नवलपुर । कोरोना भाइरसको डरकाकारण पश्चिम नवलपरासीको सुनवल वर्दघाट क्षेत्रमा स्थानिय सरकारको निर्देशनमा हाटबजारहरु बन्द गरिएका छन् ।
गत बिहिबार सुनवल नगरपालिकाले एक विज्ञप्ती जारी गरी सुनवल क्षेत्रमा लाग्ने साप्ताहिक हाट बजारहरु बन्द गर्न आग्रह गरेपछि अहिले सुनवल र वर्दघाट नगरपालिका क्षेत्रका हाट बजारहरु बन्दभएको आइत’bout मंगलवारे हाटबजार ब्यवस्थापन समिति सुनवलका अध्यक्ष कृष्ण प्रसाद देवकोटाले बताए ।
सुनवल र बर्दघाट नगरपालिकाका स्थानीय सरकारहरुले विज्ञप्ती जारी गरी स्वाश्थ्य सुरक्षाका लागि अर्को सूचना जारी नहुँदा सम्मका लागि विभिन्न स्थानमा लाग्ने सम्पूर्ण हाटबजारहरु बन्द गर्न आग्रह गरेपछि अहिले सुनवल र वर्दघाट नगरपालिकाका सबै हाटबजारहरु अहिले बन्द अवस्थामा रहेको सुनवल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले बताए ।
हाट बजारहरु बन्द भएपछि मुख्य रुपमा तरकारीजन्य बजारको मुल्य स्थायी पसलहरुमा बृद्धी भएर सेवाग्राहीहरु मारमा परेको बताइएको छ ।
सुनवल र वर्दघाट क्षेत्रका सबै बारका हाट बजारहरु बन्द गरिएको भएपनि यी नगरपालिकाका छिमेकी नगरपालिका रामग्राम, खैरहनी लगायतका क्षेत्रमा भने बजारहरु बन्द भएका छैनन् ।
कोरोनाबाट सजग रहन पश्चिम नवलपरासी जिल्लाका सबै स्थानीय तहहरुले छुट्टाछुट्टै सूचना निकालेर साप्ताहिक रुपमा लाग्दै आएका हाटबजार बन्द गर्न निर्देशन दिएका छन् । जिल्लामा तीन नगरपालिका र चार गाउँपालिका गरी ७ स्थानीय तह छन् । सबै स्थानीय तह पिच्छे हरेक दिन हाटबजार लाग्दै आएको छ । एक स्थानीय तहमा फरक फरक बार पारेर ३ देखि ११ ठाउँसम्म हाटबजार लाग्दै आएको छ ।
स्थानीय तहले निकालेका सूचनामा स–साना पारिवारिक जमघटबाहेक कुनै पनि जात्रा, मेला, महोत्सव, भेला, सभा, सम्मेलन र मानिसको भिड हुने कार्यक्रम नगर्न भनिएको छ ।
यसैबीच जिल्ला प्रशासन कार्यालयले पनि सूचना निकालेर सभा, सम्मेलन, गोष्ठीजस्ता कार्यक्रम नगर्न सर्वसाधारणलाई सूचित गरेको छ । यसैबीच गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमा पत्रचार गरेर नाकामा निगरानी बढाउन निर्देशन गरेको छ ।






