सिजनमा नै ५ अर्बको धान आयात

वीरगन्जस्थित आईसीपीमा धान लगायत मालवस्तु लोड गरी आइपुगेका मालवाहक सवारी

वीरगन्ज । धानको सिजनमा नै कृषिप्रधान देशको एउटा भन्सार नाका हुँदै ५ अर्बको धान आयात भयोभन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । तर, यो वास्तविकताले हाम्रा नेता तथा शासकलाई जिस्काइरहेको छ ।

सानो भूगोल भएर पनि प्रकृतिले अन्न उत्पादनको भण्डार सुम्पिएको मुलुक नेपालमा गएको २ महिना (१५ कात्तिकदेखि १५ पुससम्म)को अवधिमा त्यति धेरै मूल्यको धान आयात भएको हो । यस्तो वास्तविकता भए पनि यसले शासकलाई बिझाउने गरेको छैन । यो उनीहरूको गैरजिम्मेवारपनको नमुना हो ।

४ दशक पहिले अन्न निर्यात गर्ने कृषिप्रधान देशका किसानले अहिले भकारीमा धान भित्र्याउने समयमा व्यापारीले पो विदेशबाट गोदाममा धान चामल भित्रुयाइरहेको दुखद दृश्य देख्ने गरिन्छ । मुलुकको प्रतिष्ठामा आँच पुग्नेगरी धानको सिजनमा नै ४ अर्ब ९७ करोड ११ लाख २९ हजारको धान मुलुकको प्रमुख भन्सार नाकाबाट मात्र भित्रिएको तथ्यांकले पुष्टि गरेको छ ।

यो सब देश हाँक्ने अदूरदर्शी नेतृत्वको कमजोरीका कारण भएको स्थानीयको आरोप छ । किसानको भकारीमा भन्दा पनि व्यापारीको गोदाममा सिजनमा नै ५ अर्ब जतिको धान आयात हुनु विडम्बना भएको स्थानीय शैलज अधिकारीले बताए । ‘मुलुक हाँक्ने व्यक्तिलाई लाज भइदिने हो भने कृषिप्रधान देशको यो अवस्था हुने थिएन,’ उनले भने ।

भारत सरकारले विगतमा लामो समयदेखि धानको निर्यात रोकेर राखेको थियो । तर, गएको १५ कात्तिकदेखि धान निर्यात खुला गरेसँगै नेपालका धान व्यापारी विदेशी धान आयातमा आकर्षित हुँदा वीरगन्ज भन्सार नाकाबाट मात्र चालू आर्थिक वर्षको १५ कात्तिकदेखि १५ पुससम्म १४ करोड २५ लाख ५३ हजार ८६ किलो भारतीय धान नेपाल छिरिसकेको छ । यही धानको मूल्य उक्त रुपैयाँबराबर भएको वीरगन्ज भन्सार कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

कृषिप्रधान देशका लागि लज्जा

नेपाली किसानले धान बेच्ने सिजनमा नै भारतले धान निर्यात खुला गरेपछि यहाँका किसानको धानभन्दा भारतीय धान खरिदमा नै व्यापारीको आकर्षण बढेको छ । कारण धान व्यापारीले अहिले भारतको पञ्जाब, हैदराबाद, हरियानालगायतका ठाउँबाट नेपाली २१÷२२ रुपैयाँ प्रतिकिलोका दरले भारतीय धान भिœयाइरहेको बताइन्छ । नेपालको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिले खरिद गर्ने धानको मूल्य सोना मन्सुलीको प्रतिक्विन्टल ३ हजार १ सय २८ रुपैयाँ छ । जिरा मसिनोको ३ हजार २ सय ५० रुपैयाँ छ ।

अहिले नै व्यापारीले पनि किसान बनेर भारतीय धान संस्थानलाई बेच्दा पनि उनीहरूलाई क्विन्टलमा राम्रै फाइदा हुने धान व्यापारीमध्येकै केहीको भनाइ छ । अहिले नेपालको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिले नेपाली किसानको धान किनिरहेको छ । उसले नेपाली किसानको लालपुर्जाको फोटो कपी र पालिकाको सिफारिस अनिवार्य गरेको त छ तर व्यापारीले यत्ति कुरा चाही सहजै उपलब्ध गराउन सक्ने पनि उनीहरूको तर्क छ । धानको फरक छुट्याउन सक्ने ठोस आधार कम्पनीका कर्मचारीसँग पनि छैन । फेरि ऊनदेखि सुनसम्मको आयात हुने र नेता कर्मचारी अवैध दाममा बिक्न सक्ने आधार भएको मुलुकमा व्यापारी किसान बन्ने आधार फेला पार्न समस्या नै नपर्ने स्थानीयको तर्क छ ।

धान बोकेका मालवाहक सवारी नेपाल भित्रिने क्रमले वीरगन्ज भन्सारअन्तर्गतको एकीकृत भन्सार जाँचचौकी (आईसीपी) पनि हाल भरिएको छ । हाल नेपालका लागि भारत सरकारले ६ लाख मेट्रिक टन धान निर्यात गर्न ड्युटी छुट दिएको छ । नेपाल सरकारले भने कुल बजेटमा चालू आर्थिक वर्ष २०७९÷८० का लागि १ खर्ब ४५ अर्ब कृषि क्षेत्रका लागि बजेट छुट्याएको छ । तथापि बालीनाली लगाउने समयमा किसानले गुणस्तरीय बिऊ बिजन, रासायनिक मल नपाउने अवस्थाले धान उत्पादन खासै बढेको छैन । नेपालमा उत्पादन भएको धानले मात्र सबै नेपालीलाई वर्षभरि खान नपुग्ने तथ्यांक छ । यही कुरा आधार बनाई नेपाली धान व्यापारीले पनि भारतले निर्यात छुट दिएको समयमा ह्वात्तै धान खरिद गर्ने गरेका छन् ।

चामल उद्योग तथा ठूला सेलर मिल सञ्चालन गरिरहेका व्यवसायीले किसानको धान भकारीमै भएको अवस्थामा भारतलगायत तेस्रो मुलुकबाट सस्तोमा धान आयात गर्दा महँगो लागतमा उत्पादन गरेका नेपाली किसानको धान विदेशबाट सस्तोमा आयात गरिएको धानले विस्थापित हुने खतरा पनि बढाएको नेपाली किसान शम्भु यादवले बताए । कृषिप्रधान देशका किसानले उचित मूल्य पाउन नसक्नु दुःखद रहेको उनको भनाइ छ ।

नेपालबाट भारत धान निर्यात हुन्थ्यो
‘वसुधा’ नामक पत्रिका (२०२५ सालमा प्रकाशित)ले नेपालको आर्थिक विकासमा तराईको भूमिका शीर्षकमा छापिएको लेखमा सन् १९६५ मा नेपालको तराईबाट भारतमा ३ लाख ४८ हजार मेट्रिकटन धान निर्यात भएको उल्लेख गरिएको पाइन्छ । सो समयमा नेपाललाई विश्वको पाँचौं ठूलो धान निर्यात गर्ने देश पनि उल्लेख गरेको देखिन्छ । नेपालले त्यसबेला मधेसबाट मात्रै धान भारत निर्यात गरेर २३ करोड ७७ लाख ७२ हजार ६ सय ८५ भारतीय रुपैयाँ (अहिलेको विनिमयदर अनुसार ३८ करोड ४ लाख ३६ हजार २ सय ९६ रुपैयाँ) भिœयाएको तथ्यांकले देखाउँछ । तर, अहिले धान र चामलमा मात्रै ५० अर्ब बढी रुपैयाँ बिदेसिन थालेको छ ।

राष्ट्र बैंकका अनुसार भारतबाट धानको आयात एकै वर्षमा ५१ प्रतिशतले बढेको छ । यसबाट धानले जसरी सजिलै मुलुकको कुल गार्हस्थ्य उत्पादन र आर्थिक वृद्धिदरमा प्रभाव पार्छ, नेपालको व्यापार घाटामा पनि त्यसरी नै प्रभाव पारिरहेको जनाएको छ । नेपालले सबैभन्दा धेरै घाटा बेहोरिरहेको भारतसँगको व्यापारघाटाको ठूलो हिस्सा धान आयातले पनि बढाएको छ ।

भारत सरकारले १५ कात्तिकदेखि ६ लाख मेट्रिक टन धान नेपालका लागि निर्यात खुला गरेको छ । तर, पनि यस आयातले नेपाललाई नपुग्ने हँुदा कम्तीमा १५ लाख मेट्रिक टन धान निर्यातका लागि खुला गर्न धान चामल, तेल महासंघले भारत सरकारसँग माग गरिरहेको छ । गत आर्थिक वर्षमा साढे ५ लाख मेट्रिक टन धान र ५ लाख मेट्रिक टन चामल आयात गरेको पनि संघले जनाएको छ । त्यसको तुलनामा नेपालीलाई चामल खुवाउन अपुग भएकाले ६ लाख मेट्रिक टनलाई १५ लाखसम्म बढाउन माग गरिएको धान चामल तेल उद्योग महासंघका अध्यक्ष तथा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ताले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 147 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहमतीमा राष्ट्रपति छान्ने माओवादी निष्कर्ष

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
मतदान गर्न जाँदा के गर्न पाइदैन ?