दलहरू सक्किने कि सच्चिने ?

निर्वाचन सम्पन्न भइसकेको छ । अब छिट्टै नयाँ सरकार बन्ने छ । केही नयाँ र केही पुराना जनप्रतिनिधि आउने देखिएको छ । अब यी दल नै मिलेर सरकार बनाउने छन् । तर, आगामी सरकार कसको र कस्तो बन्छ भन्ने सम्बन्धमा स्पष्ट खाका आइसकेको छैन । बहुमत कसैको पनि नआएकाले विभिन्न दलकै मिलिजुलीमा सरकार बन्ने निश्चित छ । दलले गठबन्धन गरेर सरकार बनाउने भएकाले त्यस्तो सरकारबाट खासै प्रभावकारी काम हुन सक्छ भन्ने आशा गर्न सकिँदैन । अझै पुरानै दल र पुरानै नेतृत्वबाट त मुलुकको विकास, समृद्धि र सुशासनमा महत्वपूर्ण काम होला भनेर आशा गर्ने ठाउँ नै छैन । त्यसमा पनि वर्तमान गठबन्धनधारीबाट देश समृद्धि र सुशासनमा अघि बढ्छ भन्नु त बिरबलको खिचडी जस्तै हो । गठबन्धन चुनाव जितेर मुलुक र जनताका लागि काम गर्नभन्दा पनि राज्यशक्तिको दोहन गरी अकूत सम्पति आर्जन गर्नका लागि भएको थियो । जनताले गठबन्धनलाई खासै रुचाएनन् । यो त परिणामबाट पनि प्रस्ट नै छ । चुनावको परिणाम आइरहँदा दलप्रतिको वितृष्णा देखिन्छ यद्यपि, जनताले यसपटक दललाई सच्चिएर अघि बढ्नुपर्ने म्यान्डेट दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको उदय अहिलेका दललाई वार्निङ हो । यसरी वार्निङ गर्दा पनि दल नसच्चिएर उस्तै किसिमको कुशासन मच्चाउने हो भने अब यी दल र तिनका नेतालाई इतिहासमा खोज्नु पर्ने दिन पनि आउन सक्छ । हालको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको जबर्जस्त उदय भएको छ । हालका शासकको गलत रवैया र जनतालाई पटक पटक घात गर्ने प्रवृत्तिका कारण जनताहरू वाक्कदिक्क छन् । त्यही वाक्कदिक्क हुदाको परिणामस्वरूप जनताले विकल्पका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई अघि बढाएका हुन् । यद्यपि, राष्ट्रिय स्वतन्त्र पार्टीले केही सहरी क्षेत्रमा मात्रै आफ्नो उपस्थिति देखाउन सकेको छ । यसले ग्रामीण क्षेत्रमा आफ्नो उपस्थिति खासै देखाउन सकेको छैन । यसले पनि के संकेत गर्छ भने जनताले पुरानै दल र तिनका नेतालाई सच्चिने मौका दिएका हुन् ।

अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको जन्म जनताको सामान्य विद्रोह मात्रै हो । यदि, देश अहिलेकै गठबन्धनले चलायो र सुधार गर्न सकेन भने अबको केही समयभित्र जनताको धैर्यताको बाँध टुट्न सक्छ । जनता सडकमा नै उत्रिएर दल र तिनका नेतामाथि जाइलाग्न सक्छन्

हिजो कोरोना कहरको समयमा कैयौं जनताले अकालमा मृत्युवरण गर्नुपरेको छ । मुलुकको आर्थिक अवस्था डामाडोल अवस्थामा छ । शासक जनताको गाँस, वास, कपास, स्वास्थ्य, शिक्षा, रोजगारी जस्ता आधारभूत आवश्यकता’bout कहिल्यै पनि गम्भीरतापूर्वक छलफल गर्ने गरेको पाइँदैन । त्यसैले पनि जनताहरू वर्तमान शासकसँग रुष्ट र आक्रोसित छन् । चुनावमा त्यही आक्रोस व्यक्त भएको देखिन्छ ।

जेसुकै भए पनि यी दलले हिजो लोकतन्त्र र गणतन्त्र ल्याउन ठूलो लडाइँ र कुर्वानी गरेकै हुन् । फेरि राजनीतिक दल भनेका राजनीतिक प्रणालीका जीवनरेखा जस्तै हुन् । त्यसैले, हामीले लोकतन्त्रमा दलको विकल्प खोज्न सक्दैनौं । दलको विकल्प भनेको सुधारिएको र सक्षम एवं इमानदार नेतृत्वसहितको दल नै हो । त्यसैले हामीले दलको विकल्प खोज्नुहँुदैन । दलका नेतालाई लगातार खबरदारी गरिरहने हो । अहिलेको चुनावमा पनि जनताले हालका राजनीतिक दललाई खबरदारी गर्न र सच्चिने मौका दिन राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आकर्षण बढाएका हुन् । जनता कसैका पेवा होइनन् उनीहरूले चुनावमा मत परिवर्तन गर्न सक्छन् । यसलाई दलले शिक्षाका रूपमा लिएर सच्चिएर अघि बढ्नुको विकल्प छैन ।

राष्ट्रिय स्वतन्त्र पार्टीको उदयलाई जनताको अर्धमौन क्रान्तिका रूपमा लिन सकिन्छ । यो २१औं शताब्दीमा परिवर्तनका लागि बन्दुक नै बोक्नुपर्छ भन्ने छैन । राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म सत्तामा बस्दै आएका राजनीतिक दलको विफलताका कारण अहिलको सफलता हासिल गरेको हो । नयाँ दल भएको हुनाले हिजोको दिनमा यो दलले लोकतन्त्र स्थापनाका लागि कुनै भूमिका खेलेको थिएन । यो दल र यसमा रहेका व्यक्ति सत्तामा पनि गएका छैनन् । त्यसैले उनीहरूप्रति आशा र विश्वासका साथ मत आएको देखिन्छ । हिजो लोकतन्त्र स्थापना गर्न कुर्वानी गरेका राजनीतिक दल र तिनका नेताले लोकतन्त्र हामीले ल्याएको हुनाले यसको हर्ताकर्ता सधैं हामी नै हौ भन्ने भ्रम पालेर भ्रष्टाचार र बेथिति निम्ताउन पाउँदैनन् । मुलुकको अवस्था सुधार गर्न उनीहरूले कुनै ध्यान नदिने सधै भ्रष्टाचार, कमिसनतन्त्रमा रमाइरहने हो भने जनताले उनीहरूको पुरै विकल्प खोज्न सक्छ । अर्को विद्रोह हुन सक्छ । अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको जन्म जनताको सामान्य विद्रोह मात्रै हो । यदि, देश अहिलेकै गठबन्धनले चलायो र सुधार गर्न सकेन भने अबको केही समयभित्र जनताको धैर्यताको बाँध टुट्न सक्छ । जनता सडकमा नै उत्रिएर दल र तिनका नेतामाथि जाइलाग्न सक्छन् । त्यस्तो अवस्था आयो भने अहिलेका नेता आफंै पलायन हुन बाध्य हुनुपर्छ । त्यसैले त्यसप्रकारको दुर्दिन आउन नदिन पनि हालका दल र शासक आमूल रूपमा सच्चिनै पर्छ ।

गणतन्त्रमा राजनीतिक प्रणालीले आत्मसात गरेका मूल्य मान्यता र असल राज्यले जनतालाई प्रदान गनुर््पर्ने सेवा सुविधा तथा लाभहरू जनतालाई प्रभावकारी रुपमा वितरण गर्न नसकिएमा शासन प्रणालीमा गम्भीर समस्या आउन सक्छ । अहिलेको समस्या त्यही नै हो । यस्तो अवस्थामा जनतामा निराशाको मौनक्रान्ति शुरु हुन्छ । अनि राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व दुवै माथि प्रश्न उठ्न थाल्छ । त्यसैले राजनीतिक प्रणाली मात्रै राम्रो भएर पुग्दैन् । राजनीतिक प्रणाली सञ्चालन गर्ने राजनीतिक नेतृत्व र यसलाई कार्यान्वयनमा लैजाने प्रशासनिक संयन्त्र पनि त्यतिकै चुस्त हुन जरुरी छ । अहिलेको सन्दर्भमा हाम्रो उत्कृष्ट राजीनितिक व्यवस्था अनुरुपको आचरण र संस्कृति राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व कुनै पनि पक्षमा विकास हुन सकेको छैन । देशलाई यो अवस्थामा ल्याउन राजनीतिक र प्रशासनिक दुवै पक्षको उतिकै ठुलो भूमिका छ । त्यसैले अब यी दुई पक्षमा नै आमूल सुधार अत्यावश्यक छ ।

जनता कसैका पेवा होइनन् उनीहरूले चुनावमा मत परिवर्तन गर्न सक्छन् । यसलाई दलहरूले शिक्षाको रुपमा लिएर सच्चिएर अघि बढ्नुको विकल्प छैन ।

अब विगतका थुप्रै कमीकमजोरीलाई हटाउँदै र आत्मसमीक्षा गर्दै कर्मचारीतन्त्रले राजनीतिले स्थापित गरेका मूल्य र मान्यतलाई कुशलतापुर्वक जनतासमक्ष वितरण गर्न सक्नुपर्छ । यसका लागि राजनीतिक नेतृत्वको असल सल्लाहकारको भुमिकामा कर्मचारीतन्त्र रहन सक्नुपर्छ । राजनीति र प्रशासन एक अर्काका परिपूरक जस्ता हुन् । एकले अर्कोलाई सहयोग र समन्वय गर्दै अगाडि बढ्न सकेमा मात्रै मुलुक अघि बढ्न सक्छ ।

लोकतन्त्रका शासकले सेवा मात्रै होइन जनता समक्ष लोकतन्त्र नै वितरण गर्नुपर्छ भन्ने सिद्धान्त छ । ‘डेलिभरी इन डेमोक्रेसी भनिन्छ । यो डेलिभरी गर्ने प्रमुख निकाय प्रशासन भएपनि प्रशासनलाई कमाण्डिङ गर्ने काम भने राजनीतिकै हो ।

हाम्रा शासकहरूले हामी किन संघीय प्रणालीमा गयौ भन्ने वारेमा गम्भीर भएर सोच्ने हो भने यसको मुख्य पुल फ्याक्टरको रुपमा जनताले सेवा वितरणमा खोजेको सुगमतालाई नै लिन सकिन्छ । हिजो मुलुकमा एकात्मक शासन प्रणाली थियो । त्यस प्रकारको एकात्मक शासन प्रणाली वाट जनताले सेवा प्रवाह सुगम किसिमले पाउन सकेका थिएनन् । संघीय शासन प्रणालीमा सेवा प्रवाह सहज किसिमले जनताको घर दैलोमा नै पु¥याउनु पर्ने चुनौती छ । यो चुनौतीलाई सहज किसिमले सामना गर्न सकिन्छ र सफल पनि हुन सकिन्छ तर यसका लागि अहिलेको हाम्रो राजनीतिक नेतृत्वको काम गर्ने शैलीमा पुर्ण रुपमा परिवर्तन हुनुपर्छ । अहिलेकै जस्तो भ्रष्ट, अविवेकी र स्वार्थ प्रवृत्ति रहिरह्यो र जनताका समस्यालाई यसरी नै वेवास्ता गरिदै हालका दलहरू अघि बढेभने उनीहरूको समूल पतनलाई कसैले रोक्न सक्दैन् । त्यसैले उनीहरू सक्किने र सच्चिने विषय आगामी दिनमा उनीहरूले खेल्ने भुमिकाले नै निर्धारण गर्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 74 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

खोलो तर्यो लौरो बिर्सो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९