यसरी अघि बढे सफल हुन्छन् नयाँ जनप्रतिनिधि

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएपछिको स्थानीय तहको दोस्रो निर्वाचन सानदार रुपमा सफल भएको छ । यो निर्वाचन सँगै संघीय शासन व्यवस्थाको कार्यान्वयनको लागि ठुलो अवसर पनि प्राप्त भएको छ । स्थानीय तहको निर्वाचन सफलतापुर्वक सम्पन्न भएपछि यसले तीन वटा सन्देश स्पष्ट रुपमा दिएको छ । पहिलो सन्देश, निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगले जुन परामर्श दिन्छ तद्नुसार नै सोही मितिमा निर्वाचन गरिनु पर्छ , दोस्रो कुनै पनि बहानामा संविधानले तोकिएकै अवधिमा स्थानीय तहको अविच्छिन्नतालाई टुटाउने गरि कुनै पनि क्रियाकलाप गरिनु हुदैन । र तेस्रो स्थानीय तह भनेका सुशासन र सेवा प्रवाह को सबैभन्दा ठुलो माध्यम हो । यसको सवलीकरण बाट मात्रै मुलुकको समृद्धि सम्भव छ भन्ने सन्देश निर्वाचन र अहिलेको अवस्थाले दिएको छ ।

स्थानीय सरकार सफल बन्ने सुत्र


स्थानीय तहको निर्वाचनमा आमजनताको जुन किसिमको उत्साह र सहभागिता देखियो , केन्द्रिय स्तरका नेताहरु र प्रदेश सभाका सांसदहरुमा समेत स्थानीय तहमा नेतृत्व गर्नु पर्छ र त्यहा गएर जनताको राम्रो सेवा गर्न सकिन्छ भन्ने मानसिकता विकास भयो, कतिपयले भाग नै लिए । नयाँ निर्वाचित हुने जनप्रतिनिधिहरुमा मैले जनताको नजीकमा बसेर जनताको हीतमा कसरी काम गर्नुपर्दोरहेछ भन्ने सोच पलाउनु नीकै सकारात्मक हो ।

जनप्रतिनिधिहरुले कसरी काम गर्नुपर्छ भन्नेमा मेरो सुझाव छ – सबैभन्दा पहिला त जनप्रतिनिधिहरुले संस्थागत किसिमले अध्ययन गरेर त्यहाको कर्मचारीतन्त्र सँग छलफल गरेर कुशलतापुर्वक समन्वय गर्नुपर्छ । उनीहरुले प्रचलित ऐन नियम कानुन भित्र बसेर गर्न मिल्ने विषयहरु मात्रै कामको रुपमा घोषणा गर्नुपर्छ । सस्तो लोकप्रियताको निम्ति काम गर्नुहृुदैन् । घोषणा गर्ने तर काम हुन नसक्ने खालका कार्यक्रम घोषणा गर्नै हुदैन् । त्यसले जनप्रतिनिधिहरुलाई जनताको माझमा अलोकप्रिय र बद्नाम बनाउछ । जनप्रतिनिधिहरुले यथार्थपरक र वास्तविक कार्यक्रम मात्रै ल्याउन सक्नु पर्छ ।

अहिले आएका जनप्रतिनिधिहरुले म जनता सँग प्रिय हुन सक्छु जनताको काम गर्न सक्छु र फेरि पनि निर्वाचन जित्न सक्छु भन्ने भावना लिएर अगाडि बढ्नु पर्छ


दोस्रो सुझाव , गत ५ वर्षको अवधिमा तत्कालीन जनप्रतितिधिहरुले , कति श्रोतको परिचालन गरे? ति सेवा सु्विधा कुन रुपमा दिए ? , सेवा प्रवाह प्रभावकारी भयो की भएन ?त्यसका राम्रा पक्ष के थिए र नराम्रा पक्ष के थिए ? ती सबैको गम्भीर समीक्षा गर्नुपर्छ ।

विगतमा ल्याइएका कुनै कार्यक्रम कार्यान्वयन हुन नसक्ने भए त्यस्ता कार्यक्रमलाई बन्द गरि कार्यान्वयन हुन सक्ने खालका राम्रा कार्यक्रम ल्याउन सक्नु् पर्छ अहिलेका जनप्रतिनिधिहरुले । तेस्रो सुझाव, हाम्रो धेरैजसो कामहरु माथि देखि तलसम्मकै बढि वितरणमुखी भएकाले त्यो त्यति धेरै प्रभावकारी र प्रतिफल दिने खालको हुन सकेन । त्यसैले अबको स्थानीय सरकारले वितरणुमखी योजना तथा कार्यक्रमलाई उत्पादनमुखीमा रुपान्तरण गर्नुपर्छ । तत्काल फाइदा दिने भन्दा पनि दीर्घकालिन हीत हुने खालका योजना र कार्यक्रम ल्याउन सक्नु पर्छ । जनतालाई राहत दिनका लागि सेवा सुविधालाई सुधार गर्ने हो । स्थानीय सरकारका मुख्य प्रतिनिधिहरुले म यति वृद्ध भत्ता वितरण गर्छु भन्दा पनि मेरो पालिकाका सबै जेष्ठ नागरिकलाई स्थानीय तहको जुनसुकै स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था गर्छु भन्न सक्नु पर्छ र सोही अनुसारका जनप्रिय कार्यक्रम ल्याउनु पर्छ ।

म विद्यार्थीहरुलाई कपि कलम वितरण गर्छु भन्ने होइन हाम्रो पालिकाको विद्यालयमा निशुल्क र गुणस्तरिय शिक्षा दिन्छु र त्यसका लागि जस्तोसुकै दक्ष शिक्षक राख्न पनि म आवश्यक लगानी गर्न सक्छु भन्ने हिम्मत र अठोट स्थानीय सरकारले लिनु पर्छ । त्यसैले वितरणमुखी भन्दा पनि गुणात्मक सुधारको कार्यमा जानु पर्छ शिक्षा र स्वास्थ्यको सन्दर्भमा । यस्तै कृषिको सन्दर्भमा पनि प्रोसेसमा होइन उत्पादन र नतीजालाई जोड दिनु पर्छ । म यति उत्पादन भयो भने यति ‘सब्सिडि’ दिन्छु भन्ने कार्यक्रम ल्याउनु पर्छ । उत्पादनलाई रोजगारी सँग जोड्नु पर्छ । मेरो गाउमा रोजगारी गर्ने उद्योग खोलिन्छ भने म त्यसलाई आवश्यकता अनुसार अनुदान दिन्छु भन्ने खालका कार्यक्रम ल्याउन सक्नु प¥यो । त्यहा बाटो र पुर्वाधार पु¥याउछौ भनेर पनि स्थानीय सरकार आउनु पर्छ अबको दिनमा । चौथो सुझाव –जनप्रतिनिधिहरुले घोषणा पत्रमा जे लेख्नु भएको छ, त्यो घोषणा पत्रलाई १५ दिनमा एक पटक पढ्ने गर्नुपर्छ । विगतमा काम गर्छु भनेर गरेका प्रतिवद्धताहरु आफ्नो कार्यकक्षमा टासेर राख्न सक्नु पर्छ । घोषणा पत्रमा समेटिएका योजनाहरुको विस्तृतीकरण गर्नुपर्छ । अघिल्लो चोटी धेरै स्थानीय तहले एउटा डेटा बेस पनि तयार गरेका छन् र आवद्यिक योजना पनि बनाएका छन् । त्यो अवद्यिक योजनामा स्थानीय सरकार कहा पुग्यो ? भन्ने ’boutमा नयाँ नेतृत्वले गम्भीर समीक्षा गर्न जरुरी छ । त्यो कसले बनाएको भन्दा पनि केका लागि र किन बनाइएको भन्ने प्रश्नको उतर खोज्ने गरि काम गर्नुपर्छ । पाचौ तथ सबैभन्दा महत्वपुर्ण सुझाव भनेको श्रोतको प्रभावकारी परिचालन हो ।

आन्तरिक र बाह्य श्रोत परिचालन , यी दुई स्रोत बीच तदाम्यता कायम गराउन सक्नु पर्छ । धेरैजसो ठाउमा अनावश्यक रुपमा प्रशासनिक खर्च भइरहेको छ । त्यो कटौती गर्नुपर्छ । स्थानीय तहमा रहने कार्यपालिकाको बैठक र सभाको बैठकमा पनि भत्ता लिनु हुदैन् । अनावश्यक भत्ता वितरण गर्ने कार्य पुर्ण रुपमा निषेध नै गर्नुपर्छ । सुधार आफैबाट गर्नुपर्छ । अनावश्यक रुपमा सल्लाहकार बापत खर्च गर्ने गरिएको छ त्यो पनि हटाउनु पर्छ ।

स्थानीय तहमा काम गर्दा स्थानीय प्रविधिको प्रयोग गर्नसक्नु पर्छ । कतिपय स्थानीय तहले अनावश्यक कर उठाउने काम गरेका छन् यो गलत हो । साथै आफुखुशी कर बढाउने काम पनि गरेका छन् यो गलत हो । कर बढाउने होइन करको दायरा बढाउनु पर्छ । अनावश्यक खालका दस्तुर शुल्क हटाउनु पर्छ । यसरी नयाँ जनप्रतिनिहरुले जनताले राहत अनुभूति गर्ने खालका महत्वपुर्ण र यथार्थपरक कार्यक्रम ल्याउनु पर्छ ।

हामीकहा स्थानीय तहमा धेरै सहकारी सञ्चालनमा छन् । हरेक पालिकाले कम्तिमा पनि एउटा वडामा सस्तो बजार सञ्चालन गर्नुपर्छ । त्यसका लागि सहकारीलाई आवश्यकता अनुसार अनुदान दिन सकिन्छ ।ती सस्तो बजारमा अन्यत्र भन्दा हरेक सामान केहि सस्तोमा दिन थाल्ने हो भने नागरिकले नीकै राहतको अनुभूति गर्न सक्ने छन् । स्थानीय सरकारको मुख्य काम भनेकै स्थानीय बासिन्दालाई राहत र सेवा प्रवाह दिनु नै हो । भोलि त्यस्ता सस्तो बजारको संख्या वृद्धि गर्दै लैजान सकिन्छ । हरेक स्थानीय तहले कुनै पनि सेवा यति समय सम्म दिइने छ भनेर स्पष्ट पार्नुपर्छ । तोकिएको समय भित्र सेवा दिने प्रणालीको विकास गर्नुपर्छ । स्थानीय सरकारका हरेक कामहरु पारदर्शी किसिमले सम्पन्न गर्नु पर्छ । जतिसक्दो कामहरु गर्दा प्रविधिमैत्री गर्नुपर्छ । गत पाँच वर्षको अवधिमा विधि विधान बनाउन काम गरियो अबको पाच वर्षमा विधिलाई प्रविधिमा जोडेर सोही अनुसार काम गरेमा स्थानीय सरकार सफल हुनेछन् । विधिलाई प्रविधिसँग जोड्न सकेमा मात्रै स्थानीय तहले समृद्धिको यात्रा सजिलै सफल बनाउने छन् ।

हालैको स्थानीय तहको निर्वाचनले देखाएको सिनारियो(सन्देश) के हो भने धेरै जसो ठाउमा जो जनप्रतिनिधिहरु फेरि दोहो¥याएर उठेका थिए उनीहरु अधिकांश ठाउमा पराजित भएका छन् । नयाँ उठेका अधिकांश व्यक्तिहरु जुनसुकै दलका भएपनि जितेका छन् । जनताले पुरानालाई साथ दिएनन भने नयाँबाट थप आशा राखेको पाइयो । यसले के सन्देश दिएको छ भने आम जनताले नयाँ व्यक्ति बाट केहि आशाको अपेक्षा गरे । यसले पुराना जनप्रतिनिधिहरुले जनताका आशा र अपेक्षालाई समेट्न नसकेको देखियो । त्यसैले अहिले निर्वाचित भएर आएका जनप्रतिनिधिहरुले यसबाट के पाठ सिक्नु पर्छ भने यदि उनीहरुले पनि राम्ररी जनअपेक्षा अनुसार काम गर्न सकेनन भने अर्को निर्वाचनमा उनीहरुको हार निश्चित छ । त्यसैले पनि अहिले आएका जनप्रतिनिधिहरुले सुशासन, इमान्दारीता र विकास निर्माणका कार्यमा दत्तचित्त भएर लागिपर्ने हो भने अहिलेका जनप्रतिनिधिहरुले यदि अर्को पटक पुन उठ्ने अवसर पाएमा सजिलै जित्न सक्ने अवस्था देखिएको छ । अहिले आएका जनप्रतिनिधिहरुले म जनता सँग प्रिय हुन सक्छु जनताको काम गर्न सक्छु र फेरि पनि निर्वाचन जित्न सक्छु भन्ने भावना लिएर अगाडि बढ्नु पर्छ ।

जनप्रतिनिधिहरुले सेवा प्रवाहको व्यवस्थित प्रणाली बनाउनु पर्छ । हामीकहा स्रोतको कमी भन्दा पनि व्यवस्थापनको कमी हो । नयाँ जनप्रतिनिधिहरुले व्यवस्थापकीय दक्षता र क्षमता देखाउनुपर्छ ।

निर्वाचनमा प्रतिस्पर्धा गरेर विजयी भएर आएका जनप्रतिनिधिहरुले निर्वाचन पछि भने मित्रता र एकताको भाव राख्न सक्नु पर्छ । उनीहरु कसैको भन्दा पनि सबैको बन्न सक्नु पर्छ ।नया जनप्रतिनिधिहरुले जनताको अभिमत पाएका छन्, लोकतन्त्रमा जनताको त्यो अभिमतलाई उच्च सम्मानका साथ प्रयोग गर्न सक्ने अवस्था सिर्जना गर्नु हरेक जनप्रतिनिधिहरुको दायित्व र कर्तव्य हो ।

( प्रमुख निर्वाचन आयुक्त निर्वाचन आयोग )

तपाइको प्रतिक्रिया
(Visited 131 times, 2 visits today)

Ads Space Available

epaper

भर्खरै

केही समय बसेर सकियो कार्यदलको बैठक

कुरी-कुरी