काठमाडौं । अभिनेत्री पुजा शर्मा र अभिनेता आकाश श्रेष्ठले अभियन गरेको चलचित्र सम्झना विर्सना गत महिना रिलिज भएको थियो । व्यबसायिक रुपमा यो फिल्म असफल रह्यो । यही जोडीको अर्को चलचित्र सम्हालिन्छ कहिले मन १७ भदौबाट दर्शकमाझ आउने भएको छ ।
कोभिडको लहर अघि नै छायाँकन गरिएको यो चलचित्र बल्ल रिलिज हुन लागेको हो । अघिल्लो चलचित्र असफल भए पनि यो चलचित्र राम्रो हुने कथन यी दुई अभिनेता अभिनेत्रीको रहेको छ ।
यो चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा सम्हालिन्छ कहिले मनको नयाँ गीत सोमबार रिलिज गरिएको छ ।
निर्माण पक्षले यो चलचित्रको हराएँ हराएँ…गीतको भिडियो सोमबार रिलिज गरेको हो । जसमा ताराप्रकाश लिम्बु र अनु चौधरीले स्वर दिएका छन् । आनन्द अधिकारीको शब्द रचना रहेको यो गीतको संगीत ताराप्रकाशले गरेका हुन् ।
यो गीतलाई बेलायतका विभिन्न स्थान र नेपालको मुस्ताङमा छायांकन गरिएको छ । गीतको भिडियोमा पूजा शर्मा र आकाश श्रेष्ठको जोडी सुहाएको छ । भिडियो कोरियोग्राफी कविराज गहतराजले गरेका छन् ।
एबी इन्टरनेशनलसंग भिक्टर सिनेमा लिमिटेडले निर्माण सहकार्य गरेको सिनेमामा अर्जुन पोखरेल÷ताराप्रकाश लिम्बु÷जेम्स प्रधानको संगीत र अर्जुन जिसीको सम्पादन छ । सिनेमालाई अमित बस्नेत, अजित केआर थापा र परी रानाले निर्माण गरेका हुन् ।
महेश दवाडीको लेखन रहेको सिनेमामा पूजा र आकाशसँगै अभिनेता सोनम तोप्देन, सरोज खनाल, धिरेन शाक्य, गौरी मल्ललगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।






