वृद्धभत्ता बुझेर घर फर्कने आशामा आफ्नो घरबाट हँसमुख हिँडेकी ७२ वर्षीया सीता गिरी आफ्नै घरमा फर्कन नपाएपछि गाउँघरको सिंहदरबार जनताको पहुँचभन्दा टाढै रहेको अनुभूति सबैमा हुन गएको छ ।
आफूले बुझेको वृद्धभत्ताले घरमा आइपरेको गर्जो टार्ने उनको कल्पना अधुरै रहेपछि यसले सबैलाई घोत्लिएर सोच्न बाध्य बनाएको छ । गाउँपालिकामा अवस्थित कुमारी बैंक पुगेकी छबिस पाथिभेरा गाउँपालिका–१ की एकल ज्येष्ठ नागरिक गिरीको ‘सामाजिक सुरक्षा भत्ता’ बुझेर घर फर्कने क्रममा बीच बाटैमा मृत्यु भयो । उनका श्रीमान्को धेरै वर्षपहिले मृत्यु भइसकेकाले उनी सायद यही भत्ताले आफ्नो नुनतेलको समस्या समाधान गर्थिन् । उनको घरमा आफन्तसमेत नभएका र केही समयदेखि उनी बिरामी रहेको अवस्थामा उनी बैंक जान हिँडेकी थिइन् । समाजले पनि गए आएको बाटो त हो नि भन्ने सोचेको हुनुपर्छ । किनकि, उनी अशक्त भएको थाहा पाएपछि एकजना सहारा दिन त जानुपर्ने थियो । समाज बेपर्वाहमा अलि बढी नै अभ्यस्त पनि छ ।
गाउँमा बैंक जहाँतहीँ छैनन् । जनताको पहुँच पनि छैन । सहरमा चोकैपिच्छे पाइने बैंक गाउँमा खोज्दा पनि भेटिँदैनन् । केही बैंक त अन्तरजिल्लामा समेत पाइँदैनन् । सामाजिक सुरक्षा भत्ता केहीका लागि भ्रमण भत्ताजस्तो हुने गरेको छ । बेजिल्ला पुगेर महँगो भाडा तिरेर सामाजिक सुरक्षा भत्ता लिए पनि घर फर्कंदा चाडपर्वमा चरी मासु खाएको र नुनतेल लिएको तिर्ने पैसासमेत खल्तीमा बाँकी रहँदैन । यसले ज्येष्ठ नागरिकलाई साह्रै नमिठो गरी पिरोल्छ । घरमा समस्या बग्रेल्ती हुन्छन् । आफूले चिनी, चियापत्ति र मरमसला खाएको पैसा पनि सामाजिक सुरक्षा भत्ताबाट तिर्न नपाउँदा खिन्नता आउनु स्वाभाविकै हो । गर्दागर्दा त त्यही सामाजिक सुरक्षा भत्ता लिन जाँदा ज्यानसमेत गुमाउनुपरेको दुखान्त खबरले ज्येष्ठ नागरिकको मन मस्तिष्कमा कति ठूलो भूइँचालो ल्याउँछ होला ? अहिलेको जमाना इन्टरनेटको पनि हो । बैंक नै नपुगे पनि वा कसैको हातमा पठाए पनि हुने रकम आफैं पुग्नुपर्ने बाध्यताले पनि समस्या निम्त्याएको छ । अरू जाँदा पनि रकम सम्बन्धित मानिसको हातमा नपुगेको समस्या पनि भोगिएको दुःखको अर्को पाटो सबैका माझमा छ । त्यसैले, सामाजिक सुरक्षा भत्ता घरघरमा पु¥याए हुने थियो ।
हरेक दुर्गम जिल्लामा यस्ता भत्ता लिन ज्येष्ठ नागरिकलाई ५ देखि ७ किलोमिटरको दूरी पार गर्नैपर्छ । त्यसमा पनि अपांगता भएका, बेसहारा, हिँडडुल गर्न नसक्ने र बिरामीको त हालत नै खराब हुन्छ । यही अवस्थाले गर्दा सामाजिक सुरक्षा भत्ता लिन हिँडेकी ७२ वर्षीया गिरीको बाटैमा दुखद निधन हुनपुग्नु दुर्भाग्यपूर्ण छ र यसले गलत सन्देश दिएको छ । आखिर सुरक्षा भत्ता असुरक्षामा परिणत भयो । यसका ’boutमा गम्भीर रूपमा सोच विचार गरिनुपर्छ । छबिस पाथिभेरा गाउँपालिकाले यसका ’boutमा अवश्य पनि केही सोच्ने र अरू ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदा नयाँ र प्रभावकारी सोचसहितको तरिका अबलम्बन गर्नेछ, जो अरूका लागि नमुनायोग्य हुन सकोस् । गाउँघरमा पुगेको सिंहदरबार जनताको घरदैलोमा पुगेको अनुभूति होस् ।






