दार्चुला । त्रिदेशीय सीमा जोडिएको जिल्लामा नेपाल–भारत जोड्ने मोटरेबल पुलको शिलान्यास गरिएको छ ।
महाकाली नगरपालिका—८ असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धारचुला तहसिल बलुवाकोट नजिकको छारछुम जोड्ने पुलको सोमबार शिलान्यास गरिएको हो ।
नेपालतर्फ सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र भारततर्फ उत्तराखण्डका मुख्यमन्त्री (सीएम) पुष्करसिंह धामीले संयुक्तरुपमा शिलान्यास गरेका हुन् ।
भारतीय पक्षले निर्माण गर्ने एक सय १० मिटर लम्बाई भएकोे उक्त मोटरेबल पुलको शिलान्याससँगै त्रिदेशीय सीमा जोडिएको क्षेत्रमा अन्तरदेशीय पुल निर्माणले व्यापारिक मार्गमा जोडिने भएको छ ।
शिलान्यास कार्यक्रमलाई बोल्दै मन्त्री बडूले दार्चुलालाई सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक नाकाको रुपमा लिनुपर्ने बताए । यो पुलबाट चीनसँगको ताँलाकोट नाका १ सय ३४ किलोमिटर र तराईको बह्मदेवमण्डी २ सय २१ किलोमिटर दूरीमा पर्छ ।
महाकालीमा मोटरपुल निर्माण भएपछि दार्चुला,बैतडी, बझाङ लगायत सुदूरपश्चिमका पहाडी जिल्लाका साथै भारत र चीनसम्मको व्यापार दार्चुलाको नाकाबाट हुने भएको छ ।
मोटरेबल पुल निर्माण भए यातायात,मालसामान ढुवानीमा सहज हुनुकासाथै दार्चुलाको विकास तथा उनन्तीको ढोका खुल्ने भएको छ ।
पुल शिलान्यास कार्यक्रममा जिल्ला समन्वय प्रमुख महादेव बडू(कश्यप),नेपालस्थित भारतीय दूतावासका डीसीएम प्रशान्त श्रीस्ताव, उद्योग मन्त्रालयका सहसचिव नारायणप्रसाद रेग्मी लगायतको सहभागिता रहेको थियो ।