सिन्धुली । जिल्लामा विगत एक वर्षमा ३ सय बढी लैंगिक हिंसाका घटना भएको पाईएको छ । एकद्धार संकट व्यवस्थापन केन्द्रमा गत आर्थिक वर्षमा तीनसय १२ वटा लैंगिक हिंसाका घटनाहरु आएका छन । जसमा सबैभन्दा बढी महिला तथा बालिकाहरु पीडित देखिएका छन । आर्थिक वर्ष २०७८/७९ मा २ जना पुरुषहरु मात्र हिंसामा परेको पाईएको छ ।
केन्द्रमा भएका घटनामध्ये भावनात्मक तथा मानसिक हिंसाबाट १२२ जना महिला र २ जना पुरुष गरि १२४ पीडित भएका छन । शारीरिक हिंसाबाट ५४ जना, यौनदुव्र्यवहारबाट २५ जना, बलत्कारबाट ४१ जना, श्रोत तथा सेवाबाट बञ्चित भएका ४७ वटा घटना आएका छन ।
यस्तै दाईजो प्रथा १, बालविवाह २ र अन्य १८ वटा घटना केन्द्रमा आएको ओसिएमसिका काउन्सिलर सुनिता शर्माले बताएकी छिन ।
उनका अनुसार जिल्लामा हिंसाबाट प्रभावित हुनेमा किशोरी तथा युवा उमेरका महिलाहरु रहेका छन । ९ वर्षसम्मका बालबालिका ९ जना, १० देखि १९ वर्षसम्मका बालिकाहरु ६१ जना, २० देखि ४९ वर्षसम्मका १९४ जना महिला र ५० वर्ष माथिका ४८ जना प्रभावित भएको पाईएको छ ।
शर्माका अनुसार लैंगिक हिंसाको चपेटामा बालबालिका, युवा तथा जेष्ठ नागरिक सबै परेको पाईएको छ । यसरी लैंगिक हिंसामा पर्नेमा सबैभन्दा बढी जनजाती र दलितहरु रहेका छन । जातीय हिसाबले हेर्दा जनजाती १२१ जना, दलित ७८ जना, मधेशी ८ जना, क्षत्रीबाहुन ९१ जना र अन्य ४ जना रहेका छन ।
जघन्य अपराधमा बालिका पीडित
एकद्धार संकट व्यवस्थापन केन्द्रमा एक वर्षमा ९ वर्ष मुनीका नौ बालिकाहरु उजुरी दिन आए । ती बालिकाहरु बलत्कार तथा यौन दुव्र्यवहारका घटनाबाट पीडित भएका थिए । यो अवधिमा केन्द्रमा आउने बालिका मध्ये १० देखि १९ वर्षका बालिकाहरु ६१ जना पीडित भए ३३ जना अर्थात झण्डै पचास प्रतिशत यौनजन्य हिंसाबाट पीडित बालिकाहरु रहे । उनीहरुमध्ये २१ जना बलत्कारबाट पीडित थिए भने १२ जना यौनदुव्र्यवहारबाट पीडित थिए । यस्तै मानसिक हिंसाबाट पीडित १८ जना बालिकाको उजुरी केन्द्रमा आयो । त्यहि समूहका २ जना बालिका बालविवाहबाट पीडित भएर आए ।
घरेलु हिंसाको जोखिममा महिलाहरु
ओसिएमसीको तथ्यांकलाई केलाउँदा महिलाहरु आफ्नै परिवारबाट सुरक्षित नरहेको देखिएको छ । तथ्यांक अनुसार २० देखि ४९ वर्ष उमेर समूहका महिलाहरु घरेलु हिंसाबाट अत्यधिक पीडित देखिए । घरेलु हिंसामा पनि शारीरिक, मानसिक हिंसाका साथै स्रोत र सेवाबाट बञ्चितीमा यो उमेर समूहका महिलाहरु बढी मात्रामा परेको पाईएको छ ।
एक वर्षमा २० देखि ४९ वर्षसम्मका १९४ जना महिलाहरु हिंसामा परेकामा शारीरिक हिंसा ४८ जना, श्रोत साधनबाट बञ्चित हुने ३९ जना, भावनात्मक तथा मानसिक हिंसामा पर्ने ७३ जना र बलत्कार तथा यौनदुव्र्यवहारबाट २२ जना महिला छन । यस्तै एकजना महिला दाईजो प्रथाबाट पीडित भएकी छिन ।
पचास कटेका पनि हिंसाबाट प्रभावित
ओसिएमसीको तथ्यांकलाई हेर्दा पचास वर्ष नाघेका महिलाहरु पनि हिंसाबाट अछुतो छैनन । यो उमेर समूहका महिलाहरु पनि यौन हिंसा, शारीरिक, मानसिक, श्रोत साधनबाट बञ्चित हुनुपर्ने गरि हिंसामा परेका छन । यो उमेर समूहका ४८ जना महिला हिंसाबाट पीडित भए । २ जना महिला यौन हिंसाबाट पीडित भएका छन । सबैभन्दा बढी ३३ जना मानसिक हिंसाबाट पीडित छन, पाँचजनाले शारीरिक हिंसा भोगेका छन । ७ जनाले श्रोत तथा सेवाबाट बञ्चित भएका छन ।