जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले सामुदायिक विद्यालयमा हुने अनियमितता रोक्न तथा शैक्षिक गुणस्तरलाई लयमा ल्याउन विद्यार्थीका टाउका गन्न थालेको छ । विद्यालयहरुले नक्कली विद्यार्थी देखाएर खाजा रकम र छात्रवृत्ति अनियमितता गरेको गुनासो बढेपछि तातोपानी गाउँपालिकाले प्रत्येक विद्यालयमा पुगेर विद्यार्थीका टाउका गन्न थालेको हो ।
तातोपानी गाउँपालिकामा वार्षिक परिक्षा चलिरहेको बेला विभिन्न समुह बनाएर विद्यार्थी गणना भइरहेको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौंलागाईँले बताए । ‘गाउँपालिकाले तयार गरेको टिमले विद्यालय पुगेर परिक्षामा सामेल विद्यार्थी र हाजिरी रजिष्टरमा उल्लेखित विद्यार्थी सँख्या गनिरहेको छ, परिक्षाको बेला भएकोले विद्यार्थी अपवाद बाहेक अनुपस्थित हुदैनन्, कति विद्यार्थी नक्कली हुन भन्ने पत्ता लगाउन सजिलो भएको छ ।’ अध्यक्ष चौंलागाईले भने ।
तातोपानी गाउँपालिकाका आठै वडामा जम्मा २८ वटा सामुदायिक विद्यालय छन् । हाल सम्म तातोपानीका १९ विद्यालयमा अनुगमन गरिसकेको तातोपानी गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुरत शाहिले बताए । विद्यार्थी गणनाका अलावा विद्यालयको समस्या पहिचान समेत गरिएको उनले बताए । ‘विद्यालयको अवस्था, खानेपानी, शौचालय, फर्निचरको उपलब्धता र शिक्षक शिक्षिकाको सँख्याका विषयमा पनि अनुगमन भइरहेको छ, विशुद्ध सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर मजबुत बनाउन र विद्यालयमा हुने अनियमितता रोक्न यो अभियान सार्थक हुने विश्वास गरिएको छ ।’ उनले भने ।
सबै विद्यालय अनुगमन भइसकेपछि मात्रै प्रतिवेदन सार्वजनिक गरिने समेत उनले जानकारी दिए । जुम्लाका आठ पािलका मध्ये विद्यालयको फिल्डमै पुगेर विद्यार्थी सँग साक्षात्कार गर्ने र विद्यालयको समस्या बुझ्ने प्रयास गर्ने पहिलो पालिका तातोपानी हो । अधिकाँस विद्यालयमा भौतिक संरचना अभाव देखिएको छ । कुनै विद्यालयमा सौचालय र खानेपानी समेत उपलब्ध छैन । तातोपानीमा भइरहेको अनुगमनले विद्यालयको समस्या पहिचान गर्ने तथा समाधानका उपाय नजिक पुग्न सघाउ पुर्याउने प्रमुख प्रशासकीय अधिकृत तीर्थ कठायतले बताए । कम विद्यार्थी र शिक्षक धेरै भएका विद्यालय पनि भेटिएका छन्, अव दरबन्दी मिलान गर्ने विषयमा पनि छलफल हुने उनले बताए ।
कालिका आधारभूत विद्यालयको कक्षा चारमा छात्रामात्रै !
अनुगमनका क्रममा तातोपानी ५ श्रीनगरको आधारभूत विद्यालयमा एउटा रोचक दृष्य देखिएको छ । यो विद्यालयको कक्षा चारमा ८ जना छात्रा मात्रै अध्ययनरत छन् । कर्णालीमा ३ दशक अघि सम्म साक्षर महिला विरलै भेटिन्थे, छोरा छोरीमा विभेद हुन्थ्यो । छोरालाई पठनपाठनमा जोड्दा छोरी मेलापात र गोठालो लाग्थे । सामाजिक चेतना अभिवृद्धि भएसँगै अहिले छोरीहरु औपचारिक शिक्षामा जोडिएका छन् । समाज रुपान्तरणको चित्र श्रीनरमा झल्किएको छ ।






