काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीमा भागबन्डा मिलाउन आठ महिनामा नै आफ्ना मन्त्री परिवर्तन गर्ने भएको छ । पार्टीभित्र नेताहरूको आन्तरिक व्यवस्थापन गर्न पालैपालो मन्त्री बनाउन लागिएको हो ।
आठ महिनाअघि नै पार्टीले मन्त्री बनाउने क्रममा धेरै नेता मन्त्रीको आकांक्षी भएपछि पालैपालो मन्त्री बनाउने आन्तरिक सहमति भएको थियो । सोही सहमतिअनुसार मन्त्री परिवर्तन गर्न लागिएको नेकपा एकीकृत समाजवादीले जनाएको छ ।
सोहीअनुसार पार्टीले सरकारमा पार्टीबाट सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । एकीकृत समाजवादीको काठमाडौंस्थित आलोकनगर पार्टी केन्द्रीय कार्यालयमा आइतबार बसेको सचिवालय बैठकले मन्त्रीलाई फिर्ता बोलाउने र नयाँ नामावली सिफारिस गर्ने निर्णय गरेको हो ।
स्थानीय तह निर्वाचनअघि नै मन्त्रीलाई फिर्ता बोलाउने सहमति भए पनि निर्वाचनपछि बोलाउनुपर्ने सुझाव आएको थियो । स्थानीय तह निर्वाचनअघि नै मन्त्रीलाई फिर्ता बोलाउँदा नराम्रो सन्देश जाने भएकाले केही समयका लागि रोकिएको थियो ।
एकीकृत समाजवादीका सम्मानीत नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले २४ घण्टाभित्र मन्त्री फिर्ता बोलाउने निर्णय भएको बताए । बैठकले पार्टीबाट सरकारमा पठाइएका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय भएको बताउँदै खनालले भने, ‘हामीले २४ घण्टाभित्र मन्त्री फिर्ता बोलाउने निर्णय गरेका छौं । अब उहाँहरू फिर्ता आउनुहुन्छ ।’
नयाँ मन्त्री हुने
जीवनराम श्रेष्ठ– संस्कृति, पर्यटन तथा नागरिक उडड्यन
मेटमणि चौधरी– सहरी विकास
शेरबहादुर कुँवर– श्रम तथा रोजगार
भवानी खापुङ– स्वास्थ्य तथा जनसंख्या (हाल उनी राज्यमन्त्री रहेको)
हिरा केसी– स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री
मन्त्रीबाट फिर्ता हुने
प्रेमबहादुर आले– संस्कृति, पर्यटन तथा नागरिक उडड्यन
विरोध खतिवडा– स्वास्थ्य तथा जनसंख्या
रामकुमारी झाँक्री– सहरी विकास
कृष्णकुमार श्रेष्ठ– श्रम तथा रोजगार
नयाँ मन्त्रीको सिफारिस गर्ने अधिकार पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई जिम्मेवारी दिइएको छ । सचिवालय बैठकपछि एकीकृत समाजवादीका उपमहासचिव एवं कार्यालय सचिव डा. गंगालाल तुलाधरले मन्त्रीहरूको जिम्मेवारी हेरफेरका विषयमा छलफल भएको बताउँदै निर्णय अधिकार अध्यक्ष नेपालसँग रहेको बताए ।
उनले पार्टीले आवश्यकता ठानेर जिम्मेवारी दिएको र त्यहीअनुसार फर्काउन सक्ने उनले बताए । ‘उहाँहरूको विषयमा समीक्षा भयो । पार्टीले आवश्यक ठान्यो भने फिर्ता बोलाउँछ र नयाँ साथीहरूलाई जिम्मेवारी दिन्छ । यसलाई स्वाभाविक रूपमा लिनुपर्छ । व्यक्तिगत स्वतन्त्रता पार्टीको हितभन्दा तल हुन्छ,’ डा. तुलाधरले भने ।
एकीकृत समाजवादी स्रोतका अनुसार प्रधानमन्त्री देउवालाई पार्टीले आइतबार नै मन्त्री हुनेको नामावली बुझाइएको छ । उनीहरूलाई सोमबार शपथ गराउने तयारीमा सरकार रहेको छ ।
एकीकृत समाजवादीका एक सचिवालय सदस्यका अनुसार जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगारमन्त्रीमा पठाउने निर्णय भएको हो ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका भवानी खापुङलाई भने मन्त्रीमा बढुवा गरिएको छ । स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीलाई पठाउने निर्णय भएको छ ।
एकीकृत समाजवादीले पर्यटनमन्त्रीबाट प्रेमबहादुर आले, स्वास्थ्यमन्त्रीबाट विरोध खतिवडा, सहरी विकासमन्त्रीबाट रामकुमारी झाँक्री र श्रममन्त्रीबाट कृष्णकुमार श्रेष्ठ किसानलाई फिर्ता बोलाएको हो ।
मन्त्री फेरिनु नियमित प्रक्रिया : माधव नेपाल
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्रीहरू फेरिनु नियमित प्रक्रिया भएको प्रतिक्रिया दिएका छन् । सचिवालय बैठकपश्चात् सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले बैठकले पुराना मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय भएको बताए ।
‘यो नियमित प्रक्रिया हो, पहिले पनि हामीले ६ महिना भनेका थियौं,’ अध्यक्ष नेपालले भने, ‘सुरुदेखि नै ६ महिनाका लागि भनिएको हो, यो रेगुलर प्रोसेस हो ।’
थोरै समय भए पनि पार्टीको प्रतिष्ठा राखेर काम गर्छु : मेटमणि चौधरी
एकीकृत समाजवादीले मन्त्री बनाउने निर्णय गरेपछि पार्टीका नेता मेटमणि चौधरीले समय धेरै बाँकी नभए पनि यो अवधिमा आफूले सक्दो राम्रो काम गर्ने प्रतिक्रिया दिए ।
चौधरीले राजनीति गरेपछि यस्तो अवसर आउँदै गर्ने तर आगामी निर्वाचनको मुखमा जिम्मेवारी पाएकाले पार्टीको प्रतिष्ठा र इज्जत राख्नेगरी काम गर्ने बताए । उनले पार्टी अध्यक्षले पनि यही निर्देशन दिएकाले आफ्नो तर्फबाट सक्दो राम्रो गर्ने बताए ।
‘पार्टीको नीतिलाई उच्च राख्दै काम गर्न र समाजवादीका मन्त्रीहरू फरक छन् भन्ने गरेर देखाउन निर्देशन पार्टी अध्यक्षले निर्देशनसमेत गर्नुभएको छ,’ चौधरीले भने, ‘थोरै समय छ, अध्यक्षको निर्देशनअनुसार काम गर्छांै ।’
चौधरी यसअघि नै मन्त्री बन्ने सूचीमा थिए तर अन्तिम समयमा उनी अटाएका थिएनन् । अहिले चौधरीलाई पार्टीले सहरीमन्त्रीको बनाउने निर्णय गर्दै सरकारलाई नामावली बुझाएको छ ।
फस्र्ट डिभिजनमा पास भएँ : विरोध खतिवडा
स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा रहेका विरोध खतिवडाले मन्त्रीबाट फिर्ता हुने निर्णयपश्चात् आफू मन्त्रीका रूपमा डिस्टिंसन नभई फस्र्ट डिभिजिनमा पास भएको प्रतिक्रिया दिएका छन् । करिब आठ महिना स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा रहेका खतिवडाले यसबीचमा आफूले राम्रो काम गरेको बताए ।
‘मलाईं नम्बर दिन आउँदैन् । डिस्टिंसन (विशिष्ट श्रेणी) आएको छैन । यहाँ आएर नराम्रो काम गरिएन त्यसलाई पनि नम्बर दिनुपर्छ । नराम्रो काम भनेको स्वास्थ्यमा अनियमितता भयो, भ्रष्टाचार भयो भन्ने कुरालाई रोकेको छु । नराम्रा कुरा रोक्न म पास भएको छु । समग्रमा हेर्दा फस्र्ट डिभिजनमा पास भएको छु जस्तो लाग्छ,’ खतिवडाले भने ।
देशमा आर्थिक अभाव भएको बेला समेत आफूले नयाँ कार्यक्रम सुरु गरेको उनले बताए । यसबीचमा जे मलाईं चुनौती भनिएको थियो, त्यसलाई पूरा गरेको उनले बताए । बजेटले तोकेको कार्यक्रमलाई कार्यान्वयनमा आफूले लगेको उनले बताए ।
स्वास्थ्यमन्त्रीको जिम्मेवारी आफूले अपर्झट पाएको बताउँदै उनले यसबीचमा आफूले राम्रोसँग आफ्नो जिम्मेवारी निर्वाह गरेको बताए ।
निर्वाचनको समीक्षा रिपोर्ट बनाउन सातै प्रदेशमा जिम्मेवारी तोकियो
एकीकृत समाजवादीको सचिवालय बैठकले स्थानीय तह निर्वाचनको समीक्षा गर्न सातवटै प्रदेशबाट सूचना संकलनका लागि पार्टीका शीर्ष नेताहरूलाई जिम्मेवारी दिएको छ । स्थानीय तह चुनावको समीक्षाका लागि बसेको सचिवालय बैठकले सातवटै प्रदेशमा शीर्ष नेताहरू खटाउने निर्णय गरेको हो ।
बैठकले तल्ला कमिटीबाट अझै सम्पूर्ण सूचना नआएकाले चुनावी समीक्षा हुन नसकेको भन्दै पाँच दिनभित्र सूचना संकलन गरी बैठकमा पेस गर्नेगरी सातवटै प्रदेशमा एक÷एक जना सचिवालय सदस्यलाई खटाइएको पार्टीका उपमहासचिव तुलाधरले बताए ।
प्रदेश–१ मा जयन्ती राई, मधेस प्रदेशमा रामचन्द्र झा, बाग्मती प्रदेशमा डा. गंगालाल तुलाधर, गण्डकीमा प्रमेश हमाल, लुम्बिनीमा विजय पौडेल, कर्णालीमा प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशमा डा. वेदुराम भुसाललाई सूचना संकलन गर्न जिम्मेवारी तोकिएको छ ।
तुलाधरले संगठनात्मक आधार हुँदाहुँदै गठबन्धनभित्र आफूहरूमाथि सम्मानजनक व्यवहार नभएको लगायतका सवालमा सत्ता गठबन्धमा रहेका दलमा छलफलको विषय बनाउने निर्णय पनि भएको बताए । आफूहरू गठबन्धनप्रति इमान्दार भए पनि अन्य दलबाट धोखा भएको अनुभव नेताहरूबाट रिपोर्ट भएको उनले बताए ।
‘बैठकमा स्थानीय तह निर्वाचनको समग्र समीक्षा, गठबन्धनभित्र पनि हाम्रो पार्टी र अन्य पार्टीहरूको भूमिका र आगामी दिनमा कस्तो कार्ययोजनाका साथ अघि बढ्ने भन्ने विषयमा घनीभूत छलफल भएको छ । तर, सबै सूचनाहरू प्राप्त नभएकाले सात वटै प्रदेशमा सचिवालयका सदस्यहरूलाई पाँच दिनभित्र त्यसको गम्भीर समीक्षा हुनेगरी आवश्यक सूचना संकलन गर्न खटाउने निर्णय गरिएको छ,’ तुलाधरले भने ।
यसैगरी, बैठकले यस वर्ष पनि औसतभन्दा बढी वर्षा हुन्छ भनी मौसमविद्हरूबाट पूर्वानुमानबाहिर आइरहेको सन्दर्भमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । गत वर्षहरूमा झैं यस वर्ष पनि बाढी, पहिरो र डुबानजस्ता विपद्जन्य घटनामा जनधनको नोक्सानी कम गर्न विपद् जोखिम व्यवस्थापनमा पार्टीको सम्पूर्ण शक्ति मन, बचन र कर्मले जुट्न निर्देशन दिएको छ ।
यस्तै हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट विजयी सम्पूर्ण मेयर-उपमेयर, अध्यक्ष-उपाध्यक्ष, जिल्ला समन्वयप्रमुख-उपप्रमुख र वडा अध्यक्षहरूका लागि आगामी ४ र ५ असारमा काठमाडौंमा राष्ट्रिय अभिमुखीकरण कार्यक्रम गर्ने निर्णय गरेको छ ।