इतिहासले लुकाएको राष्ट्रिय विभूति

राष्ट्रिय विभूति राष्ट्रले प्रदान गर्ने विशिष्ट सम्मान हो, जुन राष्ट्रको गौरव र मर्यादा बढाउन विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई मात्र प्रदान गरिन्छ । आ–आफ्नो क्षेत्रमा विशिष्ट योगदान पु¥याउँदै आएका ख्यातिप्राप्त व्यक्ति राष्ट्रिय विभूतिमा समेटिन सक्ने भएकाले यसको विषयगत मापनको क्षेत्र पनि व्यापकै हुन्छ । राजनीतिक, आर्थिक, सामाजिक, धार्मिकलगायत विशेष ख्याति एवं कीर्तिमानी कार्यमा प्रसिद्धि कमाएका अठार जना वीरविरांगनालाई मुलुकले अहिलेसम्म राष्ट्रिय विभूति घोषित गरिसकेको छ । यी विभूतिहरू हामी सबैको इज्जत र प्रतिष्ठाको बाहक हुन् । तर विभूति छनोट गर्ने मापदण्ड नै निश्चित नगरी कतिपय सामान्य योगदान पु¥याएकै व्यक्तिलाई शक्ति र पहुँचको आधारमा राष्ट्रिय विभूति घोषित गरिएो भन्ने टीकाटिप्पणी नभएको होइन । यसको कारण पनि व्यक्तिको योगदानलाई सार्वजनिक रूपमै चर्चा र बहसको विषय नबनाइ शक्ति र प्रभावको आधारमा सत्ता सञ्चालककै इच्छामा घोषित गर्ने संकुचित मानसिकता नै हो ।

वास्तवमा राष्ट्रिय विभूति नकारात्मक मुद्दा र बहसको विषय बन्नु हुँदैन । राष्ट्रको निम्ति व्यक्ति विशेषले पु¥याएको योगदान आफैँमा खुला किताब हुने भएकोले न त यसलाई कसैले लुकाउनै सक्छ न त फुलबुट्टा भरी बढी चढाउनै गर्न सक्छ । तथापि कसैको प्रभावको भरमा अनुपयुक्त व्यक्तिलाई विभूति घोषणा गर्ने, योग्य एवं उपयुक्त व्यक्तिलाई छायामा पार्ने कार्यले उल्टै राष्ट्रको मर्यादा खस्काउँछ । हालसम्म घोषित १८ जना राष्ट्रिय विभूतिमध्ये १३ जना लोकतन्त्र स्थापित हुनुअगावै अर्थात् २०६० सालपहिल्यै घोषित व्यक्ति हुन भने पाँचजना लोकतन्त्र स्थापित भएयता घोषित व्यक्ति पर्छन् । यिनै पाँचजना टीकाटिप्पणी र चर्चाको विषय बन्दै आएका छन् । यसमध्येका कसैलाई साम्प्रदायिक प्रभावको बाहुल्यतालाई आधार मानी, कसैलाई समुदाय विशेषकै सहानुभूति लिनको निम्ति तथा कसैलाई सस्तो लोकप्रियता आर्जनकै निम्ति राष्ट्रिय विभूति बनाइयो भन्ने टिकाटिप्पणी र आलोचना हुँदै आएको सर्वविदितै छ ।

राष्ट्रका निम्ति व्यक्ति विशेषले पु-याएको योगदान आफैंमा लुकाउन नसकिने र फूलबुट्टा पनि भर्न नसकिने खुला किताब हो

२०१७ देखि २०६० सालसम्म विभूति घोषित १३ जनाको हकमा सम्भवतः नरकारात्मक टीकाटिप्पणी र आलोचना भएन । आलोचनारहित यी १३ जनामा राजा जनक, आदर्श नारी सीता, गौतम बुद्ध, अंशु बर्मा, अरनिको, रामशाह, पृथ्वीनारायण शाह, भानुभक्त, भीमसेन थापा, अमरसिंह थापा, बलभद्र कुँवर, मोतीराम भट्ट र राजा त्रिभूवन हुन् । २०६० सालयता राष्ट्रिय विभूति घोषित पाँचजनामा शंखधर शाख्वा, महागुरु फाल्गुनन्द, पासाङ्ल्हामु शेर्पा, वीर भक्ति थापा र जयपृथ्वी बहादुर सिंह पर्छन् । लोकतान्त्रिक सरकारबाटै घोषित यी पाँचजना राष्ट्रिय विभूतिको पूर्व पृष्ठभूमि तथा उनीहरूले राष्ट्रको गौरव र मर्यादा बढाउन पु¥याएको विशेष योगदान कुन स्तरको थियो तुलनात्मक रूपमै स्मरण गरौं ।

लोकतान्त्रिक सरकारले राष्ट्रिय विभूति घोषणा गरेको पहिलो व्यक्ति शंखधर शाख्वा हुन् । उनी काठमाडौंको मरुटोल निवासी सुन व्यापारी थिए । नेपाल संवत्बाहेक शंखधर सम्बद्ध ऐतिहासिक प्रमाण अरू छैन । तथापि जनश्रुति र कथनकै आधारमा सरकारले शंखरधरलाई राष्ट्रिय विभूति घोषित गरेपछि नै शंखरधरलाई चिनाउने अभिप्रायले मल्ल के सुन्दरले लेखेको ‘शंखधर’ उपन्यासमा जनश्रुति र कथनले स्थान पाए पनि त्यसलाई प्रमाणित गर्ने अन्य आधार छैन । शंखरधर ११औं शताब्दीका हुन् भन्ने विश्वास गरिँदै आएको छ । शंखरधर शाख्वा प्रतिष्ठानले प्रकाशन गरेको मल्ल के सुन्दरद्वारा लिखित ‘शंखधर’ उपन्यासमा काठमाडौंको हाँडीगाउँमा भएको भीषण आगलागीमा परी शंखधरकी प्रेमिका तुयुमतीको मृत्यु भएपछि नै शंखरधर विष्णुमति किनारको बालुवामा सुनको कण खोज्ने कार्य गर्दै पछि सुन व्यापारी भएर अथाह सम्पत्ति आर्जन गरेको उल्लेख छ । शंखधरले पशुपतिको मृगस्थलीका महासिद्ध गुरु नरोपादको प्रेरणाबाट ऋणमा डुबेका काठमाडौंका केही सर्वसाधारणको ऋण तिरी उनीहरूलाई ऋणमुक्त गराउने भनी राजाकै सामु एक समारोहबीच घोषणा गरेका थिए । त्यही दिनको सम्झनामा उनको नामबाट नयाँ सम्बद्ध प्रारम्भ गर्ने राजाले आदेश दिएपछि नेपाल संवत्को प्रारम्भ भयो । त्यसताका उपत्यकामा मात्रै नेपाल सीमित थिएन । उपत्यकाबाहिर बसोबास गर्ने सबै नेपालीलाई शंखधरले ऋणमुक्त गराएका थिएनन् । तथापि उनलाई सरकारले राष्ट्रिय विभूति घोषित ग¥यो ।

यसैगरी, महागुरु फाल्गुनन्द लोकतान्त्रिक सरकारले घोषणा गरेको दोस्रो राष्ट्रिय विभूति हुन् । फाल्गुनन्द इलाम निवासी जगनदास लिङ्देन र आमा हंसमती लिङ्देनका छोरा थिए । फाल्गुनन्दको जन्म १९४२ कात्तिक ५ मा भएको थियो । उनले किराँत धर्मको सुधार गर्ने उद्देश्यले प्रचलित अन्य विभिन्न धर्मग्रन्थको अध्ययन गरी किराँत समुदायको निम्ति अनुशरणयोग्य १० बुँदे सत्यधर्म मुचुल्का तयार पारे । फाल्गुनन्दले यो मुचुल्का किरातहरूकै ठूलो समूहबीच सर्वाजनिक गरे । त्यसपछि किरात भेगमा यसको खुबै प्रशंसा भयो । १० बुँदे सत्यधर्म मुचुल्का व्यवहारमा अक्षरशः पालन हुँदै आयो । यसपछि किरात भेगमा फाल्गुनन्द लोकप्रिय बने । त्यसताका नेपालमा प्रचलनमा आएका अन्य धेरै धर्म थिए तर अन्य धर्मको सुधार फाल्गुनन्दले गरेका थिएनन् । यही १० बुँदे सत्यधर्म मुचुल्काको आधारमा लोकतान्त्रिक सरकारले फाल्गुनन्दलाई २०६६ मंसिर १६ मा राष्ट्रिय विभूति घोषित ग¥यो ।

लोकतान्त्रिक सरकारबाट विभूति घोषित हुने अर्को व्यक्ति पासाङ्ल्हामु शेर्पा हुन् । पिता फुर्वा शेर्पा र माता आमदिकी शेर्पाकी छोरी पासाङ्ल्हामुको जन्म २०१८ सालमा सोलु जिल्लाको चौरीखर्क गाउँमा भएको थियो । पासाङ्ल्हामुले २०५० साल वैशाखमा सगरमाथाको सफल आरोहण गरी नेपाली महिलाको साहस र पौरखलाई विश्व समुदायसम्म फैलाइन् । तर, अफसोच यिनै बहादुर नेपाली चेलीको आरोहण सकी फर्कने क्रममा २०५० वैशाख १० मा हिउँमा चिप्लिएर देहान्त भयो ।

वीर भक्ति थापा सरकारले घोषणा गरेको पछिको चौथो राष्ट्रिय विभूति हुन् । भक्ति थापाको जन्म १८०१ सालमा लामजुङमा भएको थियो । भक्ति थापा प्रारम्भमा लमजुङे राजा केहरीनारायण शाहकै फौजमा भर्ना भएका थिए । १८३९ कात्तिकमा एकीकरणको क्रममा लमजुङ नेपालमा गाभिएपछि वीर भक्ति थापा पनि गोरखाली सेनामा गाभिए । अंग्रेज फौजसँग १८७२ सालमा देउथलमा भएको युद्धमा ७१ वर्षीय भक्ति थापाले नै उत्साहपूर्वक नेपाली फौजको नेतृत्व गरेका थिए । निडर एवं साहसी वीर भक्ति थापाले डटेर अंग्रेज फौजसँग मुकाबला गरे । तर, दुर्भाग्य छोरालाई अम्मरसिंह थापाको जिम्मा लगाई दुई श्रीमतीलाई धर्मपालन गर्ने निर्देशन दिई देउथलको युद्धमा होम्मिएका वीर भक्ति थापाको अंग्रेजले प्रहार गरेको तोपको गोली लागी रणभूमिमै देहान्त भयो । उनै वीर भक्ति थापालाई सरकारले २०७८ असार १४ मा राष्ट्रिय विभूति घोषित ग¥यो ।

रामचन्द्र प्रसाईंको समाजसेवा प्रसिद्धि रामेछापदेखि सिन्धुली हुँदै गोरखा दरबारसम्म फैलिएको थियो

सरकारले घोषणा गरेको पाँचौं पछिल्लो राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंह हुन् । बझाङे राजा विक्रमबहादुर सिंह र रानी रुद्रकुमारी देवीका छोरा जयपृथ्वीबहादुरको जन्म १९३४ भादौ ७ मा भएको थियो । जयपृथ्वीबहादुर सिंहको विवाह राणा प्रधानमन्त्री चन्द्रशमशेरकी छोरीसँग भएको थियो । जयपृथ्वीबहादुरले कलकत्ताबाट मेट्रिक पास गरी इलाहावादबाट उच्च शिक्षाको अध्ययन गरेका थिए । जयपृथ्वीबहादुर सिंहले १९५७ सालमा नेपाली शिक्षाको पहिलो पाठ्यक्रम निर्माण गरे । उनले गोरखापत्रको प्रकाशनलाई व्यवस्थित गराए । उनले लेखेको अक्षराङ्क शिक्षालाई नेपालको पहिलो पाठ्यपुस्तक मानिएको छ । बालबोध, ज्ञानमाला र भूगोल विषय जयपृथ्वीबहादुर सिंहद्वारा लिखित मुख्य कृति हुन् । समाजमा व्याप्त सामाजिक कुरीति हटाउने क्रममा ससुरा चन्द्रशमशेरसँग कुरा नमिलेपछि उनी भारत पलायन भएको भनिन्छ तर देवशमशेरलाई सत्ताच्युत गरी आफैं प्रधानमन्त्री बनेका चन्द्रशमशेर आफैं जनप्रिय बन्न सामाजिक सुधारमा अग्रसर भइरहेको अवस्थामा जयपृथ्वीबहादुरसँग भएको असहमति भन्ने कुरा आफैंमा विवादास्पद देखिन्छ ।

मानव जातिको अस्तित्व रक्षा गर्न विश्वशान्ति एक मात्र उपाय ठान्ने दार्शनिक जयपृथ्वीबहादुर सिंहले फ्रान्स, जर्मनी, पोल्यान्ड, हङकङ, इंग्ल्यान्ड, आइसल्यान्ड र चीनसमेतका मुलुकमा पुगी मानव दर्शनसम्बन्धी सम्मेलन गरेका थिए भनिए पनि त्यसको कथन र जनश्रुतिबाहेक अन्य प्रमाणिक आधार छैन । जयपृथ्वीबहादुर सिंह त्यसताकाको राजखलकका शिक्षित व्यक्ति थिए । उनको ख्याति राष्ट्रहितमा भन्दा व्यक्तिगत जीवनशैलीतर्फ नै आकर्षित देखिएको छ । यसको साथै उल्लेखित मुलुकमा पुगी उनले गरेको मानव दर्शन सम्मेलनबाट मुलुकलाई के उपलब्धि भयो ? भन्ने कुरो अनुत्तरितै छ । १९९७ सालमा स्वर्गारोहण भएका जयपृथ्वीबहादुर सिंहलाई सरकारले २०७९ असार ६ मा राष्ट्रिय विभूति घोषित ग¥यो ।

यी पाँच व्यक्तिको योगदानलाई राज्यले कदरयोग्य ठान्यो । तर, यही सन्दर्भका अर्का वीर राष्ट्रभक्त सपूत रामचन्द्र प्रसाईंले राष्ट्रको अस्तित्व रक्षार्थ राज्यका लागि नगदै २ हजार, फौजका लागि रासनपानी, थप भोलेन्टिएर सेनाको व्यवस्थासमेत आफैंले गरे । त्यति मात्र होइन रणभूमिमा भौतिक रूपमै स्वयं उपस्थित भएर पु¥याएको सामरिक योगदानलाई अधिकांश कथित इतिहासविद्ले मात्र होइन राष्ट्रले नै लुकाउँदै ल्यायो । राष्ट्रले लुकाएका यिनै अदृश्य राष्ट्रिय विभूतिको योगदानलाई स्तम्भकारले उजागर गर्ने प्रयत्न गरेको हो । स्मरण रहोस् रामेछाप जिल्लाको मन्थली नगरपालिका–७ मुगीटार निवासी नन्दमुनि प्रसाईंका नाति श्रीकृष्णका छोरा १७७३ सालको वैशाखकै पूर्णिमामा जन्मी ८८ वर्षको उमेरमा १८६१ सालमा स्वर्गीय भएका रामचन्द्र प्रसाईं सिन्धुलीगढीको युद्ध लड्ने नेपालका जनसेनापति थिए ।

कान्तिपुर राज्यकै सीमा क्षेत्रभित्र पर्ने रामेछापको मुगीटार निवासी रामचन्द्र प्रसाईंको समाजसेवाको प्रसिद्धि रामेछापदेखि सिन्धुलीसम्म मात्र होइन कान्तिपुर दरबारदेखि गोरखा दरबारसम्म नै फैलिएको थियो । रामचन्द्रले नेपालको अस्तित्व रक्षार्थ कस्तो योगदान पु¥याएका थिए भन्ने कुरा रामचन्द्रकै पत्रको प्रत्युत्तरमा राजा पृथ्वीनारायण शाहले रामचन्द्रलाई पठाएको यही पत्रले नै बताउँछ ।

स्मरण रहोस् यो पत्र राष्ट्रिय अभिलेखालयको शाहकालीन चिठीपत्र संग्रह दोस्रो भाग १८९९ सालको किताब नं. ६४६ मा छ ।

राष्ट्रको गौरव र मर्यादा बढाउने कार्य एवं राष्ट्रिय अस्तित्व संरक्षण गर्ने कार्यमध्ये कुन बढी गहन र उच्च हो ? स्तम्भकारको मुख्य सवाल यही हो । उल्लेखित पछिल्लो पाँच विभूतिको योगदानलाई तुलनात्मक रूपमा हेर्ने हो भने, केबल जातीय धर्ममा सामान्य सुधार ल्याउने महागुरु फाल्गुनन्द, नेपाल उपत्यकाभित्रका केही विपन्न ऋणीको ऋण तिरिदिएबापत नेपाल संवत्को प्रचलन गराई राजाद्वारा तत्कालै कदर गरिसकेका शंखधर शाख्वा, सरकारको रासनपानी खाएर जिम्मेवारी प्रशंसनीय ढंगले सम्पादन गर्दा मृत्युवरण गरेका वीर भक्ति थापा, नेपाली महिलाको सुवासना विश्वमै फैलाउन सफल बनेकी पासाङल्हामु शेर्पा तथा स्वहितको पौरखी कार्य गर्ने जयपृथ्वीबहादुर सिंह समेतले गरेको उपरोक्त कार्य र केबल आदर्श नागरिककै हैसियतमा रामचन्द्रले गरेको उल्लिखित स्वेच्छिक योगदान तुलनात्मक रूपमा कुन बढी कदरयोग्य हो ? यो समस्त देशवासीकै इज्जत र प्रतिष्ठासँग जोडिएको राष्ट्रिय महत्वको विषय हो ।

तपाइको प्रतिक्रिया
(Visited 309 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राष्ट्रपतिका लागि विश्वासको मत खोज्दै कांग्रेस

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
बाजुरामा एसका सचिवलाई चक्कु प्रहार गर्ने काँग्रेसका २ कार्यकर्ता प्रक्राउ