६३ हजार विद्यार्थी दीक्षितको लाइनमा, गत वर्षभन्दा दोब्बर

Rajdhani Rastriya Dainik | Online Nepali News Portal


काठमाडौं । त्रिभुवन विश्वविद्यालयको अब हुने ४८औं दीक्षान्त समारोहमा त्रिविमा अध्ययन गरेका करिब ६३ हजार विद्यार्थी दीक्षित हुने देखिएको छ । त्रिवि सभाले ६३ हजार १ सय ३७ विद्यार्थीको ग्रेस लिस्ट पास गरेको छ ।

त्रिविको ६३औं वार्षिक दिवसका अवसरमा विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सभाध्यक्षतामा बसेको सभाले ६०औं ग्रेस लिस्ट पास गरेको हो । त्रिवि सभाले पास गरेका ग्रेस लिस्टमा परेका विद्यार्थीले दीक्षन्त समारोहमा सहभागी जनाउन पाउने व्यवस्था छ । उनीहरूले अब त्रिविको ४८औं दीक्षान्त समारोहमा भाग लिन पाउने भएका हुन् ।

सभाले पास गरेको ग्रेस लिस्ट विभिन्न संकायअन्तर्गत स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि उपाधितर्फको हो । गत वर्ष २९ हजार ७ सय २९ जना विद्यार्थी मात्र दीक्षित भएका थिए । उक्त संख्या अहिलेको तुलनामा आधाभन्दा कम हुन जान्छ । कोभिड–१९ महामारीको प्रकोपका कारण गत वर्ष संख्यामा ह्रास आएको थियो ।

त्रिवि कुलपति समेत रहेका प्रधानमन्त्री देउवाले विश्वविद्यालयबाट प्रदान हुने उच्च शिक्षालाई प्रविधिमैत्री र अनुसन्धानात्मक बनाउन आवश्यक रहेको बताएका छन् । यसले विद्यार्थीको बाह्य बजारमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता र सीप पनि विकास हुन जाने उनको भनाइ छ ।
प्रधानमन्त्री देउवाले त्रिविलाई समाजको विकास र परिवर्तनका लागि नेतृत्व लिन सक्ने तथा नवप्रवर्तनशील उद्यम तथा व्यवसाय गर्न सिकाउने शैक्षिक केन्द्र बनाउनुपर्नेमा समेत जोड दिएका छन् ।

विश्वविद्यालयका सहकुलपति तथा शिक्षामन्त्री देवेन्द्र पौडेलले त्रिविलाई यसै वर्षदेखि सेन्टर अफ एक्सिलेन्स बनाउने तयारी थालेको बताएका छन् ।

त्रिवि उपकुलपति डा. धर्मकान्त बास्कोटाले त्रिवि उपकुलपति डा. धर्मकान्त बास्कोटाले विभिन्न संघसंगठनको नाममा २ सय ९२ दिन तालाबन्दी गरी काममा अवरोध पु¥याएप्रति आक्रोश पोखेका छन् । ‘मेरो कार्यकाल सुरु भएलगत्तै कोभिड महामारी फैलिएकाले विश्वविद्यालयको काममा शिथिलता आयो, महामारीलाई स्वाभाविक मान्न सकिए तापनि विभिन्न संघसंगठनको नाममा आजका दिनसम्म जम्मा २ सय ९२ दिन तालाबन्दी गरी काममा अवरोध पु¥याउनु कदापि स्वाभाविक मान्न सकिन्न,’ उनले भने ।

नवीकरण नगरिएका क्याम्पस खारेज

त्रिवि सभाले लामो समयदेखि नवीकरण नगरिएका क्याम्पस खारेज गर्ने निर्णय समेत गरेको छ । त्रिविले सम्बन्धनमा कार्यक्रम चलाइरहेका तर लामो समयदेखि नवीकरण नगरिएका क्याम्पलाई खारेज गर्ने र सम्बन्धन प्राप्त क्याम्पसलाई एकआपसमा गाभ्ने नीति तथा कार्यक्रम अघि बढाएको छ । त्रिवि सभाले आर्थिक वर्ष २०७९/८० का निम्ति २४ अर्ब ८७ करोड ५७ लाख १४ हजार रुपैयाँ बजेट पारित गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 215 times, 1 visits today)

epaper

ताजा समाचार

त्रिशूलीमा यात्रुसहितको ‘अन टेस्ट’भ्यान बेपत्ता