काठमाडौं । आइतबार भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उमेरले सतक पार गरेका वृद्धवृद्धाले पनि सहभागिता जनाएका छन् । पाँचथर संवाददाता सन्देश सुब्बाका अनुसार १ सय १५ वर्षीया वृद्धाले समेत मतदान गरेकी छन् ।
पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ की ११५ वर्षीया मनरानी आङ्देम्बेले तिर्तिरे आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेकी हुन् । उनको नागरिकताको प्रमाणपत्रमा जन्ममिति १९६४ साल जेठ ११ गते उल्लेख छ ।
यसैगरी, इलामको फाकफोकथुम गाउँपालिका–७ सिकारी भन्ज्याङका १ सय १५ वर्षीय मानबहादुर राईले पनि मतदानमा सहभागिता जनाएका छन् । राईले सिकारी भन्ज्याङस्थित सिंहदेवी माध्यमिक विद्यालय केन्द्रबाट मतदान गरेका हुन् । बैतडीको पाटन नगरपालिका–४ ठाँड निवासी मानमतीदेवी भट्टले पनि १ सय १३ वर्षको उमेरमा मतदान गरेकी छन् ।
उनले यसअघिका अधिकांश चुनावमा मत हालेकी छन् । बैतडीस्थित राजधानी सहकर्मी सीपी लोहियाका अनुसार २०१५ सालमा चुनाव हुँदा मानमती ४९ वर्षकी थिइन् । उनले त्यसयताका सबै चुनावमा भोट हालेको बताइन् ।
जेठो मतदाताका कारण उनी पछिल्लो समय हरेक चुनावका बेला चर्चामा आउने पात्र हुन् । उनले यो वर्ष छोरा नरेन्द्रको सहयोगमा उदयदेव आधारभूत विद्यालयस्थित मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।
मानमती देवीले अझै विकास निर्माण भएको हेर्ने रहर राखेकी छन् । उनले भनिन्, ‘म किशोरावस्थामा भारतको लोहाघाटबाट मकै, चामल बोकेर खाएको व्यक्ति हुँ अहिले सबै ठाउँमा सडक पुगिसक्यो । हामी सल्लाको दियो बालेरै आधा जीवन कटाएका व्यक्ति हौं, अहिले घरघरमा बिजुली बत्ती पुगेको छ । ओखल–जातो गर्ने चलन हराएको छ । पहिलाको भन्दा निकै सुविधा भएकाले मैले हालेको भोटको सदुपयोग हुन्छ भन्ने लागेको छ ।’
बैतडी र डडेल्धुरामा समेत घर भएकी मानमतीले बैतडीदेखि डडेल्धुरा र धनगढीको पैदल यात्रा गरेको समेत सुनाइन् । तीव्र विकास देख्दा उनलाई अझै केही वर्ष बाँच्न सके हुन्थ्यो जस्तो लाग्छ । मानमतीका चार छोरा, दुई छोरी र एक दर्जन बढी नातिनातिना तथा पनातिपनातिना छन् । उनले छोरीहरूलाई कक्षा ७ सम्म पढाइन् भने, छोरा डिग्री पास र दुई छोरालाई एसएलसी पास गराएकी छन् ।
उनका माइला छोरा सिद्धराज यसअघि जिल्ला समन्वय समिति बैतडीका प्रमुख बनेका थिए । चार छोरामध्ये तीन छोरा राजनीतिमै आबद्ध छन् । उनीहरू नेपाली कांग्रेस पार्टीका विभिन्न भूमिकामा रहेका छन् । मानमतीको उमेर धेरै भए पनि १०० वर्ष नकटेको जस्तो देखिन्छिन् । अहिले पनि उनी खाना पकाउनेदेखि घरायसी सबै काम गर्न सक्षम छिन् ।
यसैगरी, तनहुँको व्यास नगरपालिका–५ पतेनी निवासी ९० वर्षीया जगतमाया न्यौपानेले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि मतदान गरेकी छन् । उनले सोही वडाको ठूलोटारस्थित उदय माध्यमिक विद्यालय मतदान केन्द्र (क) बाट मतदान गरेकी हुन् । मतदान केन्द्र उनको घरबाट झन्डै ५ सय मिटर दूरीमा थियो । उनी परिवारको साथमा मतदान केन्द्र पुगेकी थिइन् । वृद्धा न्यौपानेले जनताले आफ्ना जनप्रतिनिधि चयनका लागि मतदान गर्नुपर्ने बताइन् ।
उता, म्याग्दीमा म्याग्दीमा १ सय ७ वर्षीय वृद्धले मतदान गरेका छन् । मालिका गाउँपालिका–२ रुमका जसमनी कामीले राष्ट्रिय माविको (क) मतदान केन्द्रबाट मतदान गरेको मतदान अधिकृत ईश्वरबहादुर भण्डारीले जानकारी दिए ।
काठमाडौं र्कीतिपुर निवासी ९२ वर्षीय एक वृद्ध पनि मतदानमा सहभागी भएका छन् । ९२ वर्षीय तरमै महर्जनले कीर्तिपुर–९ स्थित नेपाल टेलिकम कार्यालयमा रहेको मतदान केन्द्रमा गई मतदान गरेका हुन् । उनले छोराको सहयोगमा मत हालेका थिए । वृद्ध उमेरमा मतदानमा सहभागी हुन पाउँदा उनी अत्यन्तै खुसी देखिन्थे । उनले भने, ‘हामीलाई भोट हाल्ने अधिकार छ, भोट हाल्नै प¥यो, यो उमेरमा पनि भोट दिन पाउँदा राम्रो लागेको छ ।’
मतदान केन्द्रमा पहिलेजस्तो मानिसको भिड नदेख्दा भने उनले खल्लो महसुस गरेका थिए । उनले गत स्थानीय तहको निर्वाचनमा पनि मतदान गरेका थिए । यस्तै, काठमाडौंकी ९२ वर्षीया इन्द्रकुमारी भण्डारीले पनि मतदान गरेकी छन् । उनले काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ गोकर्णेश्वर नगरपालिका–१ को रामजानकी आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रबाट मत खसालेकी हुन् ।
उनले २०१५ सालको संसदीय निर्वाचनदेखि निरन्तर मतदान गर्दै आएको बताइन् । उनले २०३० सालसम्म बालुवा गाउँ पञ्चायतमा मतदान गरेकी थिइन् । २०३० सालदेखि भने उनले तत्कालीन नयाँपाटी गाउँ पञ्चायत हालको गोकर्णेश्वर नगरपालिका–१ मा मतदान गर्न थालेकी हुन् । विगत ६५ वर्षदेखि नियमित मतदान गर्दै आएकी भण्डारी जनप्रतिनिधिका कामबाट भने धेरै सन्तुष्ट छैनन् ।
अब निर्वाचित हुने जनप्रतिनिधिले भने राम्रा काम गरे आफू खुसी हुने उनको भनाइ छ । ‘विकास निर्माणका काम राम्रा हुन्, भावी सन्ततिले सहज रूपमा जीवनयापन गर्ने वातावरण बनोस्, मेरो यही कामना छ,’ भण्डारीले भनिन् ।