महाकालीको खोँचमा बिलायो दार्चुलाकी रायमतीको रोदन

दार्चुला। दार्चुलाको व्याँस गाउँपालिका–४ डोकटस्थित खालीनगर कौनेणीकी राइमती विष्ट २१ पुस (बिहीबार) को दिउँसो २ बजेतिर खाना खाएर मेलापातका गर्न हिँडिन् ।

उनीसँगै गाउँका अन्य दुई जना महिला पनि सँगै मेलापातका गर्न हिँडेका थिए । कौनेणीका स्थानीय मेलापातका लागि महाकाली पारी भारततर्फ जाने गर्दछन् ।

महाकाली किनारको बस्ती हो, कौनेणी । व्याँस गाउँपालिकाको केन्द्रसमेत रहेको वडा नं. ४ सुनसेरा अन्तर्गत पर्ने यो क्षेत्र निकै दुर्गम छ । त्यहाँ फोन सेवा, टेलिकमलगायत सञ्चारमाध्यमले पनि राम्रोसँग काम गर्दैन ।

होचो भूभाग रहेको कौनेणीका स्थानीयबासिन्दालाई फोन सम्पर्क गर्न डाँडा उक्लनु पर्ने बाध्यता छ । कौनेणीमा दुई÷तीन परिवारको मात्रै बसोबास गर्ने गर्छन् ।

महाकाली पारी पनि यस्तै दुई/तीन घर मात्रै रहेको गाउँ छ । गाउँसँगै जंगल पनि छ । कौनेणीका स्थानीय घाँस,दाउराका लागि त्यहीँ जंगलमा जान्छन् ।

उनीहरुका लागि महाकाली नदी ठुलै तगारो बन्ने गर्दछ । कौनेणी भन्दा २÷३ किलोमिटरको दुरीमा पर्ने मलघट्टे भन्ने ठाउँमा महाकाली तर्न झोलुङ्गे पुल छ । तर, स्थानीय भने चोरी छिपेर महाकालीमा तुइन राख्छन् । र, तुइनकै सहारामा महाकाली वारिपारि गर्छन् । बिहीबार राइमती पनि तुइनबाटै घाँस ल्याउन पारि हानिएकी थिइन् ।

उनको पछि, पछि १० वर्षीय छोरा दिपेन्द्र लागेको उनले पत्तै पाइनन् । झोलुंङ्गे पुल नभएर राइमतीसँगै अन्य दुई महिला तुइनमार्फत पारि गए ।

स्थानीयका अनुसार महाकाली पारी पुगेर करिब ५० मिटरमाथि हिँडिसकेपछि राइमतीले छोरालाई तुइनमा झुण्डिएको देखिन् । त्यो देखेर आमा राइमती झस्किन् । हत्तपत्त तुइन भएतिर झरिन् ।

दिपेन्द्र कहिल्यै तुइन चढेका थिएनन् । सामान्यतया फलामको ताङ्लो लगाएर तुइन तर्ने गरिन्छ । तर, दिपेन्द्र तुइनको लठ्ठामा केही नलगाएर हातले तर्दै थिए ।

राइमती सडकबाट तुइन भए ठाउँमा पुग्दा दिपेन्द्र महाकालीको बीचमा पुगिसकेका थिए । एकछिनमै राइमतीको आँखै अगाडि छोरा दिपेन्द्र महाकालीमा हेलिए । राइमतीले केही गर्न सकिनन्, छोरा महाकालीमा खसेको पीडादायी दृश्य हेरेको हे–यै भइन् ।

‘झोलुंङ्गे पुल हुँदा पनि तुइन राखेर महाकाली वारिपारि गर्दछन्, ती बालकले कहिल्यै तुइन चढेका रहेनछन्, बिना रिङ्ग हातले नै पारी जान खोजे,’ व्याँस गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवरले भने, ‘बीचमा पुग्दा हात थाकेर कालीमा खसेका थिए ।’

दिपेन्द्र तुइनबाट हात फुत्केर महाकालीमा खसेपछि राइमती र उनीसँगै रहेका महिलाले खोजी गरे तर उनको अत्तोपत्तो चलेन । घटनापछि विष्ट परिवार विक्षप्त बनेको छ । गाउँ नै शोकमग्न छ । राइमतीले आँखै अगाडि परिवारको सहारा गुमाउँदा पीडामा छिन् ।

राइमतीका दुई छोरा छन् । दिपेन्द्र कान्छा छोरा थिए । उनी ब्रह्मस्थान आधारभूत विद्यालयका कक्षा ४ मा पढ्थे । जेठा छोरा लोकेन्द्र सोही विद्यालयमा कक्षा ६ मा अध्ययनरत छन् ।

आइतबार पनि उनी ट्यूसन पढ्न विद्यालय गए । रायमतीका श्रीमान् वैदेशिक रोजगारीको शिलशिलामा साउदी अरबमा छन् । घटना बिहीबार भएपनि शनिबार दिउँसो मात्रै बाहिरिएको हो ।

अल्पायुमै कलिलो छोरा गुमाउँदाको पीडामा छ परिवार । तर, उनीहरुले घटनाका विषयमा प्रहरीलाई जानकारी गराएनन् । घटना सञ्चार माध्यममा बाहिरिएपछि शनिबार मात्रै प्रहरीले पत्तो पाएको हो ।

पछि जनप्रतिनिधि र सुनसेरा प्रहरीको टोली पीडीत परिवार भेट्न घरमै पुगेको हो । ‘सञ्चारमाध्यमबाट घटनाका विषयमा जानकारी पायौंँ, सुनसेराबाट प्रहरी टोली पीडीत परिवारलाई भेटेर फर्किएको छ,’ जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक गोविन्द भण्डारीले भने, ‘अहिले प्रहरी बालकको खोजीमा जुटेको छ, उनको अवस्था अज्ञात छ ।’ दिपेन्द्रलाई सकुसलै पाउने आशा परिवारले मारिसकेको छ । त्यसैले हिन्दु परम्परा अनुसार परिवारले उनको अन्तिम संस्कारको काम गरेका छन् ।

प्रहरीलाई जानकारी दिनु पूर्व स्थानीयले महाकालीमा बालकको खोजी गरेका थिए । सञ्चार सुविधा नहुँदा घटनाका विषयमा जानकारी दिन ढिलाई भएको पीडीत परिवारले भनेको प्रहरी निरीक्षक भण्डारी बताउँछन् ।

घटना’bout ढिलो जानकारी आउनुको पछाडी सञ्चार सुविधाको अभावका साथै अन्य थप दुई कारण देख्छन्, गाउँपालिका उपाध्यक्ष विनोदसिंह कुँवर । घटनावारे जानकारी पाएपछि उनी शनिबार पीडीत परिवार र गाउँलेलाई भेट्ने कौनेणी पुगेका थिए ।

‘तुइन अवैधानिक हुनाले प्रहरीलाई भनेमा अनावश्यक दुख पाइने भन्ने त्रास स्थानीयमा पाइयो, चुनाव अघि सोही ठाउँका नरसिंह विष्टको हत्या घटनामा वडाध्यक्ष, पूर्ववडाध्यक्ष सहित केही स्थानीय मुछिए,’ उपाध्यक्ष कुँवर भन्छन्, ‘त्यस घटनाले त्रसित स्थानीयले डरले घटना’bout जानकार नदिएको पनि देखिन्छ ।’

सञ्चार सुविधा नहुँदा पनि घटना ढिलो बाहिरिएको उनको भनाइ छ । ‘त्यहाँ सञ्चार सुविधा पनि राम्रो छैन, फोन गर्न माथि आउनुपर्छ,’ उनले भने, ‘त्यसैले पनि घटना ढिलो बाहिरिएको हुनसक्छ ।’ प्रहरीले आइतबार बेपत्ता बालकको खोजीका साथै घटनाको मुचुल्का उठाउने तयारी गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 236 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

भएको तुइन भत्काइएपछि स्थानीयलाई सास्ती

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
पोखराको मेयरमा एकीकृत समाजवादीको ५ सय मतान्तरले अग्रता