बिमल सुवेदीको ‘दि कन्फेसन’ नयाँ दिल्लीमा मञ्चन

काठमाडौं । जगदीश घिमिरेको उपन्यास ‘साविती’बाट प्रभावित भई तयार भएको नाटक ‘दि कन्फेसन’ साविती नयाँ दिल्लीमा मञ्चन भएको छ । नाटक आइतबार नयाँ दिल्लीस्थित नेसनल स्कुल अफ ड्रामाको मञ्चमा मञ्चन भएको हो । नेसनल स्कुल अफ ड्रामा र नेपालका लागि भारतीय दूतावासको संयुक्त प्रयासमा मञ्चन भएको नाटकलाई बिमल सुवेदीले निर्देशन गरेका हुन् ।

गरिबलाई केन्द्रमा राखी शासकमाथि गरेका अनेक प्रश्नको सँगालोका रूपमा तयार भएको उपन्यासमा आधारित रही सन् २०१३ मा बिमल सुवेदीले ‘साविती’ नाटक तयार गरेका थिए ।

जगदीश घिमिरेले आफ्नो यो उपन्यासमाथि नाटक बनेको हेर्न लालसा अभिव्यक्त गरेपछि रोगसँग जुधिरहेका उनै घिमिरेको सम्मानमा यो नाटक तयार भएको थियो । त्यतिबेला एक सो भएर बन्द भएको सो नाटकलाई निर्देशक बिमल सुवेदीले समसामयिक बनाउँदै नयाँ स्वरूपमा प्रस्तुत गरेका हुन् । भारतमा मात्र यस नाटकले चारपटक स्टेज टेकिसकेको छ ।

यो नाटक भारतमा सन् २०१८ मा नयाँ दिल्लीकै साउथ एसियन युनिभर्सिटीमा मञ्चन भएको थियो । यसको एक वर्षपछि यो नाटक भारतको जम्मूकाश्मीरमा मञ्चन भएको थियो । यही साल मात्र दुईपटक मञ्चन भएको नाटक केही दिनअघि आसामको लोर्गी इन्टरनेसनल थिएटर फेस्टिभलमा मञ्चन भएको थियो भने आइतबार भारतकै प्रतिष्ठित मानिने नेसनल स्कुल अफ ड्रामाको मञ्चमा मञ्चन भएको थियो ।

अनुराधा मजुमदारले मुख्य भूमिका निर्वाह गरेको नाटकले एकालापको शैलीमा यौन हिंसादेखि सार्वजनिक सरोकारका यावत् विषयमा प्रश्न गर्छ । सँगैसँगै नाटकले पुरुष र पुरुषवादी सत्ताको नियन्त्रणमा रहेकी महिलाको विद्रोहको कथा प्रस्तुत गर्छ । तर, कथा वाचनका लागि निर्देशक बिमल सुवेदीले एक्सरे, नुन, स्लाइन पानी र रगतसहितको सेट बनाएका छन्, जसले संवादको वजनलाई गहिरो गरी दर्शकसँग अन्तक्र्रिया गर्छन् ।

नाटक हेर्न आएका दर्शक कलाकारको अभिनयसँगै सेटको तारिफ गर्दै निस्किएका थिए । धेरै वर्षपछि नाटक हेर्ने मौका पाएको बताउँदै भारतका लागि नेपाली राजदूत शंकर शर्माले नाटक प्रभावशाली लागेको प्रतिक्रिया दिएका थिए ।

‘धेरै वर्ष पहिले मैले सर्वनाममा नाटक हेरेको थिएँ, धेरै वर्षपछि फेरि आज यो दि कन्फेसन हेरें, यसको प्रस्तुति र सन्देश दुवै उत्कृष्ट लाग्यो,’ उनले थपे, ‘नाटकसँगै महŒवपूर्ण कुरा नेपाल भारत सहकार्य पनि हो, जुन यो नाटकमार्फत् पनि भएको छ । हरेक कोणबाट यो नाटक सार्थक लागेको छ मलाई ।’

नेसनल स्कुल अफ ड्रामाका पूर्वनिर्देशक तथा भारतको प्रतिष्ठित पुरस्कार पद्मश्री विजेता रामगोपाल बजाजले नाटकले आफूहरूलाई चुनौती दिएको प्रतिक्रिया दिएका थिए । कुनै समय नाटककी मुख्य कलाकार अनुराधा मजुमदारलाई यही विद्यालयमा पढाएका उनले सदा कक्षामा प्रश्न गर्ने अनुराधाले नाटकमार्फत् थप सशक्त तरिकाले प्रश्न गरेको मन परेको बताएका थिए ।

‘अनुराधा कक्षामा पनि सदा प्रश्न गर्थिन् तर आज नाटकमार्फत् हामीलाई प्रश्नसँगै चुनौती दिएर गएकी छन्, नाटकको विषय एकदमै राम्रो थियो र प्रस्तुति झनै सुन्दर,’ उनले भने । उनले लेखक निर्देशक बिमल सुवेदीलाई पनि अत्यन्त राम्रो नाटक देखाएकामा धन्यबाद दिएका थिए ।

यसैगरी, नाट्यकर्मी तथा पद्मश्री विजेता रीता गांगुलीले पनि नाटकको तारिफ गर्दै दुई शब्द बोल्छु भन्दै वाह ! वाह ! गरेकी थिइन् ।

निर्देशक बिमल सुवेदीले नाटकलाई प्राप्त प्रतिक्रियासँगै नाटकका माध्यमबाट दुई देशलाई जोड्ने काम पनि भएकाले आफ्ना लागि यो विशेष भएको बताएका छन् । नेसनल स्कुल अफ ड्रामाबाटै १० वर्षअघि ग्राजुएट भएका उनले आफू अन्तिमपटक कलाकारका रूपमा चढेको स्टेजमा निर्देशक भएर आउँदा ‘नोस्टाल्जिक’ भएको बताए ।

‘म जुन स्टेजमा कलाकारका रूपमा यस ठाउँबाट बिदा भएको थिएँ, आज त्यही ठाउँमा निर्देशकका रूपमा नाटक लिएर आउन पाउदा अरूभन्दा पनि ‘नोस्टालजिक’ बढी भएको छु । तर, यससँगै नाटकमार्फत् नेपाल–भारत सहकार्यको जुन संगम भयो, यसले आगामी दिन सांस्कृतिक रूपमा यो सम्बन्ध दिगो बनाउन थप काम गर्ने बाटो खोल्ने कुरामा विश्वस्त छु,’ उनले भने । उनले दिल्लीमा नेपाली नाटकको मञ्चनलाई सम्भव तुल्याउनमा नेपाली राजदूतावास दिल्लीका डीसीएम रामप्रसाद सुवेदी, फस्ट सेक्रेटरी विजयकुमार राउत र डा. सुरेन्द्र थापाको ठूलो लगन रहेको जनाएका थिए ।

नाटकभित्र अनुराधा मजुमदारलाई मञ्चमा साजन सुनुवार र प्रजित बस्यालले साथ दिएका थिए भने जेनी सुनुवारले सहायक निर्देशन गरेकी थिइन् । चक्र पुलामीले प्राविधिक रूपमा साथ दिएका थिए । नाटक लेखनमा निर्देशक सुवेदीलाई सुरज सुवेदीले साथ दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 176 times, 1 visits today)

epaper

ताजा समाचार

कानुनी सल्लाहकार हटाउँदै प्रधानमन्त्री