शोभराज आज जेलमुक्त हुँदै

काठमाडौं । हत्या अभियोगमा करिब दुई दशकदेखि केन्द्रीय कारागारमा रहेका कुख्यात ‘बिकिनी किलर’ चाल्र्स शोभराज थप एकदिन जेलमा पाहुनाका रूपमा बस्ने भएका छन् ।

सुन्धारास्थित केन्द्रीय कारागारले शोभराजलाई बिहीबार नै छाड्ने सबै प्रक्रिया पूरा गरे पनि अध्यागमनका कोठा तयार नहुँदा उनी एकदिन जेलमै राखिने केन्द्रीय कारागारका जेलर ईश्वरप्रसाद पाण्डेले जानकारी दिए ।

सर्वोच्च अदालतको बुधबार र काठमाडौं र भक्तपुर अदालतको बिहीबारको आदेशबमोजिम शोभराज शुक्रबार कारागारबाट मुक्त हुने भएका हुन् । बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले दिएको आदेशपछि उनको जेलमुक्त हुने बाटो खुलेको थियो ।

कारागार नियमावली, २०२० ले ६५ वर्ष उमेर पुगेका कैदीलाई ‘असल चालचलनको आधारमा वा ओछ्यानमा परी निको नहुने अवस्थामा पुगेको कैदीलाई ७५ प्रतिशतसम्मको कैद सजाय छोट्याउन सक्ने’ व्यवस्था गरेको छ ।

यस्तो सुविधा विदेशी नागरिकले समेत पाउने व्याख्या गर्दै सर्वोच्च अदालतले अहिले १९ वर्ष (९५ प्रतिशत) कैद भुक्तान गरिसकेका शोभराजलाई पनि थुनामुक्त गर्न आदेश दिएको हो ।

सोही फैसलाको आधारमा शोभराजविरुद्ध मुद्दा चलेको भक्तपुर अदालतले सर्वोच्चको फैसला कार्यान्वयनका लागि कारागारलाई पत्र पठाएको थियो । तर, शोभराजविरुद्ध काठमाडौं जिल्ला अदालतमा पनि ज्यान मार्ने उद्योग र जाली राहदानीको कसुरका दुई मुद्दा देखिएपछि कारागार व्यवस्थापन विभागले यस’bout आवश्यक निर्णय गरिदिन काठमाडौं अदालतलाई अनुरोध गरेकोमा अदालतले सर्वोच्चको आदेशबमोजिम गर्न भनेपछि रिहाइ प्रक्रिया अघि बढेको थियो ।

अदालती प्रक्रिया पूरा गरेर अध्यागमनलाई जानकारी गराउँदा ढिलो भएकाले कोठा तयार भइनसकेको हुँदा बिहीबार राति जेलमै राख्नुपर्ने अवस्था आएको केन्द्रीय कारागारका जेलर पाण्डेले बताए ।

कारागारले भने सबै प्रक्रिया पूरा गरेर विहिबार रिहा गर्ने तयारी गरे पनि अध्यागमनमा कोठा अभावका कारण उनलाई शुक्रबार मात्रै अध्यागमनको जिम्मा लगाइने भएको छ ।

शोभराजलाई तीन विदेशी नागरिकको हत्याको अभियोग पुष्टिसँगै कारागार चलान गरिएको थियो । सर्वोच्च अदालतको २०६० असोज २ गते गतेको फैसलाले शोभराजलाई जन्मकैद सजाय सुनाएको थियो ।

त्यसयता उनी कारागारमा छन् । त्यसपछि शोभराजले हेनरिकस विन्ताजाको लरेन्ट आरमण्डको हत्या अभियोग पुष्टि गर्दै २०६१ साउनमा काठमाडौं जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको थियो ।

शोभराजलाई ६ पुस २०३२ मा क्यानेडियन नागरिक लोरेन्ट क्यारियरको हत्या गरेर शव टुक्रा पारी भक्तपुरको मनोहरा खोलामा फालेका अभियोगमा जन्मकैद सजाय सुनाएको थियो । उनीविरुद्ध भक्तपुर चित्तपोलका गोकर्णबहादुर कार्कीले ६ पुस २०३२ मा मुद्दा दायर गराएका थिए । त्यसअघि काठमाडौंमा भएको कोन्नी ब्रोनिचको हत्यामा उनैको संलग्नता थियो ।

त्यस्तै, अमेरिकन युवती कोनी ब्रन्चिजको हत्या मुद्दामा सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका शोभराज प्रहरीलाई छक्याउँदै भागेका थिए । नेपाल आएका बेला २०६० सालमा उनी पक्राउ परेका थिए ।

शोभराजले यसअघि २१ कात्तिक २०७५ मा कैद छुट माग्दै सर्वोच्च पुगेका थिए । कैद छुटका लागि सर्वोच्च पुगेको दोस्रोपटक हो ।

कारागार नियमावलीको प्रावधानमा विदेशी नागरिकले पनि बिना भेदभाव छुट पाउनुपर्ने मागसहित शोभराज सर्वोच्च पुगेका थिए । कुनै पनि अपराधका कसुरदार भए पनि ७० वर्ष उमेर कटेपछि ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने नियमावलीको व्यवस्था आफूलाई पनि लागू हुने मागसहित उनले रिट दायर गरेका थिए ।

सर्वोच्च अदालतले कारागार नियमावलीले ज्येष्ठ नागरिकलाई दिने कैद छुटको सुविधा शोभराजलाई दिनुपर्ने हो वा होइन भन्ने’bout तीन महिनाभित्र तथ्ययुक्त र कानुनसंगत कारण खुलाइ आवश्यक निर्णय गर्नु भन्ने आदेश दिएको थियो ।

त्यस्तै, गत ११ वैशाखमा पनि सर्वोच्च अदालतले ‘शोभराजको उमेर, उनले भोगिसकेको कैद र अब भुक्तान हुने कैदको अवधि, साथै उनलाई मुटुसम्बन्धी रोग लागेकाले ‘ओपन हर्ट सर्जरी’ गर्नुपर्ने अवस्था र चालचलन हेरी एक महिनाभित्र निर्णय गर्नू’ भन्ने आदेश दिएको थियो ।

अदालतका यस्ता आदेशका बाबजुद शोभराजका सम्बन्धमा कुनै निर्णय भएको थिएन । सर्वोच्च अदालतले आफ्ना यसअघिका आदेश कार्यान्वयन नभएकोतर्फसमेत विचार गर्दैै शोभराजलाई उमेर, उनले भुक्तान गरिसकेको कैद र स्वास्थ्य अवस्थासमेतलाई विचार गर्दै थुनामुक्त गर्न आदेश दिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 331 times, 1 visits today)

epaper

ताजा समाचार

कांग्रेस महाधिवेशन रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश