मधेस प्रदेशमा गठबन्धन ‘बहुमतविहीन’

Online Nepali News Portal

काठमाडौं । मधेस प्रदेशमा ‘कुन दलको मुख्यमन्त्री हुने ?’ भन्ने चर्चासँगै चासो बढ्दो छ । दुवै गठबन्धन बहुमतविहीन हुँदा प्रदेश सरकार गठनका लागि जनमत पार्टी र स्वतन्त्र सांसद निर्णायक बनेका छन् । उनीहरू जता जान्छन्, सोही गठबन्धनको सरकार बन्ने निश्चित प्रायः देखिन्छ ।

मधेस प्रदेशमा ६४ प्रत्यक्ष र समानुपातिकबाट ४३ गरी कुल १ सय ७ सांसद छन् । सरकार गठनका लागि ५४ सिट आवश्यक भए पनि कुनै पनि गठबन्धनसँग बहुमत छैन । सोही कारण उनीहरू जनमत र स्वतन्त्र सांसदलाई आफ्नो समूहमा ल्याउन कसरत गरिरहेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले), जनता समाजवादी पार्टी नेपाल (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी गठबन्धनसँग ४० सिट छ । अर्को नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)को गठबन्धन थियो । जनमत पार्टी कुनै पनि दलसँग गठबन्धन नगरी एक्लै चुनाव लडेको थियो । यो गठबन्धनसँग ४६ सिट छ ।

सत्तारूढ गठबन्धनको ४६ र प्रतिपक्षी गठबन्धनको ४० सिटमात्रै छ । प्रतिपक्षी गठबन्धनले जनमत पार्टीका साथै स्वतन्त्र सांसद वा १–१ सिट ल्याएको तीन दलका सांसदलाई आफ्नो समूहमा मिलाए सरकार बन्न सक्छ ।
उता, सत्तारूढ गठबन्धनले जनमत पार्टीलाई मात्रै मिलाउन सक्यो भने सरकार बन्न बहुमत पुग्छ । सत्तारूढ गठबन्धनले स्वतन्त्र वा १–१ सिट ल्याएको तीन दलका सांसदलाई नल्याउँदासमेत उसको सरकार बन्न बहुमत पुग्छ ।

कुन दलका कति सांसद ?
मधेस प्रदेशमा समानुपातिकतर्फ कांग्रेस पहिलो, एमाले दोस्रो र जनमत पार्टी तेस्रो दल बनेका छन् । यहाँ यसतर्फ १० दलको प्रतिनिधित्व हुने भएको छ ।

कांग्रेस, एमाले, जसपा, जनमत पार्टी, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा, नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टी र राप्रपाको प्रतिनिधित्व हुनेछन् ।

१ सय ७ सदस्यीय प्रदेशसभामा एमालेले २३ सिट जितेको छ । एसको प्रत्यक्षमा १५ र समानुपातिकमा ८ सिट छ । कांग्रेस प्रत्यक्षतर्फ १३ र समानुपातिकमा ९ सहित २२ सिटसाथ दोस्रो स्थानमा छ । जसपाको प्रत्यक्ष ९ र समानुपातिकतर्फ ७ गरी १६ सिट छ । लोसपाले प्रत्यक्ष ७ र समानुपातिकमा २ पाउँदा ९ सिट भएको छ ।

जनमत पार्टीले प्रत्यक्षमा ६ र समानुपातिकतर्फ ७ सहित १३ सिट पाएको छ । प्रत्यक्षमा ४ र समानुपातिकमा ४ गरी माओवादी केन्द्रको ८ र एकीकृत समाजवादीको प्रत्यक्षमा ४ र समानुपातिका ३ गरी ७ सिट छ ।

प्रत्यक्षमा १ सिट पनि जित्न नसकेको नेपाल संघीय समाजवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाले समानुपातिकतर्फ १÷१ सिट पाएका छन् । प्रदेशमा ६ स्वतन्त्र सांसद निर्वाचित भएका छन् ।

शक्ति केन्द्र धाउँदै मुख्यमन्त्रीका आकांक्षी
निर्वाचन अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै मधेस प्रदेशका मुख्यमन्त्री र मन्त्रीका आकांक्षी शक्ति केन्द्र धाउन थालेका छन् । मधेस प्रदेशमा सत्तारूढ गठबन्धन दलका कांग्रेसबाट मुख्यमन्त्री तथा मन्त्रीका आकांक्षी बालुवाटार पुगेर प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र अन्य शीर्षनेतासँग भेटघाट गर्न थालेका छन् ।

एमाले नेतासमेत काठमाडौंमा अध्यक्ष केपी शर्मा ओली निवास बालकोट धाइरहेका छन् । रौतहट क्षेत्र १ को ‘ख’बाट प्रदेशसभामा निर्वाचित कांग्रेसका मधेस प्रदेश सभापति कृष्ण यादव आफ्नो नेतृत्वमा सरकार बनाउन सभापति देउवादेखि सत्तारूढ गठबन्धन दलका नेतासँग भेटघाट गरिरहेका छन् ।

चुनाव जितेलगत्तै देउवासँग यादवले जसपा नेता तथा मुख्यमन्त्री लालबाबु राउतसहित सत्तारूढ गठबन्धन दलका प्रदेशस्तरका नेतासँग छलफल गरेका थिए । राउतसँगको भेटलगत्तै उनी काठमाडौं पुगेका हुन् ।

मधेसमा आफ्नो गठबन्धनले बढी मत ल्याएकाले सरकार बनाउने तयारी थालेको प्रदेश सभापति यादव बताउँछन् । उनका अनुसार सरकार गठनका लागि सत्तारूढ गठबन्धन दलका साथै अन्य दलसँग पनि कुराकानी भइरहेको छ ।

‘सरकार बनाउन पहल थालेको छु । सत्तारूढ गठबन्धनमा रहेका दलका नेतासँग सरकार कसरी बनाउने भन्ने ? विषयमा छलफल भइरहेको छ,’ उनले भने ।

उता, धनुषा ३ ‘क’बाट निर्वाचित रामसरोज यादवले पनि आफू नेतृत्वमा सरकार बनाउन सक्रियता बढाएका छन् । कांग्रेस नेता विमलेन्द्र निधिनिकट यादव पार्टी शीर्षनेतासँग भेटघाट गरिरहेका छन् ।

अहिले काठमाडौंमै रहेका सर्लाही ४ ‘क’बाट निर्वाचित कांग्रेसका नेता वीरेन्द्र सिंह पनि मुख्यमन्त्री दाबी गर्दै आएका छन् ।

पर्साबाट निर्वाचित जनार्दन क्षेत्रीसमेत मुख्यमन्त्रीका आकांक्षी रहेका छन् । उनी आफ्नो पक्षमा ‘लबिङ’ गरिरहेका छन् । एमालेबाट मुख्यमन्त्रीका दाबेदार महोत्तरी ४ ‘ख’बाट निर्वाचित सरोजकुमार यादवले शक्तिमा दौडधुप बढाएका छन् । मधेसमा सरकार गठन विषयमा अध्यक्ष ओलीसहितका शीर्षनेतासँग उनी छलफलमा छन् । एमाले नेता तथा धनुषा १ ‘ख’बाट निर्वाचित रामचन्द्र मण्डल पनि अहिले काठमाडौंमै छन् ।

मुख्यमन्त्रीको दाबी गर्दै आएका मण्डलले पनि अध्यक्ष ओली, उपाध्यक्ष रामबहादुर थापा बादललगायत नेताहरूसँग छलफल गरेका छन् । तत्कालीन नेकपा विभाजन हुँदा माओवादी केन्द्र छोडेर एमालेतिर लागेका मण्डल आफ्नो नेतृत्वमा सरकार गठनका लागि दौडधुपमा छन् ।

तपाइको प्रतिक्रिया
(Visited 394 times, 1 visits today)

epaper

ताजा समाचार

खाद्य कम्पनीद्वारा कैलालीमा गहुँ खरिद सुरु