्रोको पनि विकल्प सकिएको छ । बरु पेट्रोलमा २÷४ रुपैयाँ घटाउला, ग्यासमा ५०/६० घटाउँला ।
जहाँसम्म एमालेप्रतिको हेराई छ, एमाले सत्तामा हुँदा भएको मूल्यबृद्धिका विषयमा जनता साक्षात छन् । ओली प्रधानमन्त्री हुनु अघि एक लिटर धारा तेलको मुल्य १५० थियो भने प्रधानमन्त्रीबाट ओलीको बहिर्गमन हुँदा त्यहि तेलको मुल्य २८५ पुगेको थियो । ओली प्रधानमन्त्री हुनु अघि २०० ग्राम लुगा धुने साबुनको मुल्य २० रुपैया थियो भने उनको बहिर्गमन हुँदै गर्दा त्यहि साबुनको मुल्य ३५ पुगेको थियो ।
भ्युटावरलाई विकासको अचुक अस्त्र मानेको पार्टीका नेताहरु अहिले आफैं भ्युटावरको कुरा गर्न हिच्किचाउँछन् । काठमाडौंमा मोनोरेल कुदाउँछु भन्दै आएका मेयरले सार्वजनिक चर्पी समेत नबनाई पाँच वर्ष बिताएको जगजाहेरै छ ।
११ लाख बढी संगठित सदस्य भएका ३५ लाख भन्दा बढी मत पाएका जनस्तरमा प्रभाव जमाएका एमालेका अध्यक्ष केपी ओली ज्युलाई थाहा छ कि छैन अहिले काठमाडौं मान्छेहरु तपाइको मोनो रेल र मेट्रो रेल कुदाउने कुरा सुनेर रमाउन छाडेका छन्, बरु ‘मेट्रो रेल यसकारण सम्भव छैन’ भनेर बालेन साहले भनेको कुरा चाख दिएर सुन्न थालेका छन् । तपाईले त्यत्रो मेहनत गरेर (निर्माणै पुरा नभई उद्घाटन गरेको धरहारा)ले सुन्धाराको पानी सुकायो भन्दै गुनासो गर्नेहरु शहरमा क्रमश बढ्दै छन् । तपाईका मिठा शैलीका कुरा सुनेर पनि विश्वास नगर्नेहरुको संख्या बढ्दै जानु भनेको मान्नुस् या नमान्नुस् तपाईसंग अव दुईटा मात्रै विकल्प छ बङ्लङ्ग पछारिने वा कसैको बैशाखी टेकेर उभिने र यो अवस्था तपाई आफैंले बनाउनु भएको हो ।