महिनावारी, छाउप्रथा र कर्मकाण्ड

वैशाख महिनामा भाइको बिहेमा काठमाडौंबाट बैतडी जाने अवसर जु-यो । आफ्नै कान्छो भाइको बिहेमा जाँदा मन प्रफुल्ल थियो । तीन दिनको बाटो, लगातार झन्डै ३५ घण्टाको बस यात्रा अरूबेला अति नै पीडादायी हुने भए पनि त्यतिखेर घर पुगेको थाहा भएन । यता महिनावारी भइसकेर चोखिएकी थिएँ । महिनावारीकै कारण आफूलाई बिहेमा सामिल हुन पाउँदिन न कि भन्ने कुनै पनि चिन्ता थिएन । तर, उता बेहुलिकी बहिनी भने दुःखी थिइन् । उनको घरको पहिलो बिहे थियो त्यो ।
महिनौंदेखि दिदीको विहे हुने दिन पर्खेर बसेकी थिइन् । उनकी दिदीलगायत सम्पूर्ण परिवार बिहेको तयारीमा जुटेको थियो । तर, उनले महिनावारी धकेल्ने औषधि समयमा खान नभ्याएकै कारणले महिनावारी हुन पुगिन् । यता बिहेमा बजिरहेको दमाहाको मिठो तालसँगै उता पीडामा उनको मुटु पनि ढुकढुक गरिरहेको थियो । टाढा अर्काको घरबाट सकिनसकी आफ्नी दिदीको बिहे भएको हेरिरहेकी थिइन् । बेहुलाका जुत्ता लुकाउनेजस्ता उनी नै हुनुपर्ने कतिपय रिवाजमा उनले रमाइलो गर्न पाइनन् । बिहेमा सबैसँग मिलेर नाचगान गर्न त झनै कहाँ पाउनु । उनकी दिदीको बिहेमा सबैभन्दा धेरै रुने नै उनी थिइन् ।

उनी मात्रै होइन उनकी दिदी, आमा पनि उनलाई देखेर त्यतिकै दुःखी थिए । सानी, १२÷१३ वर्षकी कलिली नानीलाई महिनावारी भएको भन्दै खुसीमा सामेल नगराउने सबै दोषीजस्तै देखिए त्यहाँ । १८ वर्षसम्मकालाई बालबालिका मानिन्छ नेपालमा । नाबालिक भएकै कारणले १८ वर्ष नपुगी सवारी चालक अनुमतिपत्र, भोट हाल्न, बिहे गर्न पाइँदैन । ती १२ वर्षकी किशोरीको के दोष थियो र सबै मिलेर विवाह समारोहबाट वञ्चित बनाइन् । यो त एउटा उदाहरण मात्रै हो ।

अन्य कयौं बिहे जात्रा, भोज, पूजामा भाग लिन पनि साना लक्ष्मीका रूप भनिने किशोरी नै वञ्चित गराइएका हुन्छन् महिनावारीको नाममा । बेहुलाकी आमा अर्थात् भाउजूले पनि महिनावारी पर सार्ने औषधि खाएर काम फत्ते पार्नुभएकोमा आफूलाई गौरवान्वित ठान्नुभएको थियो ।

नेपालमै पनि त्यस्ता कतिपय जातजाति, परिवार छन् जहाँ महिनावारीलाई सामान्य रूपमा लिइन्छ । जसरी एउटी किशोरीले अन्य दिनहरूमा जे जति काम गर्ने, जेजस्ता खानेकुरा खाने जता जाने गर्छिन् त्यसैगरी महिनावारी भएको दिनमा पनि उनीहरू सामान्य रूपले त्यसरी नै सबै कामहर गर्ने गर्छिन् । नेवार, थारू, मंगोलियनहरूले महिनावारीलाई प्राकृतिक प्रक्रियाको रूपमा लिएर खुसी साथ जिउने गर्छन् ।

तर, नेपालकै कतिपय ठाउँका महिनावारी बार्ने महिलाले यसलाई आफू महिला भएर जन्म लिएकै कारण भोग्नुपरेको कुरीतिको रूपमा लिन्छन् । खासगरी सुदूरपश्चिम र मध्यपश्चिमका धेरैजसो जिल्लामा महिनावारीलाई कम्तीमा पाँच दिनसम्म बार्नै पर्ने हुन्छ । अझै बिहे नभएका महिलालाई आठ दिनमा मात्रै मन्दिर, बिहे, ब्रतबन्ध, पूजामा जाने अनुमति हुन्छ ।

छोरीको विवाहमा महिनावारी पर सार्ने औषधि खाएर आमाले काम फत्ते पार्नुभएकोमा आफूलाई गौरवान्वित ठानिरहनुभएको थियो

कहिलेसम्म एउटी महिलाले महिनावारीजस्तो कुरितिलाई सहँदै बस्नुपर्ने ? किन महिलालाई चार दिनसम्म दूध, दही, मही, घिउलगायतका जनावरबाट उत्पादन हुने खानेकुरा खान नदिने ? गाई, भैंसी बिग्रिन्छ भन्ने अन्धविश्वासका भरमा सबै महिलाले सहेर बस्नुपर्ने, किन ? कुनै वैज्ञानिक प्रमाण नै नभएका कुरामा विश्वास गरेर महिलालाई हेप्ने प्रवृतिबाट सबै मिलेर छुटकारा पाउन ढिलो भइसकेको छ । महिनावारी भएकी महिलाले छोएका फलफूलका रूख सुक्ने भनाइ कसरी सत्य हुन सक्छ ?

त्यही महिनावारी भएकी महिलाले काटेको घाँस खाएर भैंसीले दूध दिन्छ, महिनावारी भएकी महिलाले दूध दुहेर ल्याउन मिल्छ तर आफूले खान भने मिल्दैन । शरीरको पूरै बल लगाएर खनजोत गरी बाली फलाउन, फलफूलका रूख लगाउन मिल्छ तर कान्लामा लटरम्म फलेको फलको रूखबाट फल टिपेर खान मिल्दैन, किन ? घरका सम्पूर्ण सदस्य बिहे, ब्रतबन्ध, पूजा आदिमा रमाइरहँदा महिनावारी भएको ट्याग झुन्ड्याएर महिलालाई अछुत मान्दै एक्लै राख्नु कतिको जायज हो ?

विदेशतिर जसलाई हामी विकसित देशका नामले चिन्ने गर्छाैंं त्यहाँ महिनावारीलाई जीवन चक्र सञ्चालन गर्न नभई नहुने प्रक्रिया ठान्दै सामान्य रूपमा लिन्छन् । महिनावारी भएको बेला पनि किशोरी, महिला सधैंझंै आफ्नो काममा व्यस्त हुन्छन् । उनीहरूका कुनै पनि काम महिनावारी भएको भन्दै रोकिएका हुँदैनन् । न त कसैलाई कोही महिनावारी भएको चासो हुन्छ न त भगवान् रिसाउने डर नै हुन्छ । कतिपय समुदायमा पहिलोचोटि महिनावारी भएको खण्डमा किशोरी वंश सञ्चालन गर्न सक्षम भएको भन्दै खुसीयाली मनाइन्छ ।

किशोरीलाई मीठा खानेकुरा, उसलाई मनपर्ने उपहार दिइन्छन् । त्यसपछि उसलाई महिनावारीको नाममा सकस हुँदैन । ऊ महिनावारी भए, नभएको अरूलाई पत्तो हुँदैन । किशोरीले बिनाहिचकिचाहट आफ्नो काम गरिरहेका हुन्छन् । तर, हाम्रो देशका कतिपय भूभागमा खासगरी सुदूर तथा कर्णाली भेगका महिला पुस–माघको कठ्यांग्रिने जाडोमा समेत छाउगोठ सुत्न बाध्य बनाइएका छन् अहिले पनि ।

आमाको न्यानो अंगालोबाट महिनावारी भएपछि छुट्याएर सिधै छाउगोठको चिसो भुइँमा एक्लै सुताउँदा पनि ती आमाबुवाका आँखा रसाउँदैनन् । भन्ने बेला मायाभन्दा ठूलो संसारमा केही हुँदैन, मायाले सबैलाई जित्न सकिन्छ भनिन्छ तर अन्धविश्वासका अगाडि आमाबुवाको मायासमेत सन्तानका अगाडि, खासगरी छोरीका अगाडि घुँडा टेकिदिन्छ, फिका भइदिन्छ ।

कति दुखःलाग्दो छ, एउटी महिलाले प्रत्येक महिना महिनावारीको नाममा घरको कुनामा, छाउगोठको चिसोमा अपर्याप्त लुगा सधैं लुगलुग काँपेर रात कटाउनुपर्ने बाध्यता । कम्तीमा पनि चार दिनसम्म आफूले चाहेको खानेकुरा खान नपाउनु, आफूलाई मन लागेको ठाउँमा जान रोकटोक हुनु, महिनावारी भएको चार दिनमा बिहानै उठेर, खोलामा गई नुहाउनु, लुगा धुनु एउटी १२ वर्षकी कलिली किशोरीका लागि कति गाह्रो छ ।

त्यतिकै गाह्रो हुन्छ प्रत्येक महिना म महिनावारी भएँ है भन्दै घरका सदस्यलाई सुनाउनु पनि । अझै बाजुराजस्ता कतिपय दुर्गमका जिल्लामा त स्कुलसमेत जान पाइँदैन । सबैको नजरमा अछुत भएर बस्नुपर्छ । कति पीडादायी छन् तुकबिना महिलाका लागि तोकिएका यस्ता क्रुर गतिविधि ।

मानिसको नाकबाट सिँगान बग्छ जसको रङ पहेंलो हुन्छ । यसले नाकबाट साना कीटाणु शरीरभित्र पस्न दिँदैन । आँखाबाट झर्ने रंगहीन आँशुले आँखालाई सुक्खा हुनबाट जोगाउँछ । आँखामा पसेका कसिंगर आदिलाई बाहिर निकाल्छ । कहिलेकाहीँ आँसु झार्दा मनका पीडा आँसुसँगै बगेर मन हलुका पनि हुन्छ । प्रत्येक दिन बिहान सबै शौचालय जान्छन् । दिनहँु पनि गइरहनुपर्छ । यसले पाचन प्रक्रिया क्रममा पेटमा उत्पन्न विकार बाहिर फालेर शरिरलाई स्वस्थ रहन सघाउँछ । त्यसैगरी महिनाको एकचोटि महिलाको योनीबाट बग्ने रातो रङको रगतले त झनै सृष्टि सुचारु गर्ने महत्वपूर्ण कामका लागि महिलालाई तयारी गराउँछ ।

यदि महिला महिनावारी हुने होइन भने कसैको पनि वंश चल्दैन । यो संसार यही समाप्त हुन्छ । यति धेरै महत्वपूर्ण प्रक्रिया पापसँग जोडेर महिलालाई प्रत्येक महिना चार÷पाँच दिनसम्म दण्ड दिनु सरासर महिलामाथि गरिने अन्याय हो । यसविरुद्ध खुलेर कोही पनि बोल्न चाहँदैन । खासगरी महिनावारी मान्ने परिवार, समुदायमा पी–एचडी गरेका भए पनि चुप लागेर बस्छन् । अन्यायविरुद्ध बोलेको पाइँदैन । महिलालाई दुःख दिएको खण्डमा सबैका कलेजोमा ठण्ड परेको हुन्छ । सबै खुसी हुन्छन् । पञ्चकन्या, कुमारी पूजा, बालविवाह, ऋषिपञ्चमी पूजाले पनि महिनावारीलाई पाप नै हो भन्ने भ्रमपूर्ण बढावा दिएको छ । यसले महिनावारी भएका महिला झनै सकसमा पर्ने गरेका छन् ।

महिनावारीलाई पापसँग जोडेर महिलालाई प्रत्येक महिना चार-पाँच दिनसम्म दण्ड दिनु सरासर महिलामाथि गरिने अन्याय हो

किन महिला महिनावारी भएको बेला कम्तीमा चार दिनसम्म अत्यधिक रगत बगेको बेला उसलाई लगाउने भित्री लुगाको आवश्यकता होला भनेर कसैले बुझ्दैनन् ? किन कसैले प्याड किनेर दिन सक्दैनन् ? किन उसलाई गाह्रो भएको होला भनेर कसैले बझ्दैनन् । कसैलाई त अत्यधिक पिडा पनि हुन्छ । यस्ता अत्यधिक पीडा हुने महिलालाई तीन दिनसम्म अफिस, स्कुलले बिदा दिन सक्दैन ? किन महिलाले महिनावारी हुँदा लगाउने प्याड एउटै प्याकेटको ७०÷८० रुपैयाँ पर्नेगरी अति नै महँगा बनाइएका हुन्छन् । ती पनि हाम्रो देशमा त गुणस्तरहीन नै बनाइएका छन् । किन ?

महिलाको जीवनमाथि, उसको स्वतन्त्रतामाथि अरूको हस्तक्षेप किन ? यदि उसलाई महिनावारी भएको आफ्नो परिवारलाई सुनाउन मन लाग्यो, मन्दिर जान मन लागेन, भान्छा घर जान मन लागेन भने ठीक छ । तर, यदि महिलालाई यी सबै बोझ लाग्छन्, यस्ता कार्य गर्नाले उसलाई हीनताबोध हुन्छ भने उसलाई जता मन लाग्यो त्यता जाने, जे गर्न मन लाग्यो सबै गर्ने अधिकार दिनुपर्छ । महिनावारी एउटा सामान्य प्रक्रिया हो, यसलाई कसैले बारिरहनु पनि पर्दैन र लाज पनि मान्नुपर्दैन भन्ने भावना महिलामा जगाउनु सक्नु सबैको कर्तव्य हुनुपर्छ । महिलालाई महिनावारीको नाममा उसका खुसी, अवसर, इच्छा, चाहनालाई मार्नु कदापि हुँदैन ।

प्रत्येक घरपरिवारका महिला पुरुषले संयुक्त रूपमा छाउपडीप्रथालाई उखेलेर फाल्नुपर्छ । होइन भने देशबाट यो कुरीतिले कहिल्यै हटाउन सकिनेछैन । महिलाले महिनावारी भएजस्तै पुरुषको पनि बेलाबेलामा सेतो रङको वीर्य स्खलन हुन्छ । के पुरुषलाई पनि महिलाजस्तै सहनुपरेको छ ? यदि छैन भने महिलालाई मात्रै किन ? किन सेतो र रातो रङमा यति धेरै भेदभाव ?

तपाइको प्रतिक्रिया
(Visited 292 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाल्पाको पूर्वखोला गाउँपालिकामा सवै पदमा एमाले विजयी