१२ वर्षमा २ सय ३४ बाघ बढे, पुग्यो ३ सय ५५ संख्या

ललितपुर । नेपालमा बाघ संख्या उल्लेख्य मात्रामा वृद्धि हुँदै ३ सय ५५ पुगेको छ । ‘विश्व बाघ दिवस’का अवसरमा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो बाघ संख्या सार्वजनिक गरेका हुन् ।

सन् २०१८ को पछिल्लो गणनामा २ सय ३५ बाघ रहेको नेपालमा चार वर्षपछिको गणना क्रममा १ सय २० बाघ वृद्धि हुँदै ३ सय ५५ पुगेको हो ।

सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा बाघ पाइने १३ मुलुकबीचको सम्मेलनले २०२२ सम्म दोब्बर पार्ने लक्ष्य लिएको थियो । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र वन तथा भूसंरक्षणमन्त्री दीपक बोहोरासहितको टोलीले अन्तर्राष्ट्रिय समुदायमाझ सन् २०२२ सम्म बाघ संख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएको थियो । त्यतिबेला १ सय २१ बाघ थिए । यसपछि सन् २०१३ को गणनामा नेपालमा १ सय ९८ बाघ पाइएका थिए ।

नेपालले २ सय ५० बाघ पु¥याउने लक्ष्य लिए पनि त्योभन्दा १ सय ५ बाघ थप भएको छ । यो लक्ष्य पूरा गर्ने नेपाल पहिलो राष्ट्र बनेको छ । सन् २०२१ डिसेम्बरदेखि २०२२ फेब्रुअरीसम्म राष्ट्रिय निकुञ्ज र आसपासका सामुदायिक वन तथा क्षेत्रमा गरिएको राष्ट्रिय बाघ सर्वेक्षण क्रममा ३ सय ५५ बाघ भेटिएका हुन् ।

नेपाल अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न सफल

२४ जिल्लाका १९ हजार वर्गकिलोमिटर क्षेत्रमा १ हजार ८ सय ४३ क्यामेरा ‘ग्रिड’ राखेर गणना गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट डा. गणेश पन्तले जानकारी दिए ।

सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ९३ बाघबाट बढेर १ सय २५ पुगेको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा ८७ बाट बढेर १ सय २५ पुग्दा पर्सा निकुञ्जमा १८ बाट बढेर ४१ बाघ संख्या पुगेको छ । शुक्लाफाँटा निकुञ्जमा १६ बाट २० बाघमा वृद्धि हुँदै ३६ पुगेको छ ।

त्यस्तै, तुलनात्मक रूपमा सबैभन्दा कम बाघ वृद्धि भएको बाँके निकुञ्जमा २१ बाट बढेर २५ बाघ पुगेको छ । यसअघि, सन् २०१८ मा नेपालमा २ सय ३५ बाघ थिए । बाघ पाइने पाँचै राष्ट्रिय निकुञ्जमा संख्या बढेको छ ।

प्रधानमन्त्री देउवाले शुक्रबार बाघ दिगो रूपमा संरक्षण गर्न संरक्षित क्षेत्रबाहिरका जैविक मार्ग एकीकृत रूपमा संरक्षण तथा व्यवस्थापन गरी आहारा प्रजातिको उपलब्धता वृद्धि गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय बाघ संरक्षण समिति अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले ‘वन्यजन्तुमैत्री’ निर्माणमा समेत जोड दिए । उनले बाघ संख्या बढेसँगै मानव र वन्यजन्तुबीच सहअस्तित्व कायम गर्न वन्यजन्तुबाट हुने क्षतिको राहत वितरण तथा पुनस्र्थापना अझ प्रभावकारी बनाउनुपर्ने बताए ।

प्रधानमन्त्री देउवाले बाघ संरक्षण तथा जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्न आन्तरिक तथा बाह्य स्रोत परिचलन गरी वार्षिक १ अर्ब विनियोजन घोषणा गरे ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अन्तर्राष्ट्रिय समुदायमाझ बाघ दोब्बर गर्ने प्रतिबद्धता नेपालले पूरा गरेकामा खुसी व्यक्त गरे ।

वन तथा वातावरणमन्त्री प्रदीप यादवले बाघ बढेसँगै मानिससँगको द्वन्द्वको चुनौती थपिएको औंल्याए ।

‘स्वस्थ पारिस्थिकीय प्रणालीका लागि बाघ संरक्षण’ नारासहित शुक्रबार नेपालमा ‘बाघ संरक्षण दिवस’ मनाइएको हो ।

सोही अवसरमा मन्त्रालयका सचिव पे्रमनारायण कँडेलले ‘अबको बाटो बाघ संरक्षणसँगै यसलाई जीविकोपार्जनसँग पनि लिएर जानुपर्ने’ आवश्यकता औंल्याए । उनका अनुसार सन् २०२२ को अन्तिमतिर रसियाको सेन्टपिर्टसबर्गमै हुने बाघ पाइने मुलुकको सम्मेलन दौरान सन् २०१० को प्रतिबद्धता पेस गरिनेछ । विभागका अधिकारी, बाघ संरक्षणमा लागिपरेका डब्लूडब्लूएफ, जेडएसएल, एनटीएनसीलगायत संस्थाका विज्ञसहितको ६ सय जनशक्तिले बाघ गणना गरेको हो ।

संख्याका हिसाबले नेपालभन्दा बढी संख्याको बाघ रहेका भारत, रसिया, इन्डोनेसिया, र मलेसियाले भन्दा बाघ संख्या वृद्धिमा नेपालले फड्को मारेको छ । छिमेकी भुटान र बंगलादेशमा बाघ पाइने भए पनि नेपाल दोब्बर पार्ने अभियानमा दु्रत गतिमा अघि बढेको देखिन्छ ।

विश्वका १३ देशमा बाघ
विज्ञअनुसार विश्वका १३ देशमा मात्र बाघ पाइन्छ । एसियामा नेपाल, भारत, भुटान, बंगलादेश, थाइल्यान्ड, इन्डोनेसिया, मलेसिया, कम्बोडिया, चीन, लाओस, म्यानमा, भियतनाम र रसियामा बाघ पाइन्छ ।

विश्वमा सबैभन्दा धेरै भारतमा बाघ पाइन्छ भने उत्तर कोरियामा बाघ पाइए पनि त्यहाँ गणना भएको छैन । सय वर्षअघि १ लाखको हाराहारीमा रहेको बाघ संख्या विभिन्न मानवीय क्रियाकलापका कारण घटेर ३५ सयको हाराहारीमा पुगेको विज्ञको भनाइ छ । बाघका नौ प्रजातिमध्ये बाली, क्यासपियन र जाभान प्रजाति लोभ भइसकेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 96 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी