सुनसरीमा केपी ओली : तीन क्षेत्रमा सम्बोधन गर्दा छुटाए भीम आचार्यको क्षेत्र

इटहरी । गत शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुनसरीको निर्वाचन क्षेत्र नं. १ मा आएर सम्बोधन गरे ।

धरानसहित पर्ने उक्त निर्वाचन क्षेत्रमा आएर ओलीले एमाले र जसपासहितको गठबन्धनबाट उम्मेदवार बनेका अशोक राईलाई जिताए धरानमा खानेपानीबाट काकाकूल हुने अवस्था नआउने बताए । ‘धरानको खानेपानी र विकास निर्माणका लागि राष्ट्रिय योजना, राष्ट्रिय बजेट चाहिन्छ, नेकपा एमालेको सरकार चाहिन्छ,’ उनले भनेका थिए, ‘पम्पिङ गरेर कोसीबाट पानी ल्याएर एमालेले खुवाउँछ, नगरको बजेटले सम्भावना छैन, मंसिर ४ पछि आयोजना सुरु गर्नेछौँ, काम सुरु गर्नेछौँ, छेउमै कोसी बग्छ, धरान कसरी काकाकूल हुनसक्छ ?’

यसैबीच बुधबार पनि ओली सुनसरी आएका छन् । बुधबार उनले सुनसरीको निर्वाचन क्षेत्र नं. ३ र क्षेत्र नं. ४ मा चुनावी सभामा सम्बोधन गरे । क्षेत्र नं. ३ मा एमालेकी उम्मेदवार भगवती चौधरीलाई मत माग्दै ओलीले यो क्षेत्रमा धाँधली हुनसक्ने संकेत गर्दै कार्यकर्तालाई सचेत रहन सुझाए ।

यो क्षेत्रमा नेपाली कांग्रेसबाट विजयकुमार गच्छदार उम्मेदवार छन् । गच्छदारप्रति इङ्गित गर्दै ओलीले भने, ‘राणा शासन फालियो, पञ्च्यात फालियो, अनि विजय गच्छदारले भने जहिल्यै बाकस साटेर चुनाव जित्ने भन्ने हुन्छ ?’ उनले बाकस साटिने भन्दै कार्यकर्तालाई आँखा झिमिक्क नगर्नका लागि उनको निर्देशन थियो ।

यसैबीच बुधबार नै सुनसरी क्षेत्र नं. ४ मा ओलीले चुनावी सम्बोधन गरेका छन् । सुनसरी ४ मा एमालेका जगदीश कुसियतलाई मत माग्दै उनले भूमीपुत्रलाई जिताउन अपिल गरे ।

यो क्षेत्रमा नेपाली कांग्रेसबाट वर्तमान सूचना, सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की चुनावी मैदानमा छन् । ‘जोडजाडको गठबन्धन सरकारले देश चलाउन सक्दैन,’ ओलीले भने, ‘देश चलाउनका निम्ति एमालेलाई मत दिनुहोस्, यो क्षेत्रमा भूमीपुत्रलाई जिताउनुहोस् ।’
ओलीले सुनसरीका चार निर्वाचन क्षेत्रमध्ये तीनवटा क्षेत्रमा चुनावी सम्बोधन गर्दा भीम आचार्यको क्षेत्रमा भने मत माग्न छुटाएका छन् । एमाले स्थायी कमिटी सदस्य आचार्य यसअघि प्रदेश १ का मुख्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका व्यक्ति हुन् ।

एमालेको १० बुँदे पक्षधरका आचार्य पार्टीभित्र माधवकुमार नेपालसँग नजिक थिए । तर, प्रदेश १ को मुख्यमन्त्री पाउने लोभमा उनी पार्टीभित्रै रहेका थिए । ६७ दिन मुख्यमन्त्री बनेका आचार्य यसअघि क्षेत्र नं. १ बाट प्रदेशसभा सदस्यमा विजयी भएका थिए भने अघिल्लो निर्वाचनमा क्षेत्र नं. ४ बाट निर्वाचित भएका थिए । क्षेत्र फेरिरहने आचार्य यसपटक सुनसरी २ बाट चुनावी मैदानमा छन् ।

उनका निकटतम् प्रतिष्पर्धी नेपाली कांग्रेसबाट सीताराम मेहता पुनः दोहोरिएका छन् । मेहता कांग्रेसबाट तेस्रोपटक चुनावमा प्रतिष्पर्धा गर्दैछन् । उनी यसअघि दुईपटक चुनाव जितेर राज्यमन्त्री भएका छन् । सुनसरीका तीनवटा निर्वाचन क्षेत्रमा मत मागेर भीम आचार्यकै निर्वाचन क्षेत्रमा ओली नआउनुले एमालेभित्रै पनि अन्तरघात हुनसक्ने संकेत देखिएको छ । आचार्यलाई एमालेको ओली समूहले त्यति रुचाउँदैन ।

नेकपा एमाले सुनसरीका जिल्ला सदस्य होमनाथ धमला भन्छन्, ‘सुनसरी २ मा हाम्रो प्रतिष्पर्धा नै छैन, सुनसरी ३ र ४ मा कांग्रेसको पावर सेन्टर भएकाले त्यहाँ मात्रै कार्यक्रम आयोजना गरिएको हो ।’ ओलीले सुनसरी १ मा एमालेकै मत अशोक राईलाई नजानेजस्तो देखिएपछि ओलीले शुक्रबार सम्बोधन गरेका थिए । धमलाका अनुसार सुनसरी ३ मा कांग्रेसका पूर्व उपसभापति तथा उपप्रधानमन्त्री समेत रहेका विजयकुमार गच्छदारले एमालेकी भगवती चौधरीलाई दुईपटक पराजित गरेकाले यसपटक कुनै हालतमा चौधरीले जित्ने रणनीति बनाइरहेका बेला ओलीले सम्बोधन गरेका हुन् ।

उता सुनसरी ४ मा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीको उम्मेदवारी भारी भएकाले एमाले जिल्ला इञ्चार्ज समेत रहेका जगदीश कुसियतको पक्षमा मत माग्न ओली सुनसरी आएका हुन् । धमलाले भने, ‘सुनसरी २ मा हामी सहजै जित्छौँ र बाँकी रहेका क्षेत्रमा पनि अध्यक्षको सम्बोधनबाट माहोल बन्ने भएकाले यी क्षेत्रमा मात्रै कार्यक्रम आयोजना गरिएको हो ।’

तपाइको प्रतिक्रिया
(Visited 225 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

शेरको सवारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यी हुन् निर्वाचन आयाेगले स्पष्टीकरण साेधेका उम्मेदवार (सूचीसहित)