सुनसरीमा चुनावी दौडमा नेताहरू, कसको पल्ला भारी ?

इटहरी । आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि अहिले दलहरूका उम्मेदवार घरदैलोमा मतदाता फकाइरहेका छन् । सुनसरीमा पनि अहिले उम्मेदवारहरू जनताका घरदैलोमै पुगेर आश्वासन बाँडिरहेका छन् ।

सुनसरीका चारवटा निर्वाचन क्षेत्रमा कांग्रेसबाट पुरानै तीन अनुहार दोहोरिएका छन् भने एमालेबाट पनि यसअघि निर्वाचनमा होमिइसकेका उम्मेदवार मैदानमा छन् ।

सुनसरीको निर्वाचन क्षेत्र १ मा सत्ता गठबन्धनबाट माओबादी केन्द्रका मुक्साहाङ मेन्याङ्बो चुनावी मैदानमा छन् । एमाले–जसपासहितको गठबन्धनले जसपाका अशोक राईलाई उम्मेदवार बनाएको छ । ०७४ मा कांग्रेससँगको गठबन्धनले राईलाई उम्मेदवार बनाएपनि एमालेका जयकुमार राईले पराजित गरेका थिए । तर, यसपटक माओबादीको भागमा परेपछि जसपाले एमालेसँग गठबन्धन गरी राई पुनः उम्मेदवार दोहोरिएका छन् ।

एमालेले जसपालाई सघाउने भएपछि एमाले नेतासमेत रहेका मनोज मेन्याङ्बोले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनी पनि अहिले घरदैलो अभियानमै सक्रिय छन् ।

०७४ को निर्वाचनमा एमालेका जयकुमार राईले ४४ हजार ५२८ मत ल्याउँदा अशोक राईको २२ हजार १२३ मत आएको थियो । यसपटक एमाले नेताले विद्रोह गरेको र माओवादी उम्मेदवारलाई सत्ता गठबन्धनको साथ रहेकाले मेन्याङ्बोलाई सजिलो हुने अनुमान गरिएको छ । यद्यपि, एमालेको मत जसपाका राईलाई गएको हिसाबमा उनको पनि सम्भावना देखिन्छ । मेन्याङ्बो धरानका पूर्व मेयर समेत हुन् । उनी पार्टीसँग असन्तुष्ट भइ निर्वाचनमा होमिएपनि उनलाई दलको केही मत गएपनि निर्वाचन जित्ने सम्भावना कम छ ।

सुनसरी १ मा धरान उपमहानगरका २० वटै वडा, बराहक्षेत्र नगरपालिकाको १ देखि ५ र रामधुनी नगरपालिकाको ६ र ७ नं. वडाहरू समावेश छन् ।

यता, सुनसरी क्षेत्र नं. २ मा गठबन्धनबाट कांग्रेसका सीताराम मेहता चुनावी मैदानमा छन् । पूर्व राज्यमन्त्री समेत भइसकेका उनी यसअघि ०७४ र संविधानसभा निर्वाचनमा निर्वाचित भएका थिए । ०७४ को निर्वाचनमा मेहताले वाम गठबन्धनका हिमाल सुवेदीलाई पराजित गरेका थिए । त्यति बेला मेहताले ४१ हजार ४९५ मत ल्याउँदा पराजित सुवेदीको ३५ हजार ३४९ मत आएको थियो ।

एमालेबाट भने भीम आचार्य मैदानमा छन् । एमाले स्थायी कमिटी सदस्य आचार्यले यसअघि प्रदेश १ का मुख्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । मधेश समुदायको बाहुल्य भएको यो क्षेत्रमा यसपटक पनि मेहता निर्वाचन जित्न कसरत गरिरहेका छन् । तर, एमालेले भने कांग्रेसबाछट पटकपटक दोहोरिएको र विकास निर्माणका काम नगरेको आरोप लगाउँदै चुनावमा बाजी मार्ने कसरत गरिरहेको छ । विशेषतः सुनसरीको दक्षिणवर्ती क्षेत्रमा मेहतालाई धेरै मत आउने र जातीय ‘प्यार्टन’मा मत आउने भएकाले कांग्रेसका मेहताको सम्भावना बढी छ । उनलाई गठबन्धनको मत समेत आउने भएपनि ढुक्क हुने अवस्थामा छैनन् ।

एमालेको १० बुँदे पक्षधरका आचार्य पार्टीभित्र यसअघि माधवकुमार नेपालसँग नजिक थिए । तर, प्रदेश १ को मुख्यमन्त्री पाउने लोभभा उनी पार्टीभित्रै रहेका थिए । उनलाई पार्टीभित्रैका मानिसले भने त्यति नरुचाएपनि चुनावी दौडाहामा भने सँगसँगै हिँडेर मत मागिरहेका छन् ।

सुनसरी २ मा इटहरी उपमहानगरपालिकाका १ देखि ५ र १६ देखि २० नम्बर वडा पर्छन् । यस्तै, रामधुनी नगरपालिकाका १, २, ३, ५, ८ र ९ नम्बर वडा समावेश छन् । उता, देवानगञ्ज गाउँपालिकाका सबै वडाहरू, हरिनगरा गाउँपालिकाका ३ नं. वडा र इनरुवा नगरपालिकाको १, २, ५, ६, ९ र १० नं. वडाहरू समावेश छन् ।

सुनसरी क्षेत्र नं. ३ मा यसपटक विशेष चासोका साथ हेरिएको छ । कांग्रेसका विजयकुमार गच्छदार र एमालेकी भगवती चौधरी तेस्रो पटक भिडन्तमा छन् । गच्छदारलाई सत्ता गठबन्धनका दलको साथ छ भने भने एमाले–जसपासहितको गठबन्धनबाट चौधरी उम्मेदवार बनेकी छन् ।

०७० र ०७४ को निर्वाचनमा पनि उनीहरूबीच नै प्रतिस्पर्धा भएको थियो । ०७४ मा गच्छदारले चौधरीलाई झिनो मतान्तरले पराजित गरेका थिए । गच्छदारले ३८ हजार ९७२ मत ल्याएर विजयी हुँदा चौधरीको ३८ हजार ६५१ मत आएको थियो । गच्छदार यस क्षेत्रका पुराना हस्ती मानिन्छन् । सरकारमा रहेका बेला ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचारमा मुछिएकाले एमालेले यसलाई चुनावी मुद्दा बनाउने भएको छ ।

२०७८ असार ३० गते विशेष अदालतले १० लाख धरौटीमा छोडे पनि उनको मुद्दा किनारा लागेको छैन । अघिल्लोपटक वाम गठबन्धन हुँदा कांग्रेस एक्लैले चुनाव जितेका कारण गच्छदार यसपटक गठबन्धनको बलमा चुनाव जित्ने रणनीतिमा छन् । २०४८ यता निरन्तर चुनाव जित्दै आएका गच्छदारले यसपटक पनि चुनाव जितेर आफू ललिता निवास जग्गा प्रकरणमा निर्दोष रहेको देखाउन खोजिरहेका छन् । ‘एमाले सरकार रहँदा फसाइएको र जनताको अभिमतबाट पुनः निर्वाचित भएपछि आफू निर्दोष रहेको पुष्टि गर्नका लागि पनि चुनाव जित्ने तयारीमा रहेको’ बताउँदै आएका गच्छदार अहिले निर्वाचन क्षेत्रमै खटिइरहेका छन् ।

सुनसरी ३ मा गच्छदारका पुराना सहयोगी प्रदीप चौधरीले स्वतन्त्र उम्मेदवारी दिएका कारण पनि उनलाई असर गर्ने संकेत देखिएको छ ।
यता, एमालेकी भगवती चौधरी अहिले चुनाव लक्षित तीव्र दौडाहामा छिन् । जसरी पनि चुनाव जित्ने धुनमा रहेकी चौधरीले विगतमा गरेका कामको प्रचार गर्दै आएकी छन् । फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्थासँग जोडिएर रोजगारीको सिर्जना गरेको कुरालाई प्रचार गर्दै गच्छदारले ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचार गरेका कुरालाई चुनावी मुद्धा बनाएकी चौधरी अहिले मतदाता फकाइरहेकी छन् । फकाएर पार नलागे उनले गच्छदारको विरोध गर्दै धम्की समेत दिँदै आएकी छन् । केही साताअघि गच्छदारलाई इंगित गर्दै उनले भनेकी थिइन्, ‘जनताको मत सुरक्षित रूपले गन्न नदिने काम गरियो भने त्यसको परिणाम अथवा जवाफ दिन हामी तयार छौँ । गोली नै ठोक्नुप¥यो भने छुरै हान्नुप-यो भने भगवती चौधरी त्यो पनि तयार छु ।’

यो क्षेत्रमा धेरैजसो ग्रामीण भेग पर्छ । यहाँ आर्थिक अवस्था कमजोर भएका मानिसको बसोबास छ । धेरैजसो सर्वसाधारण मजदुरी पेसामा निर्भर छन् । सुनसरी ३ मा इटहरीको ६ देखि १५ नं. वडा, दुहबीका १ देखि १२ (सबै वडा), बर्जु गाउँपालिकाका सबै वडा, गढी गाउँपालिकाका १ देखि ६ (सबै वडा) इनरुवा नगरपालिकाको ७ नं. वडा समावेश छन्।

उता, सुनसरी ४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदीश कुसियत चुनावी मैदानमा छन् । कार्कीले ०७४ को निर्वाचनमा एमालेका रमेश श्रेष्ठलाई पराजित गर्दै विजयी भएका थिए । कार्की ३२ हजार ३४७ मत ल्याएर विजयी हुँदा एमालेका श्रेष्ठले २५ हजार ७५० मत ल्याएका थिए ।

वर्तमान सूचना, सञ्चार तथा प्रविधिमन्त्री समेत रहेका कार्कीलाई यसपटकको निर्वाचनमा अघिल्लोपटक जस्तो सहज छैन । अघिल्लो पटक बाम गठबन्धन हुँदा कांग्रेस एक्लैले जितेपनि यसपटक कार्कीलाई जित निकाल्न निकै कठिन छ ।

कुसियत प्रदेश १ का पूर्वमन्त्री हुन् । उनलाई एमाले जसपासहित गठबन्धनको साथ छ । यो क्षेत्रमा जसपाको राम्रो मत रहेको र जातीय ‘प्यार्टन’का आधारमा मत विभाजन हुने हुँदा कार्कीलाई जित निकाल्न चुनौती छ । त्यसो त कार्कीसँग यो क्षेत्रका कांग्रेसीहरू नै रुष्ट छन् । १४ औँ महाधिवेशनमा आफ्नालाई मात्रै च्यापेको भन्दै कार्यकर्ताहरू रुष्ट भएका हुन् । उनले चुनाव जित्न निकै कसरत गर्नुपर्ने देखिन्छ ।
त्यसो त उनले आफूले गरेको कामकै कारण चुनाव जित्ने बताइरहेका छन् । पचास वर्षदेखि बिजुली नपुगेको श्रीलंका टापुमा आफ्नै पहलमा बिजुली पुगेको, कोसीटप्पु वन्यजन्तु क्षेत्रमा सकारात्मक काम भएको, बाटो, बिजुली र सञ्चारका क्षेत्रमा उल्लेखनीय काम भएको प्रचार गर्दै कार्की अहिले चुनावी मैदानमा छन् ।

एमालेले भने कार्कीलाई ‘टुरिष्ट उम्मेदवार’ रहेको आरोप लगाउँदै मन्त्री रहँदा समेत काम गर्न नसकेको आरोप लगाउँदै चुनावी मैदानमा छ । सुनसरी ४ मा कोसी गाउँपालिकाका सबै वडाहरू, बराहक्षेत्र नगरपालिकाका ६, ७, ८, ९, १०, ११, रामधुनी नगरपालिका ४, इनरुवा नगरपालिका ३, ४ र ८, भोक्राहा–नरसिंह गाउँपालिकाका सबै वडाहरू र हरिनगर गाउँपालिकाको १, २, ४, ५, ६ र ७ नम्बर वडा समावेश छन् ।

तपाइको प्रतिक्रिया
(Visited 268 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कञ्चनपुरको लालझाडी गाउपालिकामा एमाले बिजयी