मुम्बई । ‘फिटनेस’लाई लिएर कलाकर्मी अति नै सजग हुने गर्छन् । यसका लागि सन्तुलित आहार उनीहरूको मुख्य ध्येय हो । त्यसमाथि ‘फिटनेस’मा अझ बढी ध्यान त दिनैप-यो । अचेल बलिउडकर्मी ‘फिटनेस ट्रेनर’स“ग घन्टौं बिताउने गरेका छन् । यही मेसोमा पर्छन्, शाहिद कपुर र उनकी पत्नी मीरा राजपूत ।
यद्यपि, शाहिद र मीराले ‘फिटनेस’मा ध्यान दिँदै गर्दा अलिकति महँगै पर्ने देखिएको छ । हालै मुम्बई बान्द्रास्थित जिम हलबाहिर देखिएका उनीहरूलाई बीएमसीको तर्फबाट एउटा सूचना पठाइयो, ‘जिममा सिल गरिसकेको छ ।’ तर, जिम हलका मालिक युधिष्ठिर जयसिंहले भने ‘सिल नभएको’ बताए । देशभर फैलिँदो कोरोना भाइरसको बढ्दो जोखिम मध्यनजर गर्दै महाराष्ट्र सरकारले गत शनिबार मुम्बईका सबै जिम र सिनेमा घर मार्चभर तक बन्द गर्न आदेश दिएको थियो । यसको भोलिपल्टै शाहिद पत्नी मीरासँग जिम हल बाहिर देखिएका थिए ।
शाहिद दम्पतीको फोटो सार्वजनिक भएसँगै बीएमसी अधिकारीबाट जिम हल मालिक युधिष्ठिर जयसिंहलाई ‘जिम खोल्नुको स्पष्टीकरण दिन’ सूचना जारी गरियो । उनले सफाइअनुरूप ‘सरकारको आदेशपछि जिम नखोलेको तर साथीको हैसियतले शाहिदको सहयोग गरेको’ बताए ।
‘जिम शुक्रबारबाटै बन्द भएको हो, त्यहाँ कोही पनि जिम गरिरहेका थिएनन्, न त ट्रेनर नै थिए,’ स्पष्टीकरणमा सिंहले भनेका छन्, ‘हामीले सरकारको आदेश पूर्ण पालना गरेका छौं ।’ शाहिद आगामी फिल्म सुटिङ गरेर चण्डीगढबाट भर्खरै फर्केका हुन् । फिल्म ‘जर्सी’ सुटिङ क्रममा उनलाई चोट लागेको थियो । कोरोना भाइरस संक्रमणकै कारण सो फिल्म सुटिङ स्थगित गरिएको छ ।







