सिन्धुली । सिन्धुलीमा एकसातामा ५ वटा चोरीका मोटरसाईकल भेटिएका छन । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले प्रहरीले ५ वटा मोटरसाईकल सहित ५ जनालाई पक्राउ गरि मुद्दा चलाएको जनाएको छ ।
उनीहरुलाई बुधबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका ११ का ३५ बर्षिय सुर्यमान लोक्चन, सर्लाहीको हरिवन नगरपालिका १ का २० बर्षिय पेमा लामा, सिन्धुलीको मरिण गाउँपालिका ३ चनौटेका २१ बर्षिय सुनिल योञ्जन, सिन्धुलीकै कमलामाई नगरपालिका ४ ढकालगाउँका १८ बर्षिय साजन विशंखे र धनुषाको जनकपुर उपमहानगरपालिका २० का महमद रजाखखान रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी श्याम बहादुर खत्रीले बताए ।
पक्राउ परेका सुर्यमान लोक्चनलाई ठगि तथा सार्वजनिक लिखत मुद्दा चलाईएको छ भने अन्य चार जनालाई चोरी मुद्दा चलाईएको खत्रीले बताए ।
लोक्चनले २०७३ साल साउन १ गते काठमाण्डौको जोरपाटीबाट हराएको बा ७४ प ७४७७ नम्बरको मोटरसाईकलको नम्बर परिर्वतन गरि ना ३८ प ९७४३ बनाई विक्रि गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक खत्रीले बताए ।
लोक्चनले उक्त मोटरसाइकल नारायणी यातायात व्यवस्था कार्यालयमा अर्कै व्यक्तिको नाममा दर्ता गरि सिन्धुलीको मरिण गाउँपालिकाका उद्योण वाणिज्य संघका अध्यक्ष चिनध्वज बम्जनलाई विक्री गरेको र चिनध्वजले नयाँ कायम गरिएको नम्बरमा राजस्व समेत बुझाउदै आएको पाईएको उनले बताए ।
प्रहरीले कमलामाई नगरपालिका ६ माझिटारमा नियमित चेकजाँचका क्रममा ना३८प ९७४३ नम्बरको मोटरसाईकल सहित लोक्चनलाई पक्राउ गरेको थियो ।
यस्तै इलाका प्रहरी कार्यालय कपिलाकोटले काठमाण्डौबाट प्रदेश नं. १–०१–०२४–१६९२ नम्बरको मोटरसाईकल चोरी गरेको आरोपमा पेमा लामा र सुनिल योञ्जनलाई पक्राउ गरिएको पत्रकार सम्मेलन मार्फत जनकारी गराईएको छ । लामा र योञ्जनले चैत्र १ गते बा १९ प २५३९ नम्बरको मोटरसाईकल चोरी गरि चलाउदै आएको अवस्थामा चैत्र ३ गते पक्राउ गरेको थियो ।
यस्तै पक्राउ परेका कमलामाई ४ का बिशंखेले यहि चैत्र ३ गते कमलामाई नगरपालिका ५ मा कम्पाउण्ड भित्र पार्किङ्ग गरि राखिएको ज १० प ८३०८ नम्बरको मोटरसाईकल चोरी गरेको र मोटरसाईकल दुर्घटना भएको थाहा पाएपछि प्रहरीले धुराफाटबाट चैत्र ४ गते प्रहरीले पक्राउ गरेको हो ।
यस्तै यहि चैत्र १ गते कमलामाई नगरपालिका ९ बाट ज ४ प ११२४ नम्बरको मोटरसाईकल चोरी गरेको अभियोगमा महमदलाई इलाका प्रहरी कार्यालय भिमानले चैत्र २ गते कमलामाई नगरपालिका ९ बथानचौरीबाट पक्राउ गरि मुद्दा दर्ता गरेको प्रहरी नायव उपरीक्षक खत्रीले बताए ।
पक्राउ परेकामध्ये साजनको साथबाट १७ थान नाइट्राभेट नामक लागु औषध समेत बरामद गरिएको प्रहरीले जनाएको छ । चोरीका मोटर साईकलमा लागु औषधको कारोबार समेत हुने गरेको खत्रीले बताए । जिल्लाका ग्रामिण क्षेत्रमा चोरीका मोटरसाईकल बढेको सूचनाका आधारमा प्रहरीले खोजी अभियान थालेको समेत खत्रीले बताए ।







