संघीय शासनको जग ,जनताको भरोसा


देशका ७ सय ५३ वटा स्थानीय सरकार जनतालाई सेवा दिन र गाउठाउको विकास गर्ने गरि दोस्रो पटकको निर्वाचन पछि तम्तयार अवस्थामा देखिएका छन् । गाउँको सिहदरबारको उपमा पाएका यी सरकार स्थानीय जनताको सुखदुखमा साथ दिने गरि स्थापना भएका हुन् । स्थानीय सरकारमा निर्वाचन मार्फत पाँच वर्षका लागि नयाँ जनप्रतिनिधिहरु आएपछि यतिखेर स्थानीय तहमा थप रौनक र उमंग छाएको छ ।

गत ३० वैशाखमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको जगलाई थप मजबुत बनाउने गरि स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो ।

संघीय शासन प्रणालीको मुख्य उद्धेश्य नै जनताको घरदैलोमा सहज र प्रभावकारी सेवा प्रदान गर्नु हो । त्यसैले यतिखेर देशभरका सर्वसाधारण नागरिकहरु आफ्नो गाउँठाउमा बनेको नयाँ स्थानीय सरकारले राम्रो गरोस, आफ्नो गाउँठाउको विकास र समृद्धिमा विशेष ध्यान दिन सकोस र आफुहरुलाई प्रभावकारी सेवा सुविधा दिन सकोस भन्ने चाहनामा छन् । स्थानीय तह जनतासँग निकट सम्पर्कमा रहेका हुन्छन् । स्थानीय तह जनताको घरदैलोमा सेवा पु-याउने गरि क्रियाशील रहदै आएका छन् । जनताको अपेक्षा अनुसार गुणस्तरिय सेवा प्रवाह गरि नागरिकको अपेक्षा पुरा गर्न स्थानीय तहको सबैभन्दा बढि र महत्वपुर्ण भूमिका रहन्छ । नया जनप्रतिनिधि आएसँगै स्थानीय तहमा नयाँ रक्तसञ्चार हुने आशा गर्न सकिन्छ ।

स्थानीय तहमा जनप्रतिनिधिहरुले शपथ गरि कार्यप्रारम्भ गरिसकेका छन् । अब हरेक स्थानीय तहहरु रोलमोडलको रुपमा स्थापित हुन सक्नु पर्छ । त्यसको लागि नेतृत्वले रातदिन काम गरेर परिणाम निकालन सक्नु पर्छ । त्यसरी परिणाम दिन सफल भएमा जनप्रतिनिधिहरु स्थानीय जनताको प्रिय बन्न सक्छन् । राम्रो काम गर्नेलाई जनताले पटक पटक विश्वास गर्ने भएकाले अर्को निर्वाचनमा पनि उनीहरु दाहोरिएर चुनाव लडेको खण्डमा सहजै जित हासिल गर्न सक्छन् भन्ने तथ्य भर्खरैको चुनावले देखाएको छ ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनले पनि महत्वपुर्ण सन्देश दिएको छकी यदि गाउठाउमा बसेर आफ्नो गाउ टोल र समाज सेवामा समर्पित हुन सक्ने व्यक्ति जुनसुकै दलको भएपनि सजिलै चुनाव जित्न सक्ने रहेछ । तर नेताको खल्ती बाट आएका तर गाउ टोलमा रहेर कुनै समाज सेवा गर्न नसकेका व्यक्तिले जतिसुकै खर्च गरेपनि निर्वाचन जित्न नीकै कठिन हुने रहेछ भन्ने सन्देश पनि अहिलेको स्थानीय तहको निर्वाचनले दिएको देखिन्छ ।

स्थानीय तहको नयाँ नेतृत्वलाई शुरु देखि नै नैतिकवान बनाउदै असल आचरणयुक्त र सुशासनयुक्त राख्न सकियो भने ती स्थानीय तहले पाँच वर्षको अवधिमा धेरै कामहरु गर्न सक्छन् । यसका लागि केन्द्रिय सरकारले आवश्यक प्रशिक्षण र पैरवी गर्न जरुरी छ


स्थानीय निर्वाचन २०७९ ले दिएको सबैभन्दा ठुलो सन्देश नै अब सबै दल तथा उनीहरुले जनप्रतिनिधि बनाउन उठाउने उम्मेदवारहरु नैतिकवान , पारदर्शी हुनुपर्छ र आफ्नो गाउँठाउको विकास गर्न र समृद्धि ल्याउन रातदिन खट्ने व्यक्तिहरु हुनुपर्छ । अन्यता जनताले निर्वाचनमा उनीहरुलाई उठ्नै नसक्ने गरि हराइदिने छन् ।

निर्वाचनको सबैभन्दा राम्रो विशेषता के देखियो भने हिजोको दिनमा विभिन्न पालिकाहरुमा जितेर राम्रो काम गर्न नसकेका अधिकांश जनप्रतिनिधिहरुलाई भने जनताले यस पटक लोप्पा खुवाइदिएका छन् । हिजोका दिनमा कैयौ जनप्रतिनिधिहरु भ्रष्टचारमा मुछिएका थिए । कतिपयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा समेत दायर गरेको थियो । कैयौ जनप्रतिनिधिहरुले जनतालाई गफ मात्रै दिए , गफ गरेअनुसारको काम गर्न सकेनन् । हिजोको दिनमा त्यसरी काम नगर्ने र गफ मात्रै दिनेहरुलाई यस पटक जनताले हराइदिएका छन् । अहिले आएका नयाँ जनप्रतिनिधिहरुले यसबाट राम्रो पाठ सिक्नु पर्ने देखिएको छ ।

हिजोको दिनमा स्थानीय तह र त्यहाका जनप्रतिनिधिहरुले जेजस्ता काम गरेपनि उनीहरुले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासमा निर्वाह गरेको भुमिकालाई सकारात्मक रुपमा नै लिनु पर्छ । यद्यपि हिजोका दिनमा धेरै स्थानीय तहमा अनेक खालका विकृतिहरु देखापरेका थिए र अहिले पनि ती विकृति यथावत् छन् । अहिले आएको नयाँ नेतृत्वले आगामी दिनमा त्यस प्रकारका विकृतिहरु देखा नपर्ने गरि काम गर्नुपर्छ । दिनको संकेत विहानीले गर्छ भने जस्तै जनप्रतिनिधिहरुले जनतालाई केन्द्रविन्दुमा राखेर विभिन्न महत्वपुर्ण योजनाहरु सार्वजनिक गरि त्यसको शसक्त कार्यान्वयन गर्नुपर्छ ।

स्थानीय तहको नयाँ नेतृत्वलाई शुरु देखि नै नैतिकवान बनाउदै असल आचरणयुक्त र सुशासनयुक्त राख्न सकियो भने ती स्थानीय तहले पाच वर्षको अवधिमा धेरै कामहरु गर्न सक्छन् । यसका लागि केन्द्रिय सरकारले आवश्यक प्रशिक्षण र पैरवी गर्न जरुरी छ । राजनीतिक दलहरुले पनि आफ्नो दलबाट जितेका जनप्रतिनिधिहरुको काम कारवाहीको विशेष निगरानी राख्नु पर्छ । आफ्ना जनप्रतिनिधिहरुले खराब काम गरेमा त्यसको दोष राजनीतिक दललाई पनि जाने भएकाले आफ्ना जनप्रतिनिधिलाई खराब काम गर्नबाट रोक्नु दलहरुको पनि विशेष जिम्मेवारी र दायित्व हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न समयमा गरेको अध्ययनले स्थानीय तहमा सबैभन्दा बढि भ्रष्टचार हुने गरेको निश्कर्ष निकालेको छ । अख्तियारमा परेका उजुरीहरुको विश्लेषणले पनि सबैभन्दा बढि भ्रष्टचार स्थानीय तहमा नै हुने गरेको देखाउछ । अख्तियारले गरेको अध्ययन अनुसार स्थानीय तहमा सबैभन्दा बढि भ्रष्टचार हुने क्षेत्रमा योजना रहेको छ । त्यसैगरि स्थानीय तहमा रहने प्रशासनिक क्षेत्र, आर्थिक प्रशासन, राजश्व, पंजीकरण दर्ता, शैक्षिक ल, घरनक्सा पास, स्वास्थ्य , आपुर्ति व्यवस्थापन, वातावरण लगायतका क्षेत्रमा बढि भ्र्रष्टचार हुने गरेको अख्तियारले औल्याएको छ । अख्तियारले स्थानीय तहमा भ्रष्टचार बढ्नुको कारण समेत पहिचान गरेको छ । अख्तियारका अनुसार स्थानीय तहमा भ्रष्टचार बढ्नुको मुख्य कारण नै दण्डहीनताको संस्कृति हो । स्थानीय तहमा जसले जतिसुकै भ्रष्टचार गरे पनि कारवाही र दण्ड हुन नसक्दा भ्रष्टचार गर्नेलाई प्रश्रय मिलेको बताइन्छ । तर पछिल्ला समयमा अख्तियारले आफ्नो अनुसन्धानलाई स्थानीय तहमा केन्द्रित गर्न थालेपछि भने भ्रष्टचार गर्नेहरुलाई सकस पर्न थालेको छ । यद्यपि विभिन्न उपायहरु अपनाएर भ्रष्टचार गर्ने प्रवृत्तिमा भने खासै कमी आउन सकेको छैन् । यस्तै स्थानीय तहमा भ्रष्टचार बढ्नुका अन्य कारणमा राजनीतिक संरक्षण, चुनावमा धेरै खर्च लागेकाले सो खर्च उठाउने प्रयास गर्दा पनि भ्रष्टचार बढेको अख्तियारको ठहर छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारीको अनुभवमा भने केहि स्थानीय तहमा भ्रष्टचार भएपनि धेरै स्थानीय तहले राम्रो सँग काम गरिरहेका छन् । ‘केहि स्थानीय तहमा भ्रष्टचार भयो भन्दैमा सवैलाई त्यही रुपमा हेर्न हुन्न , धेरै ठाउमा राम्रो काम पनि भइरहेको छ । ’मन्त्रालयका सचिव अधिकारीले भने । उनले स्थानीय तहले विकासको जग बसाउन पनि महत्वपुर्ण भुमिका निर्वाह गरिरहेको बताए । अधिकारीले भने अनुसार नै स्थानीय तह विकासको जग बसाउने महत्वपुर्ण सरकार हो । यद्यपि यहा हुने गरेका विभिन्न खाले भ्रष्टचार र अनियमितता भने अब रोकिनु पर्छ । किनकी सुशासन युक्त स्थानीय तहले मात्रै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सफल बनाउन महत्वपुर्ण भुमिका खेल्न सक्छ । सुशासन कायम हुन सकेमा मात्रै यसले जनप्रिय काम गर्न सक्छ र जनताको आशा र भरोषाको केन्द्र बन्न सक्छ त्यसैले स्थानीय सरकारलाई अझै सबलीकरण र शसक्त बनाएर अघि बढाउनु पर्छ । यसका लागि स्थानीय तहका जनप्रतिनिधिहरु इमान्दार, नैतिकवान, कर्तव्यनिष्ट र पारदर्शी भएर अगाडि बढ्नु अहिलेको अहम आवश्यकता हो ।

तपाइको प्रतिक्रिया
(Visited 539 times, 1 visits today)

epaper

ताजा समाचार

आज साउने सङ्क्रान्ति पर्व