वीरगंज । आम जनता पार्टी (आजपा)ले २८औं जनयुद्ध दिवस मनाएको छ । वीरगंजमा पार्टीको पर्सा जिल्ला भेलासहित आजपाले जनयुद्ध दिवस मनाएको हो ।
आजपा अध्यक्ष प्रभु साहले देशको शासन सत्तामा आम जनताको नेतृत्वदायी पहुँच एवं सहभागिता स्थापित गर्न सबै पक्षको ध्यान पुग्नुपर्ने बताए । जनयुद्धबाट प्राप्त उपलब्धिको संरक्षण गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
२८औं जनयुद्ध दिवसको अवसरमा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दै उनले मुलुकमा जनयुद्धको जगमा जागृत जनचेतनालाई थप ईमानदारिता एवं मजबुतीका साथ संरक्षण तथा प्रवद्र्धन गर्नुपर्ने बताए ।
‘देश र जनताको निम्ति आफ्नो अमुल्य जीवनको आहुति दिनुहुने सम्पूर्ण ज्ञात अज्ञात महान विर शहीदहरुप्रति स–सम्मान भावपूर्ण श्रद्धाञ्जली, बेपता जनहरुको शिघ्र खोजीको माग तथा अंगभंग, अपाङ्ग एवं घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दछु’ साहले भने ।
आजपाका प्रवक्ता चन्द्रभुषण साहले जनयुद्धको जगमा जागृत जनचेतनालाई थप ईमानदारीता एवं मजबूतीका साथ संरक्षणको आवश्यक्ता रहेको बताए । जनयुद्ध दिवसको अवसरमा जिल्ला भेला गर्दै शहिदहरु प्रति माल्य अर्पण गरिएको उनले बताए ।
मुलुकमा वास्तविक लोकतन्त्रको प्राप्ति, उत्पादनमा श्रमजीवी वर्गको स्वामित्व, सामाजिक न्याय एवं रुपान्तरण तथा देशको शासन सत्तामा आम जनताको नेतृत्वदायी पहुँच एवं सहभागिताको सुनिश्चितताको दिशामा ऐतिहासिक सफलता प्राप्त होस भनि उनले कामना गरेका छन् ।
सरकारले ‘जनयद्धु दिवस’को अवसरमा १ फागुन (सोमबार)मा सार्वजनिक बिदा समेत दिएको छ । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले १ फागुनबाट जनयुद्ध सुरु गरेको दिनको सम्झनामा सार्वजनिक बिदा दिइएको हो ।
१ फागुन २०५२ जनयुद्ध सुरु ५ मंसिर २०६३ मा विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो । त्यही युद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि सशस्त्र युद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएको निष्कर्ष युद्धमा होमिएका नेताहरुको छ ।








